धरानलाई लाल किल्ला ठान्ने एमाले र गठबन्धनले जित्छौँ भन्ने काङ्ग्रेस जस्ता ठूला र पुराना राजनीतिक दलका उम्मेदवारहरूलाई चमत्कारिक रूपमा पराजित गर्न सफल भूइँमान्छे तर, विद्रोही स्वभावका हर्कराज साम्पाङको एउटा सपना पूरा भएको छ । त्यो पूरा भएको सपना भनेको नगरपिता हो । चुनावी प्रचार अभियान चलिरहँदा अरू दलका उम्मेदवारहरू अनेक कार्यकता र दलबलका साथ घरदैलो गरिरहेका बेला उनी भने एउटा झोला च्यापेर तीन चक्के टेम्पो लिएर एक्लै चोकचोकमा भोट मागेका थिए । उनको पछाडि कार्यकर्ताको न झुण्ड थियो, न त कुनै भीड नै । तर, पनि उनले धरानको मेयर बन्ने सपना देखे अनि मेयर बनेपछि धराने जनताको अरू सपना पूरा गर्ने नीति अख्तियार गरे । अन्ततः उनी मेयर बन्न सफल भएका छन् । अब उनको काँधमा धराने जनताको सपना पूरा गर्ने जिम्मेवारी, दायित्व र भूमिकाको गह्रौँ भारी आइसकेको छ । धरानेहरूले धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, संस्कृतिको विकास भएको देख्न चाहन्छन् । भ्रष्टाचार, आर्थिक अनियमितता, कामचोर कर्मचारी, घुस्याहा, फटाहा, कमिसनखोरी, सेवाग्राहीलाई सास्ती दिने सरकारी कर्मचारीबाट मुक्त हुन चाहन्छन् । घरको धारामा नियमित खानेपानी आओस्, नागरिकता, जन्मदर्ता, राहदानी वा अन्य सामान्य सिफारिसका लागि जनप्रतिनिधि र कर्मचारीबाट दुःख नपाइयोस्, कर तिरेपछि सुविधा पनि पाइयोस्, धरानको प्राकृतिक दोहान रोकियोस्, कालोबजारी, कृत्रिम अभाव सृजना नहोस् भन्न चाहन्छन् । यस्ता अनगिन्ती समस्या समाधान गरेर धरानको भविष्य निर्माण गर्न यसअघि मतदाताहरूले दलीय उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरेर जिताएका थिए । तर, चित्त बुझ्दो काम हुनुको सट्टा विवादमात्र सिर्जना गरे ।
आफैले जिताएर जनप्रतिनिधि बनाएर पठाएकाहरूबाटै जनताले साना–साना समस्यामा पनि सास्ती खेप्नु प¥यो । तिनै सास्ती खेपेका विद्रोही धराने जनताले भोटमार्फत् विद्रोह गरेर अर्का स्वतन्त्र विद्रोही उम्मेदवार साम्पाङलाई मेयरको कुर्सीमा बसाएका छन् । यो विद्रोह जनताको राजनीतिक दलको कार्यशैली, नेता कार्यकर्ताप्रतिको अविश्वासले उब्जिएको वितृष्णा र असन्तुष्टिको नतिजा हो । चुनाव जित्न दलहरू र तिनका उम्मेदवारहरूले आर्थिक, भौतिकदेखि साम, दाम, दण्ड, भेद सबै लागू गरे पनि एक्ला साम्पाङको अगाडि फिक्का भए । विद्रोह र असन्तुष्ट नागरिकको प्रतिनिधि पात्रका रूपमा साम्पाङ उदाउँदै सिङ्गो उपमहानगरपालिकाको नगरपिता बनेका छन् । उनले अब कसरी जनतालाई नगरपालिकाले दिने सेवा सुविधा चुस्त दुरुस्त रूपमा दिनेछन् त्यो हेर्न भने बाँकी छ । उनी ‘एक्सन ओरिएन्टेड’ व्यक्ति भएकाले जनताले रुचाएका हुन् । उनको एक्सनलाई कार्यपालिका सदस्यको रूपमा पुगेका एमाले, काङ्ग्रेस, राप्रपा र माओवादी केन्द्रका बहुमत वडाध्यक्ष, वडासदस्यहरूले कति साथ दिन्छन्, त्यो पनि हेर्न बाँकी छ । केन्द्रबाट बजेट अति कम मात्र पाउने गरेको समय २०५४ को निर्वाचनमा प्रमुख भएका मनोज मेन्याङ्बो र ०७४ मा मेयर भएका तारा सुब्बाले तयार पारेको धरानको विकास निर्माणको दीर्घकालीन विकासको नीतिलाई पछिल्ला जनप्रतिनिधिहरूले खासै निरन्तरता नदिएर अलमलिए । अहिले केन्द्रीय र प्रादेशिक सरकारबाट पहिलेको तुलनामा कैयौँ गुणा बढी बजेट आउने गरेको बेलामा समेत अलमलिएर समय गुजारे । कोरोना महामारीलाई बहाना बनाए । त्यसैको नतिजा सबै योजनाहरू अधुरो, अपुरोमात्र भयो ।
खानेपानी आयोजना, बसपार्क, सर्दु सेउती करिडोर, खहरे नियन्त्रण, विजयपुर बृहत्तर विकास योजना, धरान हवाई मैदान, जनजाति सङ्ग्रहालय, अधुरो रह्यो । धरानका जनप्रतिनिधि भएकैले प्रमुख र उपप्रमुख दुई दुईजना सिनेट सदस्य हुँदा पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालत झन् झन् बिग्रियो । नगर अस्पतालको अवधारणा हरायो । सुकुम्बासी समस्या जस्ताको तस्तै रह्यो । नगरपालिका, बीपी प्रतिष्ठान र खानेपानी आयोजना अयोग्य असक्षम, आफन्त र कार्यकर्ता भर्ती केन्द्र मात्र बने । भूइँमान्छेबाट नगरपिता बनेका विद्रोही स्वभावका साम्पाङले विवेक प्रयोग गरेर विद्रोही मानसिकतालाई जनताको भलोका लागि परिणाममुखी नतिजा दिने चुनौती पनि थपिएको छ ।