स्थानीय निर्वाचनको मतगणना लगभग अन्तिम चरणमा छ । यसपटकको निर्वाचनमा काठमाडौं सहित देशका विभिन्न पालिकाहरुमा स्वतन्त्र उमेदवारहरुले राजनीतिक दलका उमेदवारहरुलाई उछिनेका छन् । धरानमा स्वतन्त्र उमेदवारले जीत हासिल गरिसकेका छन् ।

यसले के देखिन्छ भने, आम नागरिक राजनीतिक दलहरुप्रतिको असन्तुष्टि, निर्वाचित जनप्रतिनिधिहरु प्रतिको असन्तुष्टि अभिव्यक्त गरिरहेका छन् । आम मतदाताको यो अभिव्यक्ति दलहरुका लागि सोचनीय विषय हो ।

वि.सं.२००६ देखि आन्दोलन गरिरहेका, राणा शासन फालेका, पञ्चायत ढालेका, राजतन्त्र हटाएर लोकतन्त्र र गणतन्त्र ल्याएका अनि बलिया संगठन स्थापना गरेका राजनीतिक दलहरुलाई एउटा सामान्य संगठन पनि नभएको, स्वतन्त्र उमेदवारले यति ठूलो चूनौति दिनु सामान्य होईन । राजनीतिक दलहरुसँग आम जनता असन्तुष्ट रहेको अहिलेसम्मको मत परिणामले पनि प्रष्ट पारिसकेको छ । किनभने, दलहरुले जनताको भावना बुझ्न सकेनन् होला । उनीहरुका कार्यशैली, जीवनशैली, बोलि व्यवहार राम्रो भए जस्तो देखिएन । त्यसको बदला नागरिकले मताधिकार मार्फत लिएका मात्र हुन् ।

स्वतन्त्र उमेदवारले जीते भने धेरै काम गर्न सक्लान् भन्ने विश्वासले उनीहरुमा मत गएको होईन । बरु राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुले विगतमा देखाएका गतिविधि, व्यवहारको प्रतिशोध स्वरुप मत परिणाम यस्तो देखिएको हो । हुन त स्वतन्त्र उमेदवारहरुले जीतेको अवश्थामा पनि काम गर्नै नसक्ने भन्ने हुँदैन । किनभने, उनीहरु पनि उहि नियम कानुन अनुसार चल्ने हो । नियमित रुपमा आउने निश्चित बजेट आईहाल्छ, नियम कानुन एउटै हुन् ।

स्थानीय कर र स्रोतहरु भईहाल्छन् । उनीहरुले भ्रष्टाचारलाई मात्र नियन्त्रण गर्न सकेभने पनि स्थानीय स्तरमा धेरै काम गर्न सक्छन् । दलिय व्यवस्थामा केही समस्या त अवश्य हुन्छन् नै । जस्तो कि, केन्द्रीय योजनाहरुमा दलहरुकै पकड हुने भएकाले त्यस्ता योजना नपर्न सक्छन्, पालिकास्तरमा पनि दलका सदस्यहरुले निर्णयमा अल्झन ल्याउन सक्छन् । यद्यपी आफु सहि भएर सहि ढंगले अघि बढ्ने हो भने काम गर्न सक्छन् । तर यति भन्दै गर्दा लोकतन्त्रमा दलहरुकै प्रतिनिधिले नेतृत्व गर्ने परिकल्पना गरिएको हुन्छ । स्वतन्त्र भनेको दलित व्यवस्थाको विरुद्ध हो । अर्थात निर्दलीय हो ।

अहिलेको अवश्थामा भने, राजनीतिक दलहरुको कमि कमजोरीकै कारण असन्तुष्ट बनेका नागरिकहरु विकल्पको खोजिमा देखिएका हुन् । यसलाई दलहरुले मनन गर्नु आवश्यक छ । दलका नेता, कार्यकर्ताले आफ्ना बोली, कार्यशैली, रहन सहन, लवाई खवाईमा परिवर्तन ल्याउनु जरुरी छ । उनीहरुले आफुलाई नसच्याउने हो भने घाटा उनीहरुलाई नै हुने हो ।

अहिलेको मत परिणाम हेर्दा नागरिकहरु वैकल्पिक शक्तिको खोजिमा छन् । उनीहरुले सुरुमा आफुलाई वैकल्पिक भन्ने रविन्द्र मिश्रहरुलाई विश्वास गरेनन् । किनभने, उनीहरु लामो लडाईं पछि फालिएको राजतन्त्र ल्याउने कुरा गर्छन् । गणतन्त्रका लागि धेरै नेपालीले ज्यान गुमाएका छन । त्यसमा कतिले आफन्त गुमाएका छन् ।

गणतन्त्रका लागि ज्यान गुमाएका नेपालीले फेरि राजतन्त्रमा फर्किन चाहेका छैनन् । त्यसैले रविन्द्र मिश्र, राजेन्द्र लिङ्देनहरुले पर्याप्त मत पाउन नसकेका हुन् । लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र होईन । यसपटकको स्थानीय निर्वाचनमा जसरी स्वतन्त्र उमेदवारहरुले अग्रता लिईरहेका छन् । उनीहरुको जसरी हाई हाई छ ।

त्यसले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि प्रभाव पार्छ । दलहरु प्रति विद्रोह गर्ने नयाँ पुस्ताहरु देखा पर्छन् । त्यसैले दलहरुले यसबाटै सवक सिकेर आफुलाई गम्भीर मूल्याङ्कन गर्नु आवश्यक छ ।
(त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभाग सह–प्राध्यापक डा.श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)