पछिल्लो समयमा बलात्कारको घटना भोग्ने पीडित महिलाहरूले मुखर भएर बोल्न थालेका छन् । आफूले भोगेका पीडा र घटनालाई बाहिर ल्याउने महिलाहरूको सङ्ख्या विस्तारै बढेको छ । कलाकार पल शाह र एक नाबालिग गायिकाबीचको काण्ड अदालतमा किनारा लाग्न नपाउँदै अहिले सौन्दर्य प्रतियोगितासँग जोडिएकी एक युवती (उनकै भनाइअनुसार बलात्कृत हुँदा १६ वर्षकी थिइन्) ले आफूलाई आयोजक मनोज पाण्डेले ६ महिनासम्म बलात्कार गरेको भिडियो सार्वजनिक गरिन् । हाल २४ वर्ष पुगेकी ती युवतीले आफूलाई बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेसंँगै मुलुकका विभिन्न जिल्लाका अन्य युवतीहरूले पनि नाबालिग हुँदा बलात्कृत भएको भनेर सार्वजनिक गर्न थालेका छन् । सामाजिक सञ्जाल र मिडियाहरूमा बलात्कारका घटनाबारे हेर्दा यस्तो लाग्न थालिसकेको छ कि देशै बलात्कारमय भएको छ । महिलाहरू विद्यालय, क्याम्पस, अस्पताल, प्रहरी र सैनिक कार्यालयमा पनि सुरक्षित नभएको देखिएको छ । कतिसम्म भने आफ्नै बाबु, दाजु, काका, मामाबाट बलात्कृत भएका समाचारहरू पनि आइरहेका छन् ।

हरेक चोक, गल्ली, खेत, सार्वजनिक क्षेत्र, यातायातदेखि समाज, परिवारमा बलात्कारी पुरुषहरू मात्र पो छन् कि भन्ने भान परिरहेको छ । हुन त यसअघि पनि नेपालमा हरेक दिन ४ जना महिला बलात्कृत हुने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । तर, सोहीअनुसार बलात्कारका घटना प्रहरी प्रशासनमा उजुरी दर्ता गरेको भने पाइएको छैन । यसको अर्थ बलात्कारका अधिकांश घटना लुकाइन्छ, दबाइन्छ, पीडित र पीडकबीच बिचौलियामार्फत् मिलापत्र गराइन्छ भन्ने लाग्छ । अत्यन्तै कमै महिलाले मात्र घटनालाई सार्वजनिक गर्ने साहस देखाउने गरेका छन् । सेलिब्रेटी टाइपका व्यक्तिको बलात्कार घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौंमा दैनिक थरिथरिका प्रदर्शनहरू पनि हुन थालेका छन् । सामाजिक सञ्जालमा पूर्व मिस नेपाल माल्भिका सुब्बादेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अभद्र र अश्लील गालीको वर्षा भएका पनि छन् ।

पीडक पुरुषमाथि सामाजिक सञ्जालमार्फत् सोझै आक्रमण गर्नुको सट्टा आफ्नो भ्युअर्स, फलोअर्स, लाइकर्स, शेयर र कमेन्ट बढाएर रातारात ‘भाइरल’ हुने लालच पनि बढेको पाइएको छ । ‘पीडितको साथमा पनि छु’ भन्ने ह्याट्सट्याग गरेर त्यसैलाई प्रयोग गरेर गैर व्यक्तिलाई, महिलालाई नै अश्लील गालीले मानमर्दन गरेर क्याप्सन लेख्ने, कमेन्ट लेख्ने अनि आफू रातारात भाइरल बन्ने माध्यम बनाउने गरेबाट पीडितको पक्षमा गरिएको यस्ता ‘क्याम्पेन’ सर्वसाधारणलाई कति वास्तविक र कति अवास्तविक हो छुट्याउन गाह्रो भइरहेको छ । पीडक पुरुषले दण्ड, सजाय हदैसम्म पाउनु पर्ने भनेर माग राख्ने अरू नै रचनात्मक तरिका र शैली छन् तर, सामाजिक सञ्जालमा दबावका नाममा ‘जे पनि बोल्दा र लेख्दा हुन्छ’ भन्ने उपाय अख्तियार गरेको देखिन्छ । एकजना बलात्कृत (पीडित) युवतीले सामाजिक सञ्जालमा अश्लील गालीको भ्वाइस ओभर गरेर माझी औंला देखाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनलाई माया र सहानुभूति देखाउनेभन्दा उल्टै नराम्रो गाली गर्नेहरू देखिएबाट न्यायका लागि सहयोग माग्ने र साथ दिने चाहना राख्नेहरूले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील हुनुपर्ने जरुरी देखिन्छ ।