विजयपुर । धरान उपमहानगर वडा नं. १४ स्थित बूढासुब्बा मन्दिरको टुप्पो विनाको बाँस काटिएको छ ।

बुढासुब्बाको बाँसमा अन्य बेला कुनै हतियार प्रयोग नगर्ने र ढलेका बाँससमेत निकाल्न नमिल्ने परम्परा रहेको छ । बूढासुब्बामा उँभौली पर्व वैशाख पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ ।

उँभौली पर्वका अघिल्लो दिन झ्याङमा सुकेका ढलेपढेका बाँस काटिन्छ । मन्दिरका पुजारी उत्तम आलेका अनुसार यहाँको बाँस वर्षमा १ पटक मात्रै काटिन्छ । उनले भने, ‘वर्षभरि ढलेपढेका बाँसहरूमात्रै निकालिन्छ । अरू बेला भाँचेर पनि निकाल्न मिल्दैन ।’

उनका अनुसार काटिएको बाँस मन्दिरमा नै प्रयोग गरिन्छ । उनले भने, ‘भक्तजनहरू बाँसका टुक्रा घरमा राख्दा रक्षा हुने विश्वास गर्छन् । उँभौलीको दिन पूजापछि प्रसादका रूपमा बाँसका टुक्रा तथा हाँगाहरू वितरण गर्दछौं ।’

आज (सोमबार) उँभौली पर्व परेको छ । पुजारी आलेले उँभौलीका दिन सत्रौं पुस्ताअघि बूढासुब्बा मन्दिरमा पूजाआजा गर्न तत्कालीन राजाले प्रदान गरेको ताम्रपत्रको निशान, चाँदीको मुकुटसहित ढोल, झ्याम्टासहितको लावा लस्कर पुजारीको घरबाट मन्दिर पुग्ने बताए ।

घरको थानमा राखिएको निशान छापाको पूजाआजा गरी बूढासुब्बाको समाधीका ढिस्कोमा चाँदीको मुकुट पहि¥याई विशेष पूजा सम्पन्न गरिन्छ । उनका अनुसार निशान नेपाल एकीकरणभन्दा अघिको हो । पुरातत्व विभागबाट आएका विज्ञहरूले उक्त निशान राजा पृथ्वीनरायण शाहभन्दा अघिको भएको पुष्टि गरेको आलेले बताए ।

budasubba-photo