धरान । मतगणना गर्न र नतिजा आउन ढिलाइ भइरहेको बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठ ५ गतेभित्र मतगणना सक्न निर्वाचन कार्यालयका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
नेपालको संवैधानिक कानूनअनुसार ०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते राति १२ पछि सकिने भएकाले स्थानीय तह जनप्रतिनितिविहीन हुन नदिन जेठ ५ गतेसम्ममा सबैतिर मतगणना गरिसक्ने दबाव आइपरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
उनले मतगणनास्थलमा विभिन्न कारणले मतगणना सुस्त गतिमा भएको र नतिजा आउन पनि ढिलाइ भएको उल्लेख गर्दै भने, ‘यस्तो अवस्था रहेमा जेठ १५ मा पनि मतगणना नसकिने देखियो । यसलाई शोभनीय मान्न सकिन्न ।’ उनले जेठ ६ गते नयाँ जनप्रतिनिधिहरूलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेकाले मत गणनास्थलमा गणक सङ्ख्या थपेर चाँडो सक्न निर्देशन दिएका हुन् ।
मोरङको रङ्गेलीमा रोकिएको मतगणना खुलाउन आएका बेला प्रदेश १ का केही प्रमुख गणनास्थलको अवलोकन गर्ने सिलसिलामा धरान उपमहानगरको मत गणनास्थल अवलोकन र निरीक्षण गर्न आइतबार आइपुगेका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘मुलुकभरकै मतगणना अत्यन्त सुस्त गतिमा भएकाले चाँडो सक्न निर्देशन दिएको छु ।’
उनले आयोगले स्थानीय तहको निर्वाचन गराउन आफ्नो संवैधानिक जिम्मेवारी र भूमिका राम्ररी पूरा गरेको बताए । सुस्त र ढिलाइ भएको मत गणनास्थलमा आवश्यक स्रोतसाधन उपलब्ध गराउने पनि बताए । उनले ‘मत गणनास्थलमा जनशक्ति अभाव, प्राविधिक कठिनाइ वा अरू कुनै कठिनाइ भए आयोगलाई जानकारी दिएमा तत्काल व्यवस्था गरिदिनेछौं ।’ उनले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाइ भइरहेको भनेर व्यापक गुनासो आएकाले विभिन्न मत गणनास्थलको अनुमगन र निरीक्षणमा निस्केको बताए ।
मुलुकभरका स्थानीय तहहरूमा मत गणना भइरहँदा बदर मतको बारेमा भने उनले सबै तथ्याङ्क आइसकेपछि मात्र भन्न सकिने बताए । एउटै कागजमा ६ वटा मतपत्र भएकाले प्रमुख वा अध्यक्षको चिह्नमा लगाइएको स्वस्तिक छाप सही र उपाध्यक्षको लाइनमा लगाएको स्वस्तिक छाप गलत भएमा गलत तरिकाले छाप लगाइएको मात्र बदर हुने पनि निर्वाचन आयुक्त थपलियाले बताए ।
उनले छिटो मतगणना सक्नका लागि सोमबारदेखि नै सबै गणनास्थलहरूमा गणक सङ्ख्या बढाएर थप ४ वटा गणनास्थल थप्न निर्देशन दिएको र धरानमा पनि निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक सङ्ख्या दोब्बर बनाउन निर्देशन दिएको बताए ।
उनले मत गणनास्थलमा सानातिना विवादहरूले गणना स्थगित गर्ने अवस्था अहिले नभएको बताए । उनले मतगणनामा खटिएका कर्मचारीहरूलाई मतगणनामा खटेबापत सुविधा के कति पाउने भन्नेभन्दा पनि आफ्नो कर्तव्य पूरा गर्न लागिपरेमा सुविधा दिन आयोग सकारात्मक रहेको बताए ।