विजयपुर । स्थानीय निर्वाचनको मौन अवधिमा विभिन्न स्थानमा झै–झगडा भएको छ ।

निर्वाचन   आचार – संहिताअनुसार मौनअवधिमा मतदाता प्रभावित पार्ने कुनै प्रकारका गतिविधि गर्न हुँदैन । राजनीतिक दल तथा दलका कार्यकर्ता प्रचार–प्रसारलगायत मतदातालाई प्रभाव पार्न बाहिर निस्कने क्रममा पक्षविपक्षबीच झगडा हुँदा २ जना घाइते भएका छन् ।

बुधबार मोरङको कानेपोखरी गाउँपालिकामा मतदातालाई प्रभावित पार्न पुगेका नेपाली काङग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो । कानेपोखरी–२ दलेली बजारनजिकै दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

झडपमा एमालेको भातृसङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका थिए । उनले मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजारनजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट भएपछि झडप भएको बताए । उक्त विवाद भने मिलिसकेको उनले बताए । उनले भने, ‘ठूला अप्रिय घटना भएका छैनन् । सामान्य वादविवाद मात्रै छन् ।’ तर, यस्ता गतिविधिलाई निस्तेज बनाएको उनले दाबी गरे ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीनराज राईले धनकुटामा पनि दुई पक्षबीच झडप हुँदा १ जना घाइते भएको बताएका छन् । उनले एमालेका सदस्य सोम मगरलाई कुटपिट गर्ने रोमन राई लडेर घाइते भएको बताए । उनले घाइते राई कुन पार्टीको भन्ने नखुलेको बताए ।

ओखलढुङ्गाका पनि विभिन्न स्थानमा झै–झगडा भएको छ । ओखलढुङ्गाको  मोलुङ गाउँपालिका–७ मा दुई महिलाबीच चुनावको विषयमा गिलासले हानाहान भएको थियो । सिद्धिचरण–२ निशङ्खे र वडा नं. ७ विगुटारमा झगडा पनि झगडा भएको छ । तर, यी विवाद तथा झै–झगडा प्रहरीसमक्ष पुग्न पाएनन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख सुकदेव खनालले गम्भीर प्रकृतिको कुटपिट कतै भएको नभएको बताए । उनले भने, ‘ठूला घटना भएको छैन । सामान्य विवाद भएका छन् । मादक पदार्थ सेवन गरी विवाद गरेका छन् ।’ सुनसरीमा कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । उनले १ नं. प्रदेशमा ठूलो जघन्य अपराधका घटना नभएको बताए । तर, केही स्थानमा सामान्य वादविवाद र आचार–संहिता उल्लङ्घनका कार्य भइरहेको बताए ।