नेपालमा बेलाबखतमा यस्ता महामानवहरूको जन्म भएको पाइन्छ; जसको यश, कीर्ति शताब्दियौंसम्म संसारमा चलिरहन्छ, जसको प्रभाव नेपालमा मात्र नभई संसारमा व्याप्त भइरहन्छ । यिनै महामानवहरूमध्ये एक हुन्–गौतम बुद्घ । आज वैशाख शुक्ल पूर्णिमा; उनै महामानव गौतम बुद्घको जन्म भएको दिन । ईशापूर्व ५६३ मा कपिलवस्तुको लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाको दिन सिद्घार्थ गौतमको जन्म भएको थियो । उनका पिता राजा शुद्घोधन थिए भने माता रानी मायादेवी थिइन् ।
पृष्ठभूमिः
भनिन्छ, उनी जन्मनुअघि एकरात रानी मायादेवीले सपनामा आकर्षक सेतो हात्ती आफूमा प्रवेश गरेको देखिन् । यस्तो आकर्षक सपना देख्ने बित्तिकै ब्यँुझेर राजा शुद्घोधनलाई उठाएर आफूले देखेको सपनाबारे राजालाई बताइन् । यो कुरा सुनी राजा रिसाएर मायावतीलाई नानाथरीका कुराहरू गरेको भनेर गाली गरेपछि मायादेवी त्यो रात सुत्नै सकिनन् । बिहान भएपछि राजाले रिसाइरहेकी रानी मायादेवीलाई मायालु भावमा सम्झाउँदै भने, ‘हेर प्रिय, तिमीलाई मैले राति गाली गरेँ भनेर धेरै नरिसाऊ । तिमीले धेरै राम्रो सपना देखेका थियौ । त्यो सपनाको आधारमा हाम्रो कुलमा अत्यन्त असल, गुणी व्यक्तिको जन्म हुन्छ भन्ने मैले अनुमान गरेँ । मैले गाली नगरेको भए तिमी सुत्थ्यौ र अगाडि देखेको सपना फलिभूत हुने सम्भावना अत्यन्त कम हुने थियो । त्यसैले मैले त्यस्तो व्यवहार गरेँ ।’ यस्तो कुरा सुनेपछि मायादेवी पनि खुसी भइन् । नभन्दै रानी मायादेवीले संसारलाई ज्ञान दिने, शताब्दियौंसम्म अमर रहने, लोक कल्याणकारी, तेजश्वी गौतम बुद्घलाई जन्म दिए ।
नामकरण र भविष्यवाणी
निकै तेजिलो, आकर्षक बालकको जन्म भएपछि कुल परम्पराअनुसार पाँचौं दिनमा राजा शुद्घोधनले नामकरण संस्कारका लागि निकै ठूला गन्यमान्य व्यक्तिहरूका साथै विद्वान ऋषिमुनिहरूलाई आमन्त्रण गरेका थिए । एउटा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सबैले गौतम बुद्वलाई नियालेर हेर्थे, उनको अनुहार हेरेर मन्त्रमुग्ध हुन्थे । धेरैले यिनी सम्राट बन्ने भविष्यवाणी र कामना गरे । राजा शुद्घोधन मख्ख थिए । त्रिवेदले पूर्ण विद्वान् ब्राह्मणहरूले सबै मनोकामनाले पूर्ण हुने अर्थमा यिनलाई ‘सर्वार्थसिद्घ’ नाम दिए तर, पछि यही नामबाट छोटकरीमा उनलाई ‘सिद्घार्थ’ भन्न थालियो । सो समारोहमा उपस्थित भएका ऋषिहरूमध्ये ऋषि आसितले सिद्घार्थ गौतमलाई यिनी कि चक्रवर्ती सम्राट हुनेछन्, कि त संसारलाई चिनाउने प्रख्यात योगी हुनेछन् भनेर भविष्यवाणी गरिदिए । तर, त्यसै समारोहमा उपस्थित भएका ऋषि कौडिन्यले ठोकुवाका साथ यिनी भविष्यमा प्रख्यात योगी बन्नेछन् र महान् व्यक्ति बन्नेछन् भनेर घोषणा गरिदिए ।
बाल्यकाल र विवाह
ऋषि कौडिन्यको भविष्यवाणीबाट चिन्तित बनेका राजा शुद्घोधनले सिद्घार्थको लालन–पालनमा सुख सुविधालाई निकै ध्यान दिए । मायादेवीको मृत्युपछि कान्छीआमा प्रजावतीको रेखदेखमा यिनी हुर्किन थाले । दरबारमा सुखभोगको कुनै कमी थिएन । उनलाई हरदम खुसी राख्न वाद्यवादन तथा नर्तकीहरूको पनि व्यवस्थापन गरिएको थियो । यिनी युवराज भएकाले घोडामा सवार हुन र वाण हान्न पनि यिनी सिपालु भए । शिक्षादीक्षामा पोख्त उनको १६ वर्षको उमेरमा राजकुमारी यशोधरासँग विवाह भयो । यशोधराबाट उनको छोरोको जन्म भयो जसको नाम राहुल राखियो । २९ वर्षको उमेरसम्म यिनले राजसी जीवन बिताउन पाए तथापि मौका पाउनासाथ यिनी एकान्त प्रिय पनि बन्ने गर्दथे । किनकी दरबारबाट बाहिर निस्कने क्रममा रोगी, बूढो, मान्छेको लास देखेकोले त्यसबाट धेरैले पीडा पाएको र त्यस्तो अवस्था सबैले भोग्नु पर्ने उनले बोध गरेका थिए । कुनै सपडा बिना बसेका सन्यासीलाई पनि उनले देखेका थिए ।
बुद्घत्व
मानिस किन बूढो हुन्छ, रोगी हुन्छ, मर्छ भन्ने कारण र सत्य कुरा थाहा पाउन उनी २९ वर्षको उमेरमा दरबार छोडेर हिँडे । सत्यको खोजी गर्न उनले दरबारको सुखसयल, पारिवारिक सुख सुविधा सबै त्यागेर ६ वर्षसम्म कठोर परिश्रमका साथ तपश्या गर्न थाले । यसबाट पनि सत्य कुरा पत्ता लागेन । यसपछि ३५ वर्षको उमेरमा उनले मध्यम्मार्ग अपनाएर भारतको गयामा पिपलको रुखमुनि बसेर तपश्या गर्दा उनले बुद्घत्व (ज्ञान) प्राप्त गरे । मान्छेको असीम इच्छा र तृष्णा नै दुःखको कारण हो भन्ने कुरा बुझे।यो दिन पनि बैशाख पूणिैमाकै दिन थियो । यसदिन पछि भने उनलाई गौतम बुद्घ भनिन थालियो यसै नामबाट उनी विश्व प्रख्यात भए । उनले सुरुमा पाँचजना शिष्यहरूलाई वैशाख शुक्ल पूर्णिमाकै दिन सारनाथमा आफ्ना उपदेशहरू दिन थाले । त्यसपछि विभिन्न देश घुम्दै आफ्नो उपदेश दिन थाले ।
महापरिनिर्वाण
यसरी बुद्घले आफ्नो उपदेश सुनाउँदै संसारलाई दुःखबाट मुक्त हुने उपाय सुझाउँदै ईशापूर्व ४८३ मा ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन भारतको कुशीनगरमा उनको मृत्यु भयो । उनको मृत्युलाई महापरिनिर्वाण प्राप्त भएको भनिन्छ । बौद्घ धर्मका संस्थापक गौतम बुद्घ, नेपालका राष्ट्रिय विभूति, एशियाका तारा, दश अवतारहरूमध्ये एक अवतार, अहिंसावादी, मानव धर्म र सेवामा समर्पित तथा महामानवको रुपमा उहाँलाई चिनिन्छ ।
प्रचार
भारतका सम्राट अशोकले बुद्घ धर्मलाई आत्मसात गरे र आफ्नो परिवारलाई पनि गर्न लगाएर उनी लगायत उनका पविारले पनि बुद्घको ज्ञान उपदेशलाई चारैतिर फैलाउन लगाए । लुम्बिनीमा भएको अशोक स्तम्भ यसैको एक ज्वलन्त नमुना हो । बौद्घ धर्म मान्ने र बुद्घ जयन्ती मनाउने नेपालमा मात्र होइन, आजका दिन श्रीलङ्का, चीन, थाइल्याण्ड, जापान, अमेरिकाको कोलोराडोलगायत बौद्घ धर्मका अनुयायी तथा नेपालीहरूको बासोबास भएका विभिन्न देशमा बुद्घजयन्ती धुमधामका साथ मनाइँदैछ ।
उपदेश, उद्गार
शताब्दियौंअघि बुद्घले दिएका उपदेशहरू आज पनि उत्तिकै अनुशरणयोग्य छन्, मननीय छन् । हिंसा गर्नु, असत्य बोल्नु, लोभलालच गर्नु, अरूको कुरा काट्नु, व्यभिचारमा लाग्नु,असत्यको साथ दिनु, चोरी गर्नु, लुटपाट गर्नु, अरूको आहारिस गर्नु, रिस डाह गर्नु, अरूमा नराम्ररी आश्रित हुनु आदि दुःख पाउने, दण्डित हुने कारण हुन् । सधैँ सत्यको पछि लाग्नु, राज्यको नियम कानूनअनुसार काम गर्नु, सम्पत्ति कमाउनु, दान–धर्म गर्नु, अहिंसावादी बन्नु, असल विचार र सहयोगी भावना राख्नु,ठूलालाई आदर गर्नु,सानालाई माया गर्नु दुःखबाट मुक्ति पाउने उपाय हुन्। अत्याधिक इच्छा,चाहना,तृष्णा नै दुःखका कारण हुन् । उनले प्रदान गरेका चार आर्य सत्य र दुःखबाट मुक्ति पाउने आष्टागिंक मार्ग विश्वप्रख्यात छन् ।उनका धेरै उद्गारहरुमध्ये केही यस प्रकार छन् (शान्ति आफैभित्र हुन्छ, यसलाई बाहिर नखोज, जिब्रो त्यस्तो छुरी हो; जसले रगत ननिकाली काट्छ । एउटा पूरै गाग्री थोपा थोपा पानीबाट भरिने हो, धार्मिक त्यही हो; जसले अरूको निम्ति त्याग गर्न सक्छ ,लगनबाट ज्ञान प्राप्त हुन्छ,स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो ।
उपसंहार
बुद्घ जयन्तीको अवसरमा आफूमा भएको घमण्ड त्यागेर बुद्घको उपदेश र उद्गारहरू सबैले मनन् गरुन्, आफ्नो जीवनमा कार्यान्वयन गरेर सुख पाउन्, शान्ति पाउन् र अलौकिक आनन्दको अनुभूति गर्न सकून् ।