कतै पढेको थिएँ, नपढुन्जेल पुस्तक नयाँ नै हुन्छ । ‘फोर्टी इयर्स इन द माउन्टेन्स्’ पढिरहँदा यही अनुभव भयो । सन् २०१६ मै काठमाडौंको लाक्पा फुटी ट्रष्टले ३ हजारप्रति पुस्तक प्रकाशन गरेको थियो । मेरो हातमा आउँदा फ्रेसप्रति आएन । पढिसकेको ‘सेकेन्ड ह्यान्ड’ पुस्तक हातलाग्यो । तर, पुस्तकका ‘फस्ट ह्यान्ड’ जानकारी भने मज्जाले पाइयो ।

२०५० सालको पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहण दलमा भएकी लाक्पा फुटी शेर्पाको आत्मकथा भएकोले धेरै रोचक रहे जानकारी । प्रथम नेपाली महिला आरोहण दलकी उपनेता भएर आरोहण दलकी नेता पासाङ ल्हामु र सदस्य नन्दा राईसँगै सगरमाथातर्फ हानिएकी लाक्पा फुटीको नेपाली पर्यटनका विभिन्न कुना कन्दरामा जोडिएका कथा व्यथा छन् पुस्तकमा । सन् १९६४ फेब्रुअरी ५ मा (२०२० माघ २२ गते) सोलुखुम्बुको खुम्बु क्षेत्रको  लुक्लामुनिको मुसे गाउँमा जन्मेकी थिइन् लाक्पा फुटी शेर्पा । नेपालका हिमालय पर्वत शृङ्खलाको फेदीमा जन्मेकी लाक्पा फुटीका हजुरबुबा निङ्मापा लामा थिए ।

बुबा हिमाली क्षेत्रका भरिया, गाउँघरको खेतीपाती, सामाजिक तथा सांस्कृतिक काम भ्याएर उनी हिमाल आरोही तथा पदयात्रीको भारी बोक्थे । लाक्पा फुटीको परिवार एक कोणमा वंशज हिमाली श्रमिक परिवार नै भन्दा पनि हुन्छ । उनका माइला सानाबा आङ तेम्बा शेर्पाले त तेन्जिङ नोर्गेको आरोहण दलका भरिया भएर काम गरेका थिए । उनकी माइली सानीमा दाबा याङ्जीले पनि तेन्जिङ र हिलारीको भारी बोेकेकी थिइन् । दाबा याङ्जी र आङ तेम्बाका छोरा आङ नुरु शेर्पा भारतको दार्जिलिङमा रहेको पर्वतारोहण प्रतिष्ठानका प्रशिक्षकसमेत भए । परिवार भारत बसाइ सरेपछि उनी त्यता जोडिएका थिए । पछिल्लो समयमा उनले भारत सरकारको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषणसमेत पाए ।

यसरी घरदेखि आफन्तसम्म हिमालमा जोडिएको परिवारकी सदस्य हुन् लाक्पा फुटी । उनको आफ्नै हिमालयात्रा भने उनकै जिद्दीको कारण सुरू भएको थियो । सात वर्ष हुँदा एड्मन्ड हिलारीले बनाइदिएको महेन्द्रज्योति स्कुलमा भर्ना भएकी उनी घरकी पहिलो सन्तान हुन् । उनी १२ वर्ष हुँदाहुँदै बुबालाई जबरजस्ती दबाव दिएर पर्यटकको भारी बोक्दै तेङ्बोचे गुम्बासम्म पुगिन् । तेङ्बोचे नाम्चेबाट एक दिनमा हिँडेर पुग्न सकिने आमादाब्लान हिमाल पृष्ठभूमिमा राखेर उभिएको सुन्दर ठाउँ हो । भारी बोकेर घरमा आउँदा हप्ता दिन भएको थियो । यो बाह्र वर्ष हुँदाको कुरा हो । तेह्र वर्ष हुँदा उनी घरबाट भागेरै पैंतीस किलो भारी बोक्न गोक्योतर्फ हिँडिन् ।

यात्रा सकेपछि उनले उनीको स्वेटर र एक जोर जुत्ता उपहारसमेत पाइन् । जब उनी पन्ध्र वर्ष पुगिन्, उनलाई बिहेको प्रस्ताव आयो । उनलाई बिहे गर्ने मन थिएन । उनी अन्ततः लत्ताकपडा र केही सातुसामलसहित ८० रूपैयाँ बोकेर घरबाट भागिन् । लुक्लाबाट सिधै काठमाडौं उडान हुन्थ्यो तर, पैसा नभएकोले उनी हिँडेर आठ–नौ दिनमा काठमाडौं पुगिन् । उनको काठमाडौं यात्रा रोचक रह्यो । उनले सहर र गाडी मात्रै पहिलोपटक देखिनन्, आफूलाई खेद्दै आएको ठूलो सिङ भएको राँगोसमेत पहिलोपटक देख्न पाइन् । काठमाडौंमा उनी ट्राभल एजेन्सी चलाएर बस्ने सानीमाकोमा पुगिन् । करिब चार महिना काठमाडौं बसेपछि उनलाई सानीमाले फेरि घर पठाइन् ।

घरमा आएर उनी बेला मौकामा फेरि भारी बोक्न थालिन् । १६ वर्षको हुँदा उनी आइल्यान्ड पिक, सगरमाथा आधार शिविर हुँदै चोला पास जाने लामो यात्रामा जोडिइन् । १९ दिने यात्रा सकेर लुक्का आउँदा उनलाई आँशु र हाँसो दुवै भयो । उनलाई सरदारले गोक्यो क्षेत्रमा उनको टेन्टमा पसेर यौन दुव्र्यवहार  ग¥यो । उनले अस्वीकार र विद्रोह गरेपछि उनको भारीमा सिलिन्डर थपेर पचास किलो पु¥यायो । आइल्यान्ड पिकमा आउँदासम्म जर्मन टोलीका नेता माइकल सोमाकरले भने भव्य तारिफ गरे । यस्तो असहज अवस्थामा उनी लुक्ला आइन् ।

लुक्ला आउने बित्तिकै माइकलकै टोली फेरि मेरा पिक जाने सूचना आयो । उनी त्यसमा समेत सहभागी भइन् । घरमा फर्कदाँ त उनको चरित्रको बारेमा सरदार र अरुले अनावश्यक हल्ला फैलाएको पाइयो । उनले प्रतिरक्षा गर्नुअगाडि घरमा उनलाई भक्कु कुटियो । यसबाट विक्षिप्त उनले अब सधैँलाई घर छोड्ने योजना बनाइन् र दोस्रो पटक भागिन् काठमाडौँ । उनको दोस्रो भगाइबाट उनको वास्तविक कथा सुरू हुन्छ । उनी जहाँ काम पायो, त्यहीँ गर्दै हिँडिन् । उनले पोखरादेखि सिक्लेस, मनाङ, लमजुङ, लाङ्टाङ, कालिन्चोकहुँदै कञ्चनजङ्घासम्म कहिले भरिया त कहिले भान्से भएर काम गरिन् । लाङ्टाङ र अन्नपूर्ण क्षेत्रमा उनले सहायक गाइड भएर काम गरिन् । डच टोलीसँग उनी कालिन्चोक पुगेपछि उनलाई विदेश जाने अफर आयो ।  उनले सोलुखुम्बुका पूर्वमन्त्री छिरिङ तेन्जिङ शेर्पाकी बहिनीकी छोरा आङ धामीको सहयोगमा उनले सोलुखुम्बुबाट नागरिकता बनाइन् ।

रोचक कुरा उनलाई सोध्दै नसोधी पासपोर्टमा कर्मचारीले पेशामा ‘भरिया’ लेखिदिए । त्यही पासपोर्ट बोकेर उनी युरोपभरि घुमिन् । स्विस नागरिकसँग विवाह गरेर उनी बाह्र वर्ष स्विजरल्यान्ड बसिन् । त्यहाँको बसाइका क्रममा उनले आफ्नो मौलिक पहिरन बख्खु लाएर मौलिकता मात्रै कायम गरिनन्, उनले पश्चिमी युरोपको फ्रान्स र इटालीको सिमानामा रहेको सबैभन्दा अग्लो हिमाल मोन्ट ब्लङ्कबो चुचुरोबाट स्कि गरेर ओर्लिने प्रथम नेपाली बनिन । कुनै बेला लुक्लाबाट आफ्नो गाउँ मुसे ओर्लंदा साथीहरुलाई डोरीका दुई कुना समाउन लाएर हिउँमा चिप्लने उनी युरोपको हिमालको चुचुरोबाटै चिप्लेर स्कि गर्न सकिन् । स्विजरल्यान्डमै हुँदा उनी २०५० सालको पासाङ ल्हामु शेर्पासँगको आरोहण दलमा जोडिइन् । अभ्यासको क्रममा हिलारी स्टेप्स मुनि पुगेकी उनी पासाङ ल्हामुको मृत्यु हुँदाको रात क्याम्प तीनमा एक्लै निदाएकी थिइन् । आरोहणमा जाँदा पासाङ ल्हामु, उनी र नन्दा राई सगरमाथा पुगेका थिए । आउँदा नन्दा घाइतले भएर उनी भन्दा तीन दिनअगाडि आइन् भने पासाङ ल्हामुको शव भने १८ दिनमा मात्रै उद्दार भएर आयो । यस्ता रोचक कुराहरु उनले समावेस पुस्तकमा समावेश गरेकी छन् ।

नेपाल माउन्टेन एकेडेमीमा कार्यसमिति सदस्य, कार्यकारी निर्देशक हुँदै अध्यक्षसम्म भएर गरेका कामहरुको फेरिहस्तसमेत पुस्तकमा छन् । सन् २०११ को मे १८ मा नौ जना  कर्मचारीको सफल सगरमाथा आरोहण हुँदा उनी त्यसको चाँजोपाँजो मिलाउने एकेडेमीमा थिइन् । एकेडेमीले आयोजना गरेका महिला ट्रेकिङ गाइड तालिमदेखि विश्वविद्यालयस्तरको पर्वतारोहण पढाइका कुराहरुसमेत पुस्तकमा अटाएका छन् । उनको टानको सफल कार्यकालदेखि नेपाल पर्वतारोहण सङ्घको सचिवको चुनावमा छ मतको असफल हारसम्मका कथा अटेका छन् ।

इटालीको बोल्जानोमा भएको अन्तर्राष्ट्रिय पर्वतारोहणसम्बन्धी गोष्ठीमा नेपाली प्रतिनिधि हुनेदेखि माओवादी हिंसात्मक युद्धकालमा लुक्लाबाट पासाङ ल्हामु निकोल निक्की अस्पतालसम्मको एक किलोमिटर सडक निर्माणको आफै संस्थापक अध्यक्ष भएको नेपाल महिला पर्वतारोही सङ्घको तर्फबाट गरेको अगुवाइका कुरा पुस्तकमा समाविष्ट छन् । स्विस नागरिकसँगको समस्याग्रस्त सम्बन्धपछि ‘झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा’ गीतका गायक लाक्पा शेर्पासँगको दोस्रो विवाहपछिको सुखद् दाम्पत्यका कथा उनले दिल खोलेर लेखेकी छन् । बाल्यकालमा भालु हेर्दाका रोचक कहानीदेखि गुफामा भूत भनेर आत्तिएका कथालाई समेत उनले पुस्तकमा ठाउँ दिएकी छन् । नेपाली गरिबीका चित्रमा मात्रै आनन्द मान्ने धेरै विदेशीका खराब पाटादेखि नेपाली शेर्पा समुदायको भूगोल, राजनीतिदेखि अन्य राज्यका अवसर सबैमा पछि परेको र पारिएको बारेमा उनले लेखेकी छन् । आफू भरिया हुँदा आधा महिना काम गर्दाको पैसा धेरै हुँदा छ–सात सय मात्रै भएको अहिले सुन्दा अचम्म लाग्ने कुरा पुस्तकमा छन् ।

विभिन्न घटना क्रममा मितिहरु तोकेर कम मात्रै व्याख्या हुनु र ठाउँ–ठाउँमा भएका गलत वाक्यले पुस्तकलाई केही सुधार्ने ठाउँ भने दिएको छ । जस्तैः पृष्ठ ३ सय ८ मा टान भनेर टुरिजम असोसिएसन अफ नेपाल भनिएको छ जबकि टान भनेको टेूकिङ एजेन्सीज् असोसिएसन अफ नेपाल हो । यस्तै पृष्ठ ३३४ मा एनएमएलाई नेपाल माउन्टेनियर्स  एसोसिएसन भनिएको छ, जुन गलत हो । उक्त पृष्ठमा चर्चा गरिएको एनएमए भनेको नेपाल माउन्टेनियरिङ असोसिएसन हो ।

केहि कमजोरिका बाबजुध झट्ट पढ्दा हिमाली भरिया, भान्से, गाइड हुँदै प्रथम नेपाली महिला आरोहण दलको उपनेताबाट अहिले नेपाली हिमाली तथा साहसिक पर्यटनकी एक हेभिवेटको आत्मकथाले पनि यसमा नेपाली पर्यटनका नदेखिएका धेरै पाटा छन् । नेपाली हिमाली जीवनशैलीका सुख–दुःखका फेहरिस्त छन् । हिमाली पर्यटन क्षेत्रमा भरियादेखि गाइड हुँदै आरोहीदेखि सरकारी निकाय सबैमा बसेको र देशविदेश घुमेको व्यक्तित्वको आत्मकथा भएकोले यो नेपाली पर्यटन, हिमाल, महिला आरोहीदेखि हिमाली पर्यटन क्षेत्रमा इच्छुकहरुले पढ्नैपर्ने मात्रै हैन, सङ्ग्रह गर्नुपर्ने पुस्तक हो । ४४४ पृष्ठको कथा र थप ५८ तस्बिरहरु भएको पुस्तक साँच्चिकै गज्जब छ । गज्जब भएरै सन २०१६ मै प्रकाशन भएपनि त्यसको पाँच वर्षपछि यो पुस्तक पढ्दा पनि विल्कुल नयाँ महसुस भयो ।
पुस्तकको नामः फोर्टि इयर्स इन द माउन्टेस्
लेखकः लाक्पा फुटी शेर्पा
प्रकाशकः लाक्पा फुटी ट्रष्ट काठमाडौं
मूल्यः ५०० रुपैयाँ