विराटनगर । मोरङको  १७ वटै स्थानिय  पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज सपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभाहलमा  सपथ ग्रहण गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत लम्सालले  निर्वाचित नगर प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा  सपथ खुवाएका हुन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत लम्सालले  निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्त भित्र रहेर काम गर्न आग्रह गरेका छन् ।

निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्न लम्सालले सुझाव दिएका छन् । सबैको साथ सहयोगले निर्वाचन सफल भएको उनले बताए । यसमा साथ सहयोग पुर्‍याउने सबैलाइ धन्यवाद पनि उनले दिए ।

सपथग्रहण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  पनि जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र जनप्रतिनिधि हिँड्नुपर्ने बताएका छन् ।  उनले जनताको मन जित्ने गरि कार्य सम्पादन गरिनुपर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठुलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्ने बताए । पाटिभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरु लागिपर्ने उनले बताए । 

कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमति इङनामले  जिल्लामा आफु एक्लै महिलाले प्रमुख भए पनि राम्रो गाउँपालिका चलाउने बताइन् । उनले जनताको मन जित्ने गरि सेवा प्रभाह गरिने बताइन् ।

आज सपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई सपथ ग्रहण गराउने कानुनी व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजै जिम्मेवारीसमेत सम्हालेका छन् ।

sapat

sapat3

sapat2

sapat5

sapat4

sapat1