धनकुटा । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा धनकुटामा ७ सय ७७ जना कर्मचारी परिचालन भएका छन् । स्थानीय तह निर्वाचनका लागि धनकुटामा शिक्षक, करारका कर्मचारी र ट्रेड युनियनमा आबद्ध पदाधिकारी नखटाइने भएको छ ।

धनकुटामा १ सय १८ मतदानस्थलमा १ सय ५९ मतदान केन्द्र तोकिएको छन् । निष्पक्षताका लागि भन्दै सरकारी शिक्षक, स्थानीय तहमा रहेका करारका कर्मचारी र टे«ड युनियनमा आबद्ध कर्मचारी नखटाउने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटामा १ सय ५९ मतदान अधिकृतले मतपत्र बुझिलिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटा जिल्लाका १ सय ५९ मतदान केन्द्रमा १ सय ५९ मतदान अधिकृत, १ सय ५९ सहायक मतदान अधिकृतलगायत कर्मचारी खटिएका उनको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्रदेखि मत पेटिकासम्म ५७ प्रकारका सामान जिल्ला निर्वाचन कार्यालयबाट लिएर कर्मचारीहरू मतदान केन्द्रमा खटिएको श्रेष्ठले बताए ।

धनकुटाको पाख्रीबास नगरपालिकामा २१ वटा, महालक्ष्मी नगरपालिकामा २६ वटा, छथर जोरपाटी गाउँपालिकामा १७ वटा, चौबिसे गाउँपालिकामा २४ वटा, साँगुरीगढी गाउँपालिकामा २५ वटा, सहिदभूमि गाउँपालिकामा १८ वटा र धनकुटा नगरपालिकामा २८ वटा मतदान केन्द्र रहेका छन् ।