विराटनगर ।  स्थानीय तहको निर्वाचनलाई लक्षित गरि ‘एकीकृत सुरक्षा योजना’ लागु गरिएको छ । मोरङ प्रशासनले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो ।

यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  उनले निर्वाचन लक्षित सुरक्षाको सबै प्रबन्धको तयारी पूरा भएकोसमेत जानकारी दिए ।

निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी परिचालन भएका छन् । प्रदेश १ मा १० हजार ५ सय ९१ प्रहरी  र १७ हजार ४ सय २८ म्यादी प्रहरी परिचालन गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । 

मोरङमा मात्र नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्र प्रहरीका ६८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १२४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् । निर्वाचन सुरक्षामा नेपाली सेनाका टोली पनि परिचालित भएको छ ।

जिल्लामा ३०० मतदानस्थल तथा ८०० मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने गरी बनाइएको एकीकृत सुरक्षा योजना अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अगुवाईमा चार वटा अलग्गै सुरक्षा टोली परिचालन हुने र विशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए ।

निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने भएको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न मोरङ जिल्लासँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रजिअ दाहालले जानकारी दिए ।

उनका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव बाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रेलियम पदार्थ बोकेको गाडी आवतजावत् गर्न नाकामा दिएपनि ३० गते नाकाबाट एम्बुलेन्स र दमक बाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।

मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गएिको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मंगलबार राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादकपदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लेखित क्रियाकलाप नगरी, आदेशको पालना गरी सहयोग गर्न हुन सबैलाई अपिल गरिएको छ । यो आदेश बर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रजिअ दाहालले सूचनामार्फत जानकारी दिएका छन् ।

मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको संख्या ३९ छन् । तर, उम्मेदवारी फिर्तालगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता संख्या सात लाख १५ हजार २२३ रहेको छ । 

अति संवेदनशिल मतदानस्थलमा प्रहरी बढाइने 

प्रदेश १ मा ३ सय २१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरेको छ । 

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल मध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी राईले जानकारी दिए । उनका अनुसार  प्रदेशमा  ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेको बताए । संवेदनशील रहेको मतदान स्थलमा सुरक्षाकर्मी बढी रहन्छ ।

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । ३ प्रहरी ८ म्यादी मतदान स्थल भित्र रहन्छ । बाहिर ४५ जना सुरक्षा कर्मचारी परिचालन हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । प्रहरीसँग बाहिरी घेरमा नेपाली  सेना र सशस्त्र प्रहरी पनि रहनेछन् । हरेक मतदान स्थलमा १५ देखि २० मिनेटमा पुग्नेछरी स्टेनवाइ सुरक्षाकर्मी पनि रहने उनले बताए । 

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका  प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । 

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

यस बाहेक मोवाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

स्थानिय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनको थ्रेट नभएको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरूण कुमार जिसीले बताए । उनले मतदान स्थल र केन्द्रमा संगठित समूहको ‘थ्रेट’ नभएको उनले बताए ।