धरान । कुनै बेला राज्यसत्ताविरुद्ध विद्रोह गर्ने धरान यसपटक राजनीतिक दलसँग विद्रोह गर्न सफल भएको छ । ‘विद्रोही धरान’को पयार्य स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ बन्न सफल भएका छन् ।
साम्पाङ आज जुन सिँढी चढेका छन्; त्यो सिँढी पनि ‘विद्रोही चरित्र’कै कारण सम्भव भएको हो । ‘खानेपानी, बीपी प्रतिष्ठानका समस्या, एमसीसी, धरानका सडक’ का मुद्दाहरू लिएर उनी धरानका गल्ली गल्लीमा विद्रोह गर्दै आएका थिए । तर, धरानको आफ्नो स्वभाव नै ‘विद्रोही’ रहेको जानकारहरू बताउँछन् ।
२०१६ सालदेखि नै धरान ‘विद्रोही’ बन्दै आएको छ । राजनीतिक आन्दोलन काठमाडौँ पछि धरानले नै गर्दै आएको थियो । त्यसकारण पनि यसलाई ‘सङ्घाई’ उपनाम दिइयो । पूर्व नगर प्रमुखसमेत भइसकेका कवि बम देवान भन्छन्, ‘धरानले २०१६ सालदेखि नै विद्रोही स्वभाव देखाउन थालेको हो ।’ उनका अनुसार कुनै बेला राज्यसत्ताका विरुद्ध विद्रोह गर्ने धरानले यसपटक राजनीतिक दलहरूसँग विद्रोह गरेको छ । गठबन्धन दलसँगै ‘कम्युनिष्ट’ किल्लालाई तोडेको छ ।
स्थानीय तहको चुनावी माहौल सुरु भइरहँदा धरान–१८ बुद्धचोकका ३९ वर्षे विद्रोही स्वभावका युवाले जनाधार र सङ्गठन भएका राजनीतिक दल र तिनका उम्मेदवारलाई यो स्थितिमा ल्याउँछन् भन्ने कसैले अड्कल गरेको थिएन । साम्पाङले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धन दल नेपाली काङ्ग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गरे ।
उनले २० हजार ८ सय २१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनबका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरेका थिए । धरानको कुल मतदाता १ लाख ३ सय २४ रहेकोमा ६२ हजार ८ सय ९८ मत खसेको थियो । चुनावमा काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच लोकतान्त्रिक वाम गठबन्धन गरेको थियो ।
लोकतान्त्रिक बाम गठबन्धनले एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज समेत रहेकी प्रमुख पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीलाई हराउने रणनीति अपनाएको थियो । तर सङ्गठन र कार्यकर्ताविहीन स्वतन्त्र उम्मेदवार साम्पाङ एक्लैले लोकतान्त्रिक बाम गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै चमत्कारिक रुपमा उदाएका छन् ।
साम्पाङलाई राजनीतिक पार्टी र तिनका कार्यकर्ताले एउटा अराजक, विद्रोही र असन्तुष्ट व्यक्ति भनेर मात्र परिभाषित गर्दै आएका थिए । उनको परिचय पनि यस्तै बनेको थियो । यस्तो परिचय बन्नुमा उनको विद्रोही स्वभाव नै हो । उनले धरान–८ धनुकटे मार्ग भएर भएर जाने मदन भण्डारी राजमार्गमा पर्ने घर जोगाउन अभियान सुरु गरे ।
त्यसपछि खानेपानी आयोजनाको विषयमा प्रश्न गरे । हिसाबकिताब मागे । सर्दु सेउतीको ढुङ्गागिट्टी ठेक्का दिएको विरुद्ध आन्दोलित भए । बीपी प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार र सेवाग्राहीले पाएको दुःखलाई लिएर निरन्तर सङ्घर्षरत रहे । पछिल्लो समयमा भारतले कालापानी, टिङ्करमा गरेको सिमा अतिक्रमण र एमसीसी परियोजना विरुद्ध खरो रूपमा उत्रिए । यी सबै विद्रोह उनी एक्लैले नेतृत्व गरेर सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि जाहेर गरेर ६५ हजार बढी फलोअर्स बनाए ।
पञ्चायतकालको हरेक चुनावमा कम्युनिष्ट विचार बोकेका जनपक्षीय उम्मेदवारहरूले जित्दै आए । ०४६ को जनआन्दोलन पछिको चुनावमा एमालेले कब्जा जमायो । हुँदा हुँदा ०७४ को स्थानीय तहको चुनावसम्म । ०७६ को उपनिर्वाचनमा काङ्ग्रेसले एमालेको किल्ला भत्काएर चारतारे झण्डा गाडेको धरानमा पहिलो पटक विद्रोही स्वभावकै साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुदै आफ्नो झण्डा गाड्न सफल भएका छन् ।
धरानले विद्रोही स्वभावका स्वतन्त्र उम्मेदवारलाई जिताउनुका कारणबारे धरानका पुर्व जनपक्षीय मेयर तथा कवि बम देवानले भने, ‘आज पार्टीहरू एकजुट भएर साँगगाँठ गर्दा पनि स्वतन्त्र उम्मेदवारले जित्नुमा उनीहरूको सिद्धान्त, नीति, तथा कार्यक्रम राम्रोसँग बुझाउन नसक्नु, सङ्गठनप्रति बेवास्ता र लापरबाही गर्नुको उपज हो ।’ उनले साम्पाङको जितलाई पार्टीहरूप्रति अकर्णमन्यताको विरोधका साथ जनताको ठूलै विद्रोह भएको बताए ।
धरानले पहिले पहिले राज्य व्यवस्था विरुद्ध, वर्गविरुद्ध, राज्यको शोषण प्रवृत्तिको विरुद्धमा विद्रोह गर्ने गरेको उनले बताए । उनले भने, ‘धरानमा राज्यसत्ता विरुद्ध विद्रोह भएका छन् । किसान आन्दोलन भएका छन् । पार्टी र सङ्गठनको स्वरूप काठमाडौँको हुँदा त्यसको प्रभाव पूर्वमा आइपुग्दा पहिलो स्वरूप धरानमा हुन्थ्यो । त्यसैले पूर्वको सङ्घाई मान्थे धरानलाई । धरानबाट त्यसबेला डीपी अधिकारी, गङ्गा उप्रेती, इन्द्र थापा, बीएकृष्ण श्रेष्ठ, टिआर विश्वकर्मा, गोविन्द मोक्तानहरू थिए आन्दोलनको अगुवाहरू ।’
धरानले बेलाबेलामा विद्रोही स्वभाव देखाउने गरेको र त्यसैको नतिजा स्वरुप विद्रोही धरानेहरुले दलीय उम्मेदवारलाई हराउदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई चुनावमा जिताएका उनको विष्लेशण छ । धरानले गर्ने विद्रोहबारे सहप्राध्यापक राजेन्द्र शर्माको विश्लेषण पनि बम देवानसँग मिल्छ । शर्माले भने, ‘धरान जहिलै पनि केन्द्रीय सत्ताको प्रतिपक्षमा रहने क्यारेक्टर लिएर बसेको छ । यसअघिका प्रत्येक चुनावमा केन्द्रमा काङ्ग्रेसको सत्ता हुँदा धरान जहिलै प्रतिपक्ष बनिरहयो । केन्द्रमा कम्युनिष्ट केपी ओलीको सत्ता हुँदा धरानमा काङ्ग्रेसले नेतृत्व गर्न पुग्यो । बीचमा गठबन्धन सरकार बन्यो । हर्कराज साम्पाङ धराने विद्रोही र असन्तुष्ट जनताको प्रतिनिधि पात्र हुन् । चुनावका बेला मतदाताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई पाए । भोट उतैतिर खन्याए ।’
शर्माले साम्पाङले जित्नुमा अरू पनि कारण रहेको बताए । उनका अनुसार दलहरूले चर्चित उम्मेदवारलाई टिकट नदिएर जनताले नरुचाएकालाई उम्मेदवार बनाएपछि जनताले साम्पाङलाई रोजेको बताए । उनले भने, ‘एमालेले राम्रो उम्मेदवार उठाएका भए काङ्ग्रेसमा चित्त नबुझेका मतदाताले एमाले उम्मेदवारलाई दिन्थे । काङ्ग्रेसले राम्रो उम्मेदवारलाई टिकट दिएको भए एमालेका उम्मेदवारसङ्ग रुष्ट भएकाले काङ्ग्रेसी उम्मेदवारलाई भोट दिने विकल्प पाउँथे । धरानमा मतदाताका लागि दलले विकल्प नै नदिएपछि नसोचेको नतिजा निस्क्यो ।’ शर्माका अनुसार धराने जनताले जहिलै पनि परिणाममुखी नेता खोजिरहेका हुन्छन् ।
माक्र्सवादी माओवादी चिन्तक विश्लेषक राजेन्द्र किरातीले भने, ‘धरान, काठमाडौँ, जनकपुर र धनगढीलगायतका ठूला सङ्ख्यामा रहेका मतदाताले दलीय उम्मेदवारलाई भन्दा स्वतन्त्र उम्मेदवारलाई भोट दिनुले मतदाताहरूलाई राष्ट्रिय राजनीतिले नेतृत्व दिन नसकेको स्पस्ट हुन्छ । राष्ट्रिय राजनीतिले नेतृत्व गरेको भए स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था आउँदैन थियो ।’
०७४ को चुनावमा सामान्य मतदातामात्र रहेका साम्पाङ विद्रोही स्वभाकै कारण ०७६ को उपनिर्वाचनमा धरानमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिए । उक्त चुनावमा उनले ४ सय २१ मतमात्र ल्याएका थिए । खोटाङको खार्ताम्छामा ०३९ साल फागुनमा जन्मेका साम्पाङ ०५६ सालमा उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए ।
पूर्व ब्रिटिस गोर्खा सैनिक बाबुका कान्छो छोरा रहेका उनी गीतसङ्गीत र साहित्यमा रुचि भएकाले ०६४ सालमा लोक आधुनिक शैलीका १० गीत समेटर ‘मिसिङ हर्ट’ म्यूजिक एल्बम पनि निकाले । महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक गरेका उनले धरानको एक भाषा सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षक समेत भएर काम गरे । त्यसपछि उनी ६ वर्षसम्म इराक र आफगानिस्तानको वैदेशिक रोजगारमा पनि गए ।
उनले धरानलाई भ्रष्टाचारमुक्त उन्नत, समृद्ध बनाउने उद्देश्य राखेर उम्मेदवारी दिएको बताए । उनले भने, ‘यो जित एउटा स्वतन्त्र उम्मेदवारको मात्र जित होइन, सबै पार्टी र धरानवासीको जित हो । किनकि म साझा स्वतन्त्र उम्मेदवार हुँ । अब म सबै दलका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्छु । मलाई उहाँहरूले सहयोग गर्नु हुनेछ ।’
उनले आफ्नो विद्रोही स्वभाव भए पनि उपमहानगरको प्रमुख भएकाले अबको भूमिका र शैली भने परिवर्तन हुने बताए । उनले भने, ‘जहिल्यै कराएर मात्र हुँदैन । धरानको विकास गर्न सबै दलबाट विजयी भएका जनप्रतिनिधिहरूसँग मिलेर काम गर्नेछु । यसमा मेरा पहिलो प्राथमिकता खानेपानीको समस्या समाधान हो ।’