विराटनगर । अघिल्लो स्थानीय तहको निर्वाचनमा जस्तै विराटनगर महानगरमा यसपटक पनि मत बदर भएको छ । अघिल्लो निर्वाचनमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिले जारी मतगणनामा मेयर पदमा ३१ दशमलव ४८ र उपमेयरको ४४ दशमलव १२ प्रतिशत मत बदर भएको हो ।

महानगरमा सोमबार दिउँसो २ बजेसम्म १६ हजार ३ सय ४४ मत गणना हुँदा मेयर पदमा ५ हजार १ सय ४६ र उपमेयर पदमा ७ हजार २ सय ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । मेयर पदमा बदर भएको सबैभन्दा बढी विराटनगर १७ नम्बर वडामा रहेको छ  । विराटनगर–१७ मा मेयर पदमा १ हजार ७ सय १ मत, विराटनगर–१ मा ५ सय ५४ मत, २ मा ३ सय १ मत, १६ मा ७ सय ५६ मत, १८ मा ९ सय ८१ र १९ वडामा ८ सय ५३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै उपमेयर पदमा पनि विराटनगर–१७ मा सबैभन्दा बढी मत बदर भएको छ । १७ मा १ हजार ७ सय ६१, विराटनगर १ मा ९ सय ५६, विराटनगर २ मा ५ सय ३५, विराटनगर–१६ मा १ हजार १ सय २, विराटनगर–१८ मा १ हजार ३ सय १६ र विराटनगर–१९ मा १ हजार ५ सय ३८ मत बदर भएको छ  ।

सोमबार विराटनगर महानगरपालिकाको १६, १७ र १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । विराटनगर–१६ को वडाध्यक्ष पदमा २ सय ६७ मत, १७ मा २ सय ५४ र विराटनगर–१९ मा ३ सय ८ मत बदर भएको सूचना अधिकारी बुढाथोकीले बताए ।

महानगरमा रहेको कुल मतदाता सङ्ख्या १ लाख ३३ हजार १ सय ४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६ सय ७८ मत खसेको छ । अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख १३ हजार ७ सय ६१ मध्ये ८० हजार ६ सय ८९ मत खसेको थियो । त्यसमध्ये १९ हजार ४ सय १९ मत बदर भएको थियो ।

महानगरको मेयरमा गठबन्धनबाट काङ्ग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, जसपा परित्याग गरी स्वतन्त्रबाट उमेश यादवलगायत १३ जना उम्मेदवार उठेका छन् । उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादव, एमालेकी शिल्पा निराला कार्की, राप्रपाकी बिन्दा लुइँटेल आचार्य, स्वतन्त्रमा माओवादी केन्द्रकी नमिता न्यौपाने, काङ्ग्रेसकी गङ्गा सुवेदीलगायत १४ जना उम्मेदवार छन् ।

यस पटक मतदाता शिक्षा प्रभावकारी नहुँदा मत खसाल्ने बेलामा मतदाता अलमलमा परेकाले बदर मतको सङ्ख्या बढेको हो । मत खसाल्ने तरिका मतदाताको घरमा कसैले गएर नसिकाएका कारण बदर मतको सङ्ख्या वृद्धि भएको स्थानीयको गुनासो छ ।

निर्वाचन आयोगले यसपटक स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रम कटौती गरेको छ । आयोगले स्वतन्त्र रूपमा मतदाता शिक्षा नदिँदा बदर मतको सङ्ख्या वृद्धि भएको स्थानीयको आरोप छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेश १ का १४ जिल्लाका १ सय ३७ पालिकामा ६ दशमलव ४४ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्याङ्क छ । अघिल्लो निर्वाचनमा यस प्रदेशस्थित १ सय ३७ पालिकामा कुल २६ लाख ६५ हजार ८ सय ३३ मतदातामध्ये १९ लाख २० हजार ९ सय ८ जनाले मतदान गरेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा यस प्रदेशस्थित १४ जिल्लामध्ये सबभन्दा बढी भोजपुरमा १३ दशमलव १२ प्रतिशत र सबभन्दा कम ताप्लेजुङमा १ दशमलव १६ प्रतिशत मत बदर भएको थियो । यस प्रदेशस्थित १ सय ३७ पालिकामध्ये सबभन्दा बढी मोरङको विराटनगर महानगरमा २४ दशमलव ०७ प्रतिशत र सबभन्दा कम ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ०.२२ प्रतिशत मत बदर भएको आयोगको तथ्याङ्कले जनाएको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनका लागि सातवटै प्रदेशमध्ये सबभन्दा बढी ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेको प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका, ८८ गाउँपालिका र १ हजार १ सय ५७ वडा छन् ।