धरान । पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज बेलायतले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

पुरस्कारको राशि नेपाली एक लाख रूपैयाँसहित ताम्रपत्र रहनेछ । पुरस्कार नेपालमै एक कार्यक्रमका बीच हस्तान्तरण गरिने बताइएको छ । नेम्वाङ ४० वर्षदेखि राजनीति र साहित्यमा सक्रिय व्यक्तित्व हुन् । उनले तत्कालीन समयमा फक्ताङ्लुङ निसामहिममार्फत् मातृभाषाको पठन–पाठनमा सक्रिय भूमिका खेलेका थिए ।

सो काम गरेबापत उनीसहित अन्य सहयोगीलाई राज्यले पक्राउ गरेको थियो । त्यसको केही वर्षपछि सन् १९८६ मा उनले लिम्बुवान मुक्ति मोर्चा नामक राजनीतिक सङ्गठन स्थापना गरेका थिए । उनले नेपाली, अङ्ग्रेजी र याक्थुङ भाषामा गरी दर्जन कृतिसमेत प्रकाशित गरेका छन् ।

प्रत्येक तीन–तीन वर्षमा प्रदान गरिने पुरस्कारका लागि समाजले दश लाखको अक्षयकोषसमेत स्थापना गरिसकेको छ । उपाध्यक्ष दिल इङ्वारमको संयोजकत्वमा कोषका लागि रकम सङ्कलन कार्यक्रम पनि अघि बढिरहेको महासचिव लाहाङ चेम्जोङले बताए ।

गतवर्ष काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित भएको थियो । पुरस्कृत हुने व्यक्तित्वको सन्दर्भमा राजनीति, भाषा, संस्कृति, इतिहास, कलालगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू समेटिने समाजले जनाएको छ ।