यसपटकको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा हर्कराज राई निर्वाचित भएका छन् । उनको जीतसँगै देशव्यापी रुपमा धरानको फेरि एकपटक चर्चा भएको छ । स्वतन्त्र रुपमा उठेको उमेदवारले दलका पुराना नेता कार्यकर्तालाई पछि पार्दै जीत हात पार्नु सामान्य कुरा होईन । अहिले उनको चर्चा हुनुको मुख्यकारण पनि त्यहि नै हो । उनको जीतलाई विभिन्न कोणबाट हेर्ने गरिएको छ । उनलाई एकातिर राजनीतिक दलका नेताहरुको अक्षमताका कारण उनले मत पाएका छन् । किनभने, लामो समय नेकपा एमालेले धरानमा नेतृत्व ग¥यो तर जनसरोकारका मुद्धामा केन्द्रीत हुन सकेन । नेताहरु व्यक्तिगत फाईदामा लागे । धरानका ठूला आयोजनाहरु आउँदा धरानवासीको हितमा भन्दा उनीहरु आफ्नो हितमा हेर्न थाले । त्यसले आम नगरवासीमा भित्रभित्रै असन्तुष्टि बढिरहेको थियो । तर पार्टीका नेताहरुले त्यतातिर ध्यान पु¥याउन सकेनन् । उनीहरु आफ्नै आत्मरतिमा रमाउन व्यस्त रहे । तर पनि धरानवासीले उनीहरुलाई मत दिंदै गए ।

देश संघीयतामा गएपछि २०७२मा पहिलोपटक स्थानीय निर्वाचन हुँदापनि धरानवासीले एमालेलाई नै बहुमतका साथ मतदान गरे । तर कार्यकाल पुरा नहुँदै तत्कालिन प्रमुख तारा सुब्बाको निधन भयो । त्यसपछि २०७६को उपनिर्वाचनमा भने धरानवासीले नेपाली काङ्ग्रेसलाई जीताए । तर काङ्ग्रेसले पनि जनअपेक्षा पुरा गर्न सकेन । राजनीतिक दलहरुले खासमा जनअपेक्षा पनि बुझ्न सकेनन् । नागरिकहरु सामान्य रुपमा सहज जीवन जीउने वातावरण चाहान्थे । सरकारी कार्यालयहरुमा सहज रुपमा सेवा पाईयोस्, धारामा नियमित पानी आओस् । नगरवासीका चाहना यस्तै सामान्य नै थिए । तर राजनीति दलका नेताहरु भने ठूला सपना देखाउन थाले । नेताहरुका त्यस्ता आश्वासन नागरिकले पत्याएनन् । अन्ततः उनीहरुले विकल्प खोज्ने क्रममा हर्कराजलाई मत दिएका हुन् । त्यो मात्र होईन, यसपटकको निर्वाचनमा सबै राजनीतिक दलहरुका आकांक्षी धेरै थिए । उनीहरु मध्ये दलका केन्द्रीय नेताहरुले क्षमताका आधारमा होईन, निकटताका आधारमा टिकट दिए । त्यसले आम कार्यकर्ता माझ नै असन्तुष्टि फैलियो । केहीले बाहिर व्यक्त गरे तर धेरैले बाहिर व्यक्त नगरेपनि उनीहरु भित्रभित्रै असन्तुष्ट थिए । एमाले होस् या काङ्ग्रेस दुवै पार्टीका उमेदवारलाई आफ्नै कार्यकर्ताले समेत पत्याएनन् । आफ्नो पार्टीका उमेदवार मन नपरेको तर अर्को पार्टीमा पनि मतदान गर्न मनले नमानेका धेरै कार्यकर्ताको मत पनि स्वतन्त्र उमेदवारतिरै गयो । यस्ता विभिन्न फ्याक्टरका कारण धरानको इतिहासमा नयाँ मोड आएको छ ।

उनको जीत धरानवासीका लागि ‘नो भोट’को रुपमा पनि आएको हो । धरानका राजनीतिक दलहरुले हर्कको जीतलाई कसरी मूल्याङ्कन गरिरहेका छन्, हालसम्म केही सार्वजनिक गरेका छैनन् । तर अब दलका नेताहरुले मुल्याङ्कन गर्नु आवश्यक छ । सर्वप्रथम आफ्नै कार्यशैली र आफ्नो पार्टीका गतिविधिहरुलाई अध्ययन गर्ने र कहाँ कमि कमजोरी भयो भनेर अध्ययन गर्नु आवश्यक छ । त्यसबाट पाठ सिकेर आगामी दिनमा आफुलाई सच्याउनु जरुरी छ । अबपनि राजनीतिक दलहरु नसच्चिने हो भने उनीहरुको भविष्य राम्रो देखिंदैन । त्यसैले आफुलाई सच्याउनुका साथै अहिले मतदाताले दिएको मतलाई सहज रुपमा लिएर अघि बढ्नुपर्छ । अहिले हार व्यहोर्ने दलहरुले हारको विषयमा एकआपसमा दोषारोपण गरिरहेको देखिन्छ । यसरी दोषारोपण गर्नुभन्दा सबै एकजुट भएर आफ्ना कमजोरीहरु सच्याउने र आगामी दिनमा जनभावना बुझ्नेगरी काम गर्ने प्रतिवद्धता गरेर अघि बढ्नु आवश्यक छ । किनभने, बहुदलिय व्यवस्थामा स्थानीय सरकार होस् या संघीय सरकार  नेतृत्व गर्ने दलहरुले नै हो । स्वतन्त्र त अहिलेको विशेष परिश्थितिले ल्याएको अवश्था हो । त्यसकारण राजनीतिक दलहरुले अहिलेको जनमतको कदर गर्दै धरानको भविष्य कसरी राम्रो बनाउन सकिन्छ भनेर चिन्तन मनन गरेर अघि बढ्नु पर्छ । त्यसो नगर्ने र आफैंमात्र घमण्ड गरिरहने हो भने धराने मतदाताले फेरि पनि नयाँ विकल्पको खोजि गरिरहने छन् ।