विराटनगर । विराटनगर महानगरपालिकाको ६ वडाको मत गणना सम्पन्न भएको छ । १९ वडा रहेको विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा सार्वजानिक भएको अन्तिम परिणाम अनुसार एमालले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १/१ वडामा वडाअध्यक्ष जितेका छन् ।

आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका काजिबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत पाएका छन् ।

यसैगरी विराटनगर २ नं. वडाको वडाअध्यक्षमा पुनः एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनले राप्रपाका उम्मेदवार पवन कुमार सुरनालाई पराजित गरेका हुन् । पोखरेलले १३३४ मत ल्याएर विजयी हुदा सुरनाले १२८३ मत पाए । निवर्तमान वडाअध्यक्ष समेत रहेका पोखरेलले अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि सुरनालाई जितेका थिए । २०७४ चुनावमा सुरना स्वतन्त्रबाट उठेका थिए । यसपटक राप्रपाबाट टिकट लिएर वडाअध्यक्षमा उठेका हुन् ।

विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार हमर्जनले ६८५ मत ल्याएका छन् ।

विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भए । जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए ।

कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि पारेका हुन् । आलम जसपा परित्याग गरि स्थानिय तहको निर्वाचन अगाडी मात्र काँग्रेसमा प्रवेश गरेका थिए । उनी निर्वतमान वडाअध्यक्ष पनि हुन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा आलमले विराटनगर १५ को वडाअध्यक्ष जितेका थिए ।

विराटनगर १९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत पाए । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् । ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् ।

जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । जसपका उम्मेदवार दिनेश कुमार यादबलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन् । निकटतम प्रतिस्पर्धी यादबले ६३८ मत ल्याएका छन् । १८ मा स्वतन्त्रबाट थप दुइ जना विजयी भएका छन् । स्वतन्त्रबाट गौरव मण्डल र ढुरीया यादव विजयी भएका छन् ।