विराटनगर । हरेक निर्वाचनमा मतदान गर्ने दिनभन्दा ७२ घण्टाअगाडि सरकारले नेपाल–भारतको सीमा नाका सिल गर्ने गरेको छ । आवत–जावत ठप्प हुने गरी प्रत्येक निर्वाचनमा सीमा नाका सिल गर्ने गरेको हो ।

भयरहित एवम् शान्तिपूर्ण तरिकाले निर्वाचन सफल बनाउन, चुनावमा धाँधली हुन नदिन र कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन तीन दिन सीमा नाका सिल गर्ने गरेको सुरक्षाकर्मीले बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रदेश १ का सीमा नाकाहरू सिल गरिएको छ ।

भारतसँग सीमा जोडिएका इलाम, झापा, सुनसरी र मोरङका प्रमुख सीमा नाकाहरू मङ्गलबार राति १२ बजेदेखि सिल गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरीका नाका बन्द गरिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ’ प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले भने, ‘अति आवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’ ०७४ सालमा जस्तो प्रदेश १ मा सुरक्षा चुनौती नरहेको पनि उनले बताए ।

नाका सिल भएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारी साधन दुवै देशतर्फ जान–आउन बुधबार बिहानबाटै बन्द भएको छ । प्रदेशकै सबैभन्दा ठूलो नाका रहेको विराटनगरको जोगबनी नाका पनि बुधबार बिहानैदेखि बन्द भएको छ ।

भन्सार क्षेत्र भएर हुने मालवाहक सवारी साधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । मोरङको ६३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा २६ वटा नाका पर्छन् । मोरङ र सुनसरीतर्फका साना नाकाहरू कुवाडी, मटेरुवा, गडेरिया, भेडियारी, भुटाहा, डुमरिया, खयरवाना, धनपति, मिर्चियाडाँगी, सोराभाग, चोप्राहा, भान्टाबारीलगायत नाका पनि सिल गरिएको छ । साना नाकाबाट हुने मानिसको आउजाउसमेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द गरिएको जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अवधिभरि दुवै देशका नागरिक आउन–जान नपाउने गरी सीमा नाका बन्द गरिएको बताए । आपराधिक क्रियाकलाप हुनसक्ने भएकोले भयरहित शान्तिपूर्ण तरिकाले निर्वाचन सफल बनाउन सीमानाका सिल गर्ने गरेको प्रजिअ दाहालले बताए ।

‘निर्वाचनमा सीमा नाकाहरूबाट मान्छे आवत–जावत भयो भने सुरक्षा थ्रेट पनि हुनसक्ने सम्भावना प्रबल रहन्छ । निर्वाचन सुरक्षामा बढी केन्द्रित गरिनुपर्ने हुन्छ । सीमामा खटिएका प्रहरी अन्यन्त्र निर्वाचनमा खटिनुपर्ने हुन्छ । भयरहित वातावरणमा निर्वाचन गराउन पनि सीमा नाका सिल गरिन्छ’ प्रजिअ दाहालले भने, ‘निर्वाचनको बेला हुनसक्ने अवैध हातहतियार रोक्न पनि सीमा नाका सिल गर्नुपर्ने हुन्छ ।’ आवत–जावत बढेमा मतदाताहरू नै प्रभावित हुनसक्ने, भीडभाड हुने र फर्जी मत खस्ने चुनौती पनि हुने उनको भनाइ छ  । ‘आपराधिक क्रियाकलाप हुन नदिन सीमा नाका सिल गर्नुपर्ने हुन्छ’–उनले भने ।

विराटनगर भन्सार कार्यालय भएर दैनिक तीन सय मालवाहक गाडी आउजाउ गर्ने गर्दछन् । झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारीसहित छोटी भन्सार कार्यालय र अन्य नाकाहरूसमेत सिल गरिएको छ । प्रशासनले जिल्लाभर मदिराको बिक्री वितरण, ओसार–पसार र प्रयोगमा समेत रोक लगाएको छ ।

मतदान सकिएपछि नाका पूर्ववत् सञ्चालन हुने प्रजिअ दाहालले बताए । ‘मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्ण  निषेध गरिएको छ’–उनले भने । प्रशासनले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा भएको व्यवस्थाअनुसार जिल्लाका सबै क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण रोक लगाएको हो । निर्देशिकाअनुसार मौन अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशका ३३ लाख ४७ हजार ३ सय ८४ मतदाताका लागि १ हजार ८ सय ७७ मतदानस्थल र ४ हजार ५१ मतदान केन्द्र तय गरिएको छ  । प्रदेशमा सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार ८ सय २३ मतदाता छन् । त्यसका लागि ३ सय मतदान केन्द्र र ८ सय २० मतदानस्थलको व्यवस्था गरिएको छ । ताप्लेजुङमा ८९ हजार ६ सय ८०, पाँचथरमा १ लाख ४० हजार २ सय २४, इलाममा २ लाख २४ जार ७ सय ४८ मतदाता छन ।

यस्तै झापामा ६ लाख ४६ हजार २ सय ३४, सङ्खुवासभामा १ लाख १७ हजार ७ सय ३१, तेह्रथुममा ७२ हजार ८ सय ९५, भोजपुरमा १ लाख २५ हजार ९ सय २६, धनकुटामा १ लाख १५ हजार ९ सय ६४, सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५, सोलुखुम्बुमा ८० हजार १९, खोटाङमा १ लाख ४३ हजार ७ सय ५२, ओखलढुङ्गामा १ लाख १७ हजार ८५ र उदयपुरमा २ लाख २३ हजार १ सय ३८ मतदाता छन् ।