विराटनगर । मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न आज (शुक्रबार) बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । १४ जिल्ला रहेको प्रदेश १ का १ सय ३७ स्थानीय तहमा १ हजार ८ सय ७७ मतदानस्थल रहेका छन् ।
१ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनबाट प्रदेशभरि ७ हजार ८ सय ५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमा २२ हजार ५ सय ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । प्रदेशमा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । यसपालिको चुनावमा प्रदेशमा ६ लाख ८१ हजार ५ सय ५१ नयाँ मतदाता थपिएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा २६ लाख ६५ हजार ८ सय ३३ मतदाता रहेका थिए । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा प्रदेशमा ७२ प्रतिशत मत खसेको थियो । २६ लाख ६५ हजार ८ सय ३३ मतदातामध्ये प्रदेशमा १९ लाख २० हजार ९ सय ८ मत खसेको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।
अघिल्लो स्थानीय तहको तुलनामा यस पटक मतदान गर्ने मतदाता बढ्न सक्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यप अधिकारीले जानकारी दिए । विशेषगरी जनतामा राजनैतिक सचेतना बढेको कारणले गर्दा पनि मतदान गर्नेको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको उनले बताए । ‘राजनैतिक दलहरूको सक्रियता पनि बढेको र जनतामा राजनैतिक चेतनाको पनि विकास भएकोले यसपटक विगतको तुलनामा मतदान गर्नेको सङ्ख्या बढ्ने हामीले अनुमान गरेका छौं’ उनले भने, ‘मौसमले पनि साथ दिनुपर्ने हुन्छ । शुक्रबारको दिन मौसम अनुकूल भयो भने विगतको भन्दा यसपटकको निर्वाचनमा मतदान गर्नेको सङ्ख्या वृद्धि हुनसक्छ ।’
प्रदेशको सबैभन्दा बढी मतदाता रहेको मोरङमा अघिल्लो स्थानीय तहको निर्वाचनमा ७४.९८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यप अधिकारीले जानकारी दिए । २ लाख ८३ हजार ५ जना पुरुष र २ लाख ९१ हजार ४ सय ९४ महिला गरी ५ लाख ७४ हजार ५ सय मतदाता रहेको मोरङमा २०७४ को स्थानीय तहको निर्वाचनमा ४ लाख २४ हजार १ सय ६४ जनाले मतदान गरेका थिए । जसमध्ये १२.३६ अर्थात् ५८ हजार ६ सय ३८ मत पूर्ण रूपमा बदर भएको थियो । खसेकोमध्ये ३ लाख ६५ हजार ५ सय २६ मत सदर भएको आयोगको अभिलेखमा देखिन्छ । यस पटकको चुनावमा मोरङमा ७ लाख १५ हजार २ सय २३ मतदाता रहेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा ७०.९४ प्रतिशत मत खसेको थियो । ७० हजार मतदाता रहेको ताप्लेजुङमा ५० हजार २ सय १६ मत खसेको थियो । यस्तै पाँचथरमा ६७.३१ प्रतिशत अर्थात् १ लाख १६ हजार ६ सय ४२ मतदाता रहेकोमा ७८ हजार ५ सय ८ मत खसेको थियो । इलाममा ७३.२१ प्रतिशत अर्थात् १ लाख ८९ हजार २ सय ७४ मतदातामा १ लाख ३८ हजार ५ सय ६५ मत खसेको थियो ।
झापामा ७३.८० प्रतिशत अर्थात् ५ लाख १० हजार २ सय १६ मतदातामध्ये ३ लाख ७४ हजार ४ सय ४० मत खसेको आयोगको अभिलेखमा देखिन्छ । यसैगरी सङ्खुवासभा ७१.३ अर्थात् ९६ हजार ६ सय ६६ मतदातामध्ये ६८ हजार ६ सय ६४ मत खसेको थियो । तेह्रथुममा ७०.६५ प्रतिशत मत खसेको थियो ।
६० हजार ७ सय ४ मतदातामा ४२ हजार ८ सय ८७ मत खसेको थियो । भोजपुरमा ६४.५० प्रतिशत मत खसेको थियो । भोजपुरका १ लाख ६ हजार ५ सय ३४ मतदातामध्ये ६८ हजार ७ सय १५ मत मात्र खसेको थियो । धनकुटामा ७२.३७ अर्थात् ९५ हजार ३ सय ७२ मतदातामध्ये ६९ हजार १६ मत खसेको थियो ।
सुनसरीमा ७४.३२ प्रतिशत मत खसेको थियो । सुनसरीका ४ लाख २१ हजार १ सय ५९ मतदातामध्ये ३ लाख १३ हजार १६ मत खसेको आयोगको अभिलेखमा देखिन्छ । यस्तै सोलुखुम्बुमा ६१ हजार ७ सय ४५ मतदातामध्ये ४१ हजार ७८ मत खसेको थियो । ओखलढुङ्गामा ७१.७४ प्रतिशत मत खसेको थियो । ९१ हजार ५ सय ८ मतदातामध्ये ६५ हजार ६ सय ५० मत खसेको थियो । उदयपुरमा ६३.७१ प्रतिशत अर्थात् १ लाख ७५ हजार ४ सय ६९ मतदाता रहेकोमा १ लाख ११ हजार ७ सय ९५ मत खसेको आयोगको अभिलेखमा देखिन्छ ।