याक्थुङ मुन्धुमभित्रको ज्ञान उधिन्ने, अन्तरकुन्तरभित्र छिरेर गुदीलाई बाहिर ल्याउने काम पहिलेदेखि हुँदै आए पनि पछिल्लो समयमा मुन्धुमको मानक सिद्धान्तलाई आधार बनाएर पुस्तकका रूपमा निकाल्ने लहर चलेको छ ।
‘श्रुति परम्परा पो हो है मुन्धुम त’ भनेर कसैले वा अरू कुनै बाहिरिया विद्वानले भनेकाले होला मुन्धुमको बारेमा लेखिएको पुस्तक त्यति भेटिने गरिएको थिएन । पहिले पहिले याक्थुङ लिम्बू समुदायमा मुन्धुमी मन्त्र वा ज्ञानलाई कुनै गुरुले आफ्नो शिष्यलाई समेत पूर्णरूपमा नदिने र दिए पनि अरूलाई नभन्ने शर्तमा दिने सुनाउने गरेको चर्चा हुने गरेको मैले सुनेको थिएँ । गुरुले सबै ज्ञान आफ्नो शिष्यलाई भनेमा वा दिएमा गुरु भन्दा बाठो हुने सम्भावनाले त्यस्तो भएको हुन सक्छ । यो मानवीय प्रवृत्ति हो । आखिर मुन्धुम पनि मानिसकै लागि तयार भएको हो । जो एकै पटक तयार भएको होइन । शदिऔं समय लागेको छ मुन्धुम निर्माण हुन ।
यसै सन्दर्भमा शनिबार धरानमा ‘तङ्सिङ मुन्धुम’ पुस्तक सार्वजनिक भएको छ । यो पुस्तकको सङ्कलन, सम्पादन मेहेरमान लाबुङ र हर्क कुरुम्बाङ दुई जनाले गर्नुभएको छ । मेहेरमान लाबुङ आफै पनि मुन्धुम सावा, मुन्धुमका सङ्कलक, लाबुङ वंशावलीका लेखक÷सङ्कलक हुनुहुन्छ । हर्क कुरुम्बाङ नेपाली–लिम्बू शब्दकोशका कोशाकार, कुरुम्बाङ वंशावलीका ग्रन्थकार, आनि पानका लेखक, लिम्बू नेपाली र अङ्ग्रेजीका कोशाकार हुनुहुन्छ । दुवैजना पूर्व ब्रिटिश गोर्खा सैनिक पनि हुन् । याक्थुङ मुन्धुमको महŒव र उपादेयता बुझेका दुई विद्वानहरूले सह–लेखनमा तयार पारेको यो तङ्सिङ मुन्धुम पुस्तक आम पाठकका लागि अति उपयोगी मात्र नभएर केही नयाँ कुराहरू पनि सिक्न, जान्न र बुझ्न मद्दतगार हुन पुगेको छ ।
मुन्धुम कति गहिरो, फराकिलो, अनन्त र अपार छ भन्ने कुरा त डा. चैतन्य सुब्बाले तयार पारेको ‘चो?लुङ मुन्धुममा निहित राजनीतिक दर्शनको सारतŒव’ मै उल्लेख गरेका छन् । जस्तैः यो जुनको ज्योतिले झलमल भूमि हो, यो घामको किरणले देदिप्यमान भूमि हो, यो शान्ति र सौहाद्र्रताको भूमि हो, सुन्दर प्राकृतिक दृश्यावली भएको पवित्र भूमि हो, यो सबैको कल्याण र सुरक्षा हुने भूमि हो, प्रगति र समृद्धिको शिखरमा पुगेको भूमि हो, सम्मानित भद्रभलाद्मी तथा पूजनीय महिलाहरूको बासस्थान हो, भूमि हो, यही नै प्रतिष्ठा र परिपूर्णताको प्रतीक हो ।
अन्य ग्रन्थहरूले सम्पूर्णताको वा परिपूर्णताको कुरा त्यति उठाएको पाइएको छैन । तर, मुन्धुमले जहिल्े पनि यो भूमि पृथ्वीलाई सम्पूर्णताको रूपमा व्याख्या गरेको छ । डा. सुब्बाले परिपूर्णता भनेर व्याख्या गरेका छन् भने वैरागी काइँलाले पहिले नै मुन्धुम सम्पूर्णताको व्याख्या गर्ने दर्शनको रुपमा रहेको भनिसकेका छन् । सम्पूर्णता भनेको जुनसुकै दृष्टिकोणबाट पनि मिलेको, जताबाट हेरे पनि मिलेको भन्ने हो । मान्छेको शरीरबाट एउटा मात्र अङ्ग छुट्यो भने त्यो अपूरो र अधुरो रहन्छ ।
शिरदेखि पैतालासम्म सुन्दर युवती त तयार भई तर, आँखा छुटाइदिएमा अब कल्पना गर्नोस् सुन्दरताको व्याख्या अधुरो रहन्छ । आँखालाई एउटा सम्पूर्ण मात्र मानियो भने पनि त्यसमा परेला वा आँखाको नानी नै नहुने हो भने त्यो आँखा पनि अपूरो हुन्छ । त्यस्तै यो भूमि पृथ्वीबाट हावामात्र हटाइदिने हो भने वा हरियाली जङ्गल हटाइदिने हो भने वा खोला–नाला, समुद्र हटाइदिने हो भने अपूर्ण हुन्छ । मुन्धुममा यो चराचर जगत्लाई चाहिने सबैथोक हुँदाहुँदै पनि मान्छे नभए पनि नसुहाएको कुरा आउँछ । पृथ्वीमा मान्छे भएपछि बल्ल पूर्ण हुन्छ । इक्सा खाम्बेक सुहाउँदिलो हुन्छ ।
सम्पूर्णता वा परिपूर्णताको व्याख्या गर्ने यो तङ्सिङ मुन्धुमको येवा येमाका पहिरन सामानको बारेमा वर्णन गरिएको कथा छ, चराको पखेटा र पुच्छरलाई लिएर । मेहेरमान र हर्कजङ्गले सङ्कलन गरेको तङ्सिङ मुन्धुमले पखेटा र पुच्छर विना हँुदा एउटा चरा(पंक्षी) कसरी अपूर्ण, अधुरो र असुहाउँदिलो भएको थियो र पछि अनेक उपाय गरेर पखेटा र पुच्छर पनि लगाएपछि पलाएपछि कसरी त्यो चरा (पंक्षी) सुहाउँदिलो बन्यो भन्ने उदाहरण दिएको छ । हो, पनि पखेटा र पुच्छर विनाको चरा कसैले पनि कल्पना गर्न सक्दैन । पुच्छर र पखेटा भएपछि मात्र एउटा चरा बन्छ । अनिमात्र त्यो पूर्ण हुन्छ ।
मुन्धुमभित्र सम्पूर्णता वा परिपूर्णताको खोजी ‘सावाला साम्बा नवा चइःत् मुन्धुम सावा’को सृष्टिकथाबाट अझै धेरै भएको पाइन्छ । मुन्धुममा शून्यदेखि सृष्टिको कथा सुरु हुन्छ । अहिलेका भौतिक विज्ञानीहरूले भनेजस्तै सुरुमा आकास नै नभएको, आकास नभएपछि कुनै दिशा नै नभएको शून्य भ्वाङमात्र रहेको कुरा मुन्धुममा आउँछ ।
त्यसपछि कण (अणु) बाट यो ब्रह्माण्ड र पृथ्वीको सृष्टि भएको कुरा मुन्धुममै उल्लेख छ । आधुनिक वैज्ञानिकहरूले पनि भनेका छन्, ‘भविष्यको कुनै पनि समयमा यो ब्रह्माण्ड एउटा अणु बराबरको भएर खुम्चिने वा सङ्कुचित हुनेछ । त्यसपछि फेरि नयाँ ब्रह्माण्ड बन्नेछ । मुन्धुमको सृष्टि कथा र आधुनिक भौतिक खगोल विज्ञानीले भनेका कुरा कसरी मिल्न पुग्यो, त्यो संयोग हुन पनि सक्छ या त मुन्धुम निर्माणकालमा याक्थुङ सावायेत्हाङहरू सधैँ सम्पूर्णता र परिपूर्णताको खोजी गर्ने भएकाले ज्ञानमा पक्कै पनि धेरै अगाडि थिए भन्नुपर्ने हुन्छ । यद्यपि यो बहसको विषय हो ।
पृथ्वीको उत्पत्तिपछि पृथ्वीलाई सुहाउँदिलो बनाउन वा सम्पूर्णताको प्रतीकको रूपमा स्थापित गर्न आवश्यक जेजे चाहिन्छ, ती ती कुराहरू थपिँदै गएको छ । वनजङ्गल, खोला–नाला, चराचुरुङ्गी, फूलपात, अन्नबाली, पशुपंक्षी, हिमाल, पहाड, तराई, हावा, पानी, बादल, बिजुली, चट्याङ सबैसबैको सिर्जना गरेपछि पनि नसुहाएपछि मान्छे निर्माण (मान्छेको उत्पत्ति) भएपछि मात्र पूर्णता पाएको मुन्धुमले भन्छ । पुस्तकको पृथ्वीको सृष्टि मुन्धुममा भनिएको छ, ‘इक्सा ग पोखे, खाम्बेक ग पोखे’ अर्थात् ‘घुम्ने पृथ्वी तयार भयो, बन्यो, तर रुखपात, झारपात विना पृथ्वी सुहाएन ।’ यहाँ पनि भन्न खोजेको अझै पूर्ण भएन । पूर्ण हुनका लागि रुखपात, झारपात, वनजङ्गल आवश्यक छ । याक्थुङ मुन्धुमका हरेक सृष्टि कथामा सम्पूर्णता र परिपूर्णता नै खोजिएको छ । मुन्धुमभित्रको सम्पूर्णताको खोजीबारे मुुन्धुमविद्, आख्यानविद्हरूले थप व्याख्या गर्नु जरुरी छ । आखिर याक्थुङ मुन्धुमले मात्र किन सम्पूर्णता वा परिपूर्णताको खोजी ग¥यो भनेर ।
मुन्धुमको मानव सृष्टिको कथामा पनि सम्पूर्णताकै वर्णन गरिएको छ । मान्छेको सृष्टि ईश्वरले त गरे । (म चाहिँ प्रकृतिले गर्यो भन्छु )। तर, सुनचाँदी धातुको बनाउँदा श्वास पसेन । पछि मालिङ्गो बाँसको खरानी, गोब्रे बाँसको धुलो र पानी मिसाएर मान्छे बनाउँदा होहो गर्दा हुहु मात्र गरेको तर, प्रष्ट जवाफ फर्काउन नसकेपछि किलकिले, जिब्रो र दाँत लगाइदिएपछि सुहाएको र बोले । (मैले कतै कतै मुन्धुममा मालिङ्गोको खरानीमा चराको विष्टा र पानी मुछेर मान्छे बनाएको कथा पनि पढेको थिएँ ।)
लाबुङ र कुरुम्बाङको तङ्सिङ मुन्धुममा चराको विष्टाको वर्णन भने पाइनँ । जे होस्, मानव सृष्टिको मुन्धुमअनुसार आदि स्त्री मानिस मुजिङ्ना खेयोङ्ना हो । अर्थात् प्रकृतिले मानिसको रूपमा पहिलो पटक स्त्रीलाई बनायो । उनैको पहिलो सन्तान अर्थात् सुसुवेन लालावेनको जन्म भएको वर्णन मुन्धुममा छ । तरुनी भएकी आदिम स्त्री मुजिङ्ना खेयोङ्नासँग यौन सम्पर्क गरेको कथा भने अलि विश्वासिलो पाइएको छैन । हावासँग यौन सम्पर्क गरेको भनिएको छ । यो हावाको रूपमा आउने आदिम पुरुष को होला ? यसबारे पनि व्याख्या हुन जरुरी छ ।
मुन्धुमकाल पक्कै पनि आदिम जङ्गली कविला युग थियो । आदिम कविला युग भनेको समाज र परिवार बन्नुअघिको हो । यसको अर्थ स्त्रीप्रधान भएको बेला कुनै पनि बेला स्त्रीलाई यौन चाहना भए उसले जुनसुकै पुरुषसँग संसर्ग गर्न सक्ने अधिकार सुरक्षित थियो भन्ने लाग्छ । वा आफ्ले इच्छाएको बेला जो कोही पुरुषसँग यौन सम्पर्क गर्दा अचानक जन्मेको सन्तान सुसुवेन लालावेनको बाबु पहिचान हुन नसकेको पनि हुनसक्छ । यसबारेमा थप व्याख्या हुनु पनि जरुरी छ । मुन्धुममा वर्णित आदिम पौराणिक पात्रहरू सुहाम्फेवा र लाहादङ्नाका बीच भएको यौन सम्पर्कलाई हाडनाता भएको मानिएको छ । यसमा कुनै हीनताबोध गर्नु अहिले मिल्दैन । हिन्दुको ग्रन्थमा झन् अधिकांश भगवान, देवताको यौन जीवन हाडनाता र रक्तमिश्रणले भरिएको छ । तैपनि ती पात्रहरू हिन्दुहरूका लागि महान् र सर्वशक्तिमान छन् । आदिम युगको कथा भएकाले हाडनाता वा रक्तमिश्रण सबै मानव सभ्यतामा पाइन्छ । मुन्धुम पनि अछुतो नरहने कुरो भएन ।
मुन्धुम पनि सङ्कलकैपिच्छे केही फरक भएको महसुस मैले गरेँ । जसरी हिन्दुका वेद, पुराण, उपनिषद्हरू वा इसाईको बाइबल, मुस्लिमका कुरान, बौद्धका त्रिपिटक समय– समयमा थपिँदै आए । त्यसैगरी मुन्धुममा पनि थपिएका महसुस गरेको छु । जसरी वेद वा रामायण, महाभारत एउटै व्यक्तिबाट तयार नभएर धेरै जनाले एकपछि अर्को गर्दै थप्दै ल्याए । त्यस्तै यो मुन्धुम पनि एउटै व्यक्तिबाट तयार नभएकाले केही न केही भिन्नता आउनु स्वभाविक हो । हिन्दुको महान् ग्रन्थमध्ये रामायण मात्र २८ प्रकारको भएको फेला पारिएको छ । तिब्बती रामायणदेखि थाइल्याण्ड, बाली, इण्डोनेशिया, मलेसिया, सिंहालीसम्मका रामायणमा फरक–फरक प्रस्तुति भेटिने गरेको विद्वानहरूले बताउँदै आएका छन् । त्यस्तै वेद, पुराण १७ औ शदीसम्म थपिँदै आएका छन् । मुन्धुम ज्ञान पनि पछि क्रमशः थपिँदै गएको देखिन्छ ।
मुन्धुमभित्रका अधिकांश भाषा, शब्दहरू आलङ्कारिक, व्यञ्जनात्मक, बिम्बात्मक, मेटाफोर (रूपक)हरूले भरिएका छन् । तिनको सोझो अर्थ वा अनुवाद गर्न, भन्न, निकाल्न सकिन्न । सङ्कलित तङ्सिङ मुन्धुमभित्रको सावाला साम्बा नावा चःइत् सृष्टि कथामा मुन्धुमी शब्द, वाक्य यस्तो छ– ‘इक्सामु होप्ते, खाम्बेक्मु होप्ते ।’ यसको सोझो अनुवाद ‘पृथ्वी थिएन’ मात्र गरिएको छ । तर, ‘इक्सा’ को अनुवाद भएको छैन, गरिएको छैन । ‘खाम्बेक’ शब्द परिपूर्ण हुनका लागि ‘इक्सा’ त आउनै पर्छ । ‘खाम्बेक’ मात्र भनियो भने अपूर्ण हुन्छ । त्यसैले मुन्धुममा पृथ्वी बुझ्नका लागि ‘इक्सा खाम्बेक’ भन्नै पर्ने हुन्छ ।
यहाँ ‘खाम्बेक’ को अगाडि आएको ‘इक्सा’ शब्द अलङ्कार हो, रूपक हो । पाश्चात्य भाषामा भन्ने भने ‘मेटाफोर’ हो । ‘तरङ्मु होप्ते, ताङ्साङमु होप्ते’ को भावानुवाद ‘आकास थिएन’ भन्ने हो । तर, थिएन भन्दा ‘होप्ते’ भन्दा पुग्यो तर, नामवाचक शब्द आउनासाथ त्यसको अगाडि अलङ्कार अनिवार्य झुण्डिनु मुन्धुमी शब्द र भाषाको विशिष्ट गुण हो । ‘मुसुन्ने नेस्से, खेसुन्ने नेस्से’ लाई ‘सुनसान थियो’ भनियो । ‘खेसुन्ने’ को अगाडि आएको ‘मुसुन्ने’ को अर्थ खोज्नु पर्ने हुन्छ । यस्ता अलङ्कार रूपक त मुन्धुमका प्रत्येक नामवाचक शब्दमा आउने गरेका छन् । ती अलङ्कार, बिम्ब, मेटाफोरको सही अनुवाद र अर्थ निकाल्न जरुरी छ । तब मुन्धुमको विशिष्टता अझै माथि उठ्नेछ ।
मेहेरमान लाबुङ र हर्कजङ कुरुम्बाङद्वयले सङ्कलन र सम्पादन गरेको तङ्सिङ मुन्धुममा केही विचलन भने आएको छ । ती विचलन भनेको हिन्दुकृत भएको किरात धर्मावलम्बीहरूले मानिल्याएको शब्द, वाक्य, देवीदेवता र विधिहरू पनि यो तङ्सिङ मुन्धुममा प्रकट भएका छन् । हामी मुन्धुमलाई कम्तिमा तीनहजार वर्षदेखि सातहजार वर्ष पुरानो मान्छौं । हिन्दुका पौराणिक वेदहरू पनि तीन हजारदेखि चारहजार वर्ष पहिलेको सेरोफेरोमा तयार भएको त भारतको हिन्दुहरूकै महापण्डित पाण्डुरङ वामन काणेले ‘धर्मशास्त्रका इतिहास’ भन्ने पुस्तकमा लेखिसकेका छन् । यस्तै ख्यातिप्राप्त इतिहासकार प्रोमिला थापरले पनि लेखेका छन् ।
तीनहजार वर्षअगाडि वा आसपास मुन्धुमको निर्माण भइरहँदा यो तङ्सिङ मुन्धुमको साम्जिक मुन्धुम अन्तर्गत स्वस्ती शान्ति गर्न अघि देउदेउता पुकार्ने मुन्धुममा भनिएको छ, सेजिना मुद्रा चिनासो मुद्रा, तिल्लिसो मुद्रा, नावाप्पा मुद्रा, आगारा मुद्रा रुम्बाछे मुद्रा, सामेन्जा मुद्रा गोरखा मुद्रा......।
चिनियाँ मुद्राको इतिहास निकै लामो छ । शाङ राजवंशको पालमा ईशापूर्व १५०० देखि १०४६ अर्थात् तीनहजार वर्षकै सेरोफेरोमा धातुको मुद्रा प्रचलनमा ल्याएको इतिहास छ । हुँदाहुँदा मुन्धुममा गोरखाको मुद्राको कुरा आएको छ । यो गोरखा भनेको पृथ्वीनारायण शाह अर्थात् करिब अढाई सय वर्षतिरको इतिहास हो । यसरी मुन्धुममा गोरखाको मुद्राको कुरा आउनासाथ यो मुन्धुम निर्माणको समय अढाईसय वर्षमात्र भएको भन्ने अर्थ लाग्छ । तर, यो यथार्थ होइन । गोरखाको मुद्रा यहाँ उच्चारण हुनु भनेको पछिल्ल्लो समयमा मुन्धुममा नयाँ विषय, पात्र र घटनाहरू थपिँदै आएका छन् भन्ने बुझिन्छ । अब मुन्धुमलाई मौलिक, यथार्थ, ऐतिहासिक र वैज्ञानिक रूपमा विश्वासिलो, सम्पूर्णताले परिपूर्ण बनाउन अर्को संस्करणमा थपिएका अनावश्यक घटना, पात्रलाई हटाएर सुधार्नु पर्छ । तङ्सिङ मुन्धुमभित्र बाह्रौं खण्ड छन् । लेखकद्वयले पुस्तक तयार गर्न करिब एकदशक समय खर्चेका छन् । तयार भएपछि युमा साम्यो महासभा नेपालले प्रकाशन गरेको हो ।