बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा तेस्रो मासिक काव्यसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता, गजलकार दिलिप घिमिरेको प्रमुख आतिथ्य, संस्थापक संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठ र मनिता श्रेष्ठको विशेष आतिथ्यमा मासिक काव्यसभा भएको थियो ।

प्रमुख अतिथि गजलकार दिलिप घिमिरेले पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण निराकार सुवेदीले स्वागत गरेका थिए भने संस्थाका पूर्व सचिव दिवङ्गत स्रष्टा एवम् पत्रकार डिकमान विरहीले रचना गरेको साहित्य चौतारीको स्वागत गीत संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र रक्षा तिम्सिनाले गाएर सहभागीलाई स्वागत गरेका थिए ।

काव्यसभामा प्रखर कवि अभागी थेगुवाले विशेष प्रस्तुति अन्तर्गत पाँचवटा कविता प्रस्तुत गरेका थिए । कवि शिवप्रसाद अधिकारी इलामे जेठोले मुक्तक, विवस वलिभद्र कोइराला, सविन सिटौलाले गजल, तुलसीप्रसाद निरौला, प्रमोद दाहाल, मीना अधिकारी, एनबी दाहालले कविता वाचन गरेका थिए ।

त्यसैगरी इन्दिरा कुसुम, रक्षा तिम्सिना, समिर खरेल, हरिप्रसाद काफ्ले, युवराज पोर्तेल, वेदमाया सुवेदीले गीत गाएका थिए भने सरगम सङ्गीत विद्यालयकी मनिषा भट्टराईले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । संस्थाका संस्थापक सल्लाहकार गायक, गीतकार, सङ्गीतकार स्व. मदन दीपविमको तेस्रो श्रद्धाञ्जलि सभा गरिएको थियो भने गायक तथा सङ्गीतकार गोपाल योञ्जनको समेत सम्झना गरिएको थियो ।