विराटनगर । प्रदेश १ का अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षाकर्मीले विशेष निगरानी बढाइएको छ । प्रदेशमा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् ।

अति संवेदनशील रहेको मतदानस्थलमा विशेष तालिमप्राप्त सुरक्षाकर्मीलाई खटाइएको हो । मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

‘विगतको निर्वाचनमा भएका झडप तथा आपराधिक क्रियाकलापका आधारमा हामीले मतदानस्थलहरूलाई तीन चरणमा विभाजन गरेका छौं, संवेदनशील र अति संवेदनशील मतदानस्थलमा सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं’ उनले भने, ‘स्वच्छ निर्वाचनका लागि भौगोलिक विकटता र यातायातको असुविधालाई पनि हामीले ख्याल गरेर सुरक्षा प्रबन्ध मिलाएका छौं ।’

अति र संवेदनशील क्षेत्रको मतदानस्थलको सुरक्षा व्यवस्था कडा बनाउने उनले बताए । ‘कुनै किसिमको हर्कत नहोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने योजनामा छौं’ उनले भने, ‘मतदातालाई भयरहित एवम् ढुक्क भएर मतदान गर्ने वातावरण बनाउँछौं ।’

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ । वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थलमध्ये ३ सय २१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

कार्यालयका अनुसार प्रदेशमा ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य मतदानस्थल रहेका छन् । संवेदनशील मतदानस्थलमा सुरक्षाकर्मी बढी रहन्छन् । स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । ३ प्रहरी ८ म्यादी मतदानस्थल भित्र रहने र बाहिर ४५ जना सुरक्षा कर्मचारी परिचालन हुने मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रदेशको सबैभन्दा बढी झापाका मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । झापापछि मोरङ र सुनसरीका मतदानस्थल सुरक्षा निकायले अतिसंवेदनशील विश्लेषण गरी सोहीअनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएका स्थानीय तहहरूको मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो ।

७ सय ७७ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल रहेको झापामा ५१ मतदानस्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १ सय ५३ संवेदनशील र ८२ सामान्य रहेका छन् । झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ४९ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।

८ सय २० वटा मतदान केन्द्र र ३ सय वटा मतदानस्थल रहेको मोरङमा संवेदनशील १ सय ५५ र ९६ वटा सामान्य रहेका छन् । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिणी भेगमा पर्ने ९ वटा मतदानस्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी क्षेत्रका मतदानस्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्र पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदानस्थल रहेको सुनसरीमा ४४ अति संवेदनशील, ८० संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै १ सय ५९ मतदान केन्द्र र १ सय १८ मतदानस्थल रहेको धनकुटामा १५ वटा मतदान स्थल अति संवेदनशील रहेको छ । २ सय ५८ मतदान केन्द्र र ९८ मतदानस्थल रहेको उदयपुरमा १२ अति संवेदनशील मतदान केन्द्र, ५० वटा संवेदनशील र ३६ सामान्य रहेको छ ।

२ सय ८५ मतदान केन्द्र र १ सय ५१ मतदानस्थल रहेको इलाममा अति संवेदनशील २९ वटा रहेका छन् । इलाममा ५९ संवेदनशील र सामान्य ६३ रहेको प्रहरीले जनाएको छ । १ सय ७६ मतदान केन्द्र र १ सय १ मतदानस्थल रहेको पाँचथरमा २७ अति संवेदनशील, संवेदनशील ६४ र १० सामान्य रहेका छन् । ९५ मतदान केन्द्र र ५७ मतदानस्थल रहेको तेह्रथुममा अति संवेदनशील नभएको जिल्ला सुरक्षा समितिले प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ । तेह्रथुममा १८ मतदानस्थल संवेदनशील र ३९ सामान्य रहेका छन् ।

१ सय ६० मतदान केन्द्र र ८७ मतदानस्थल रहेको भोजपुरमा १८ अति संवेदनशील, २३ संवेदनशील र  २४ समान्य रहेको छ । यस्तै १ सय ९४ मतदान केन्द्र र १ सय ३६ मतदानस्थल रहेको खोटाङमा ३५ अति संवेदनशील, ५८ संवेदनशील र सामान्य ४३ रहेको छ ।

१ सय ५० मतदान केन्द्र र ७९ मतदानस्थल रहेको ओखलढुङ्गामा अति संवेदनशील नभएको, संवेदनशील ६ र सामान्य ७३ रहेको छ । ३६ मतदान केन्द्र र २३ मतदानस्थल भएको ताप्लेजुङमा अति संवेदनशील २३, संवेदशील २८ र ७९ सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१ सय ६३ मतदान केन्द्र र १ सय ३ मतदानस्थल रहेको सङ्खुवासभामा ७ अति संवेदनशील, ७९ संवेदनशील र १७ सामान्य रहेको छ । १ सय ३४ मतदान केन्द्र र १ सय २२ मतदानस्थल रहेको सोलुखुम्बुमा ११ अति संवेदनशील, ११ संवेदनशील र ३३ सामान्य रहेको छ । 

हेलिकप्टर तैनाथ
प्रदेश १ मा १० हजार ५ सय ९१ प्रहरी र १७ हजार ४ सय २८ म्यादी प्रहरी परिचालन गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । मोरङमा मात्र नेपाल प्रहरीका एक हजार ९ सय ७२, सशस्त्र प्रहरीका ६ सय ८६, राट्रिय अनुसन्धानका ५० र म्यादी प्रहरी तीन हजार १ सय २४ छन् भने अन्य राष्ट्रसेवक कर्मचारी छन् ।

कुनै मतदानस्थलमा असहज अवस्था भए थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको छ ।  तराईका जिल्लामा माग भएको १० देखि १५ मिनेटभित्रमा थप सुरक्षाकर्मी पुग्ने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । फरक–फरक केन्द्र बनाएर सुरक्षाकर्मी ‘स्ट्याण्डबाइ’ राखिएको र आवश्यक पर्ने बित्तिकै उनीहरूलाई घटनास्थलमा परिचालन गर्ने तयारी भएको उनले बताए ।

थप मद्दत आवश्यक परे हेलिकप्टरबाट समेत सुरक्षाकर्मी घटनास्थलमा पु¥याइने उनले बताए । नेपाली सेनाको २ नम्बर बाहिनी इटहरीमा निर्वाचनका लागि भनेर हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सो हेलिकप्टरबाट पहाडी र हिमाली जिल्लामा थप सुरक्षाकर्मी लैजाने तयारी भएको छ ।

matadan-yastal