धरान उपमहानगरपालिका १० नम्बर वडामा एमालेको प्यानलै विजयी भएको छ । ९२४ मत प्राप्त गरेर एमालेका वडाध्यक्षका उम्मेदवार ३८ वर्षीय विवेक राई विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जानकारी दिएको छ ।
कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वीलाई ५६७ मत प्राप्त भएको थियो । विजयी राईका ७० वर्षीय बुबा बुद्धिराज राईको मंगलबार दिउँसो करिब पौने ३ बजे निधन भएकाले उनले विजयी उत्सव मनाएका छैनन् । उनी विजयी र्यालीमा सहभागी हुने भए पनि अबिर भने नलगाउने बताइएको छ । राईले शुक्रबार मात्र बुबाको अन्त्येष्टि गर्ने बताएका छन् ।
वडा नम्बर १० बाट विजयी हुने वडा सदस्यहरूमा महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत प्राप्त गरेर विजयी भइन् । यस्तै, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत प्राप्त गरेर निर्वाचित भएका छन् । अर्का खुला सदस्यमा शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर निर्वाचित भएका छन् ।