इटहरी–४ अर्थात् मेरै वडा हुँदै इटहरीमै मुहान भएको इटहरीको रैथाने खोला ट्याङ्ग्रा बग्छ । वर्षात्को समयमा मात्रै अलि अराजक हुने ट्याङ्ग्रा मूलतः अरू सबै समयमा भलाद्मी हुन्छ । यो भलाद्मी खोलाको भलाद्मीपनको धेरैले दुरुपयोग गरेका छन् । कसैले ढल हालेका छन् । कसैले मलमूत्र खन्याएका छन् । घरेलु फोहोरमैलाको मुकाम ट्याङ्ग्रै पारिएको छ । ट्याङ्ग्राको जग्गा मिचेर आफ्ना घर बनाउनेको त लर्कै छ । समस्या मान्छेमा छ; देखाइन्छ खोलालाई । यो सबै हेर्नेहरूमा एक बबुरो दर्शक म थिएँ । म मात्रै थिइनँ, इटहरीका सेचतजनहरू पनि थिए । युवाहरू थिए । आम मान्छेहरू थिए ।
ट्याङ्ग्राको व्यवस्थापन भन्नासाथ सडक बनाएर खोला मिच्ने कुरामा धेरै वातावरणका पारखीजस्तै मलाई पनि आपत्ति छ । ट्याङ्ग्राको व्यवस्थापन भन्नासाथ म्यादी सरसफाइ कार्यक्रम बारेमा धेरैलाई जस्तो मलाई पनि दीर्घकालीन समाधान लाग्दैन । अब के गर्ने त ? कि कसैले भनेजस्तो ट्याङ्ग्रालाई डाइभर्सन गरेरै अन्त मोड्ने ? वा त क्रमशः सुक्दै गएको ट्याङ्ग्राको पानीलाई निमिट्यान्न हुने संरचना बनाउने ? यी सबैको विमतिले ट्याङ्ग्राको बहाव जोगाउने, पानी बढाउने, फोहोर अन्त्य गर्ने र मिचाइ कम गर्ने सबैको भावनात्मक सम्बन्ध बनाएर पैसा पनि कमाउने तरिका सोच्ने क्रममा आएको अवधारणा हो–ट्याङ्ग्रा जलविहार । एक पत्रकार भएकोले मैले यो मुद्दा आफ्नै क्षेत्रबाट बजारमा बहसमा ल्याए । २०७३ असार १४ गते धरानबाट प्रकाशन हुने प्रदेश १ को ब्रोडसिट दैनिक ब्लाष्टमा आफ्नो अवधारणा राखेँ ।
‘इटहरीमा सिटी ¥याफ्टिङको सम्भावना’ शीर्षक दिइएको मेरो लामो लेखले इटहरीमा जलविहारको पक्षमा कुरा गरेको छ । इटहरीको मुख्य बजार क्षेत्र भएर आउने ट्याङ्ग्रा खोलामा जलविहार गरेर यसको मुहान तालतलैयासम्म पुग्न सकिन्छ भन्ने तर्क मेरो आलेखमा आएको थियो । विश्वमा कृत्रिम नदीहरू समेत बनेको अवस्थामा प्राकृतिक खोलालाई व्यवस्थापन गरेर आयआर्जनदेखि पर्यटन प्रवद्र्धन हुने जलविहार सम्भव छ । तर, त्यसमा लगानी आवश्यक छ भन्ने मेरो आलेखको तर्क थियो ।
जलविहार गर्न आवश्यक ३० फिट चौडाइ र ५ फिट गहिराइ पानी जमाउन सम्भव हुने मेरो तर्क थियो । मेरो तर्क कुनै भावनात्मक कुरा थिएन । विश्वका जलविहारका संरचना बनाउन आवश्यक पूर्वाधारको आधारमा गरेको तर्क थिए । ब्लाष्टमा आलेख आएपछि मलाई मेरो वृत्तका साथीहरूले ट्याङ्ग्रा सफाइदेखि सडकका कुरा आएकोमा योभन्दा भिन्न यो नयाँ कुरा आएको भनेर हौसला दिए । कतिले यो सम्भवै नहुने विदेशको जस्तो देखेर नहुने निराशा व्यक्त गरे । उनीहरूको निराशा ट्याङ्ग्रा जलविहार असम्भवभन्दा पनि राजनीतिक नेतृत्वको कारणले सम्भव नहुने मेगा प्रोजेक्ट भएको तर्क थियो । खैर, सकारात्मक वा नकारात्मक जे होस्; इटहरीमा ट्याङ्ग्रा जलविहारको मुद्दा एक कोणमा इटहरीमा मेरो वृत्तको एक चलेको मुद्दा बन्यो । यो मुद्दा मिडियामा आएको मुद्दामै सीमित भएन । राजनीतिक दलहरूले पनि आफ्नो घोषणा–पत्रमा राख्न थाले । नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनावी प्रतिबद्धता–पत्रमा राख्यो । इटहरीको वडा नम्बर ४ को नेकपा (एमाले)को प्रतिबद्धता–पत्रमा पनि यो मुद्दा आयो ।
२०७४ असार १४ गते भएको चुनावी प्रतिबद्धता–पत्र वडा नम्बर ४ ले प्रतिबद्धता–पत्रमै सीमित राखेन । इटहरी वडा नम्बर ४ क्षेत्रमा जलविहारको बारेमा अध्ययन गर्न एक समिति बनायो । पाँच सदस्यीय समितिका अध्यक्ष डिकबहादुर राई (डिबी) थिए भने सदस्यहरूमा मलगायत पत्रकार शेखर ढकाल, सुनिल कार्की र होमनाथ धमला समेटिएका थियौं । समिति २०७४ असोज ६ गरे बनेको थियो । पाँच सदस्यीय टोलीले इटहरी तरहरामा रहेको तत्कालीन रिभर डिप ¥याफ्टिङका सञ्चालक सुरेश बस्नेत र उनका प्राविधिकहरूसँग सल्लाह ग¥यो । सल्लाह पछि र्याफ्ट चल्न न्यूनतम् एक फिट गहिरो र चार मिटर चौडाइको पानी भएको खोला पायक हुने बताए । बस्नेतसँगको छलफलले परीक्षण गर्ने सहमति भयो ।
परीक्षण इटहरी–४ को फलामे पुलदेखि इटहरी–४ कै बाँधसम्म सञ्चालन भएको थियो । वडाध्यक्ष चन्द्र भट्टराईसहित सम्पूर्ण वडाका जनप्रतिनिधि टोलीदेखि इटहरीका चर्चित सामाजिक, साहित्यिक तथा सञ्चार क्षेत्रमा व्यक्तित्वहरूको उपस्थितिमा जलविहार भएको थियो । दुई वटा ¥याफ्टमा सहज भएको जलविहारले धेरैको ध्यान तान्यो । आधा किलोमिटर हाराहारी क्षेत्रमा भएको जलविहार क्रमशः इटहरीको करिब पाँच किलोमिटर लामो खोलामा हुन सकिने सम्भावना २०७४ असोज ७ गतेको परीक्षणले नै प्रमाणित गर्यो ।
नेपालका विभिन्न प्रादेशिकदेखि राष्ट्रिय समाचारहरूले इटहरीमा सफलतापूर्वक सञ्चालन भएको जलविहारको समाचार पस्किए । इटहरीमा कसरी त्यो सम्भव भयो भन्ने चर्चा इटहरीमै भयो । तर, जब जलविहारको भिडियो सार्वजनिक भयो तब धेरैले सम्भव हुने लख काटे र, आज इटहरीमा जलविहारको मुद्दा व्यावसायिक कार्यान्वयनमा नगए पनि आम चासोको ड्रिम प्रोजेक्टको रूपमा भने रहेको छ । अहिले नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनको घोषणा–पत्रको पर्यटन शीर्षकको एक नम्बर बुँदामा यही मुद्दालाई बोकिएको छ ।
ट्याङ्ग्रामा लगानी मात्रै हैन; आम्दानी पनि गर्न यो परियोजनालाई ट्याङ्ग्रा खोलाको मुहान तालतलैयादेखि इटहरी बजार क्षेत्रसम्म दुईतिर सुन्दर वातावरणमैत्री पैदलपथ, बगैँचा, फलैँचादेखि ब्रीज क्याफेसम्मका अवधारणाहरू आएका छन् । यसमा इटहरी स्थानीय सरकारले स्तरीय विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएर उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा सङ्घ सरकार तथा विभिन्न दाताहरूसँग लान सक्छ । करोडौं आन्तरिक आम्दानी र २ लाख बढी जनसङ्ख्या भएको इटहरी उपमहानगर नेतृत्वले चाहेको अवस्थामा यो परियोजना सम्भव छ । अहिले इटहरी नजिकै नेपाली इन्जिनियरहरूले केही लाखमै मोटर बोटहरू बनाएर बिक्री गर्न थालेका छन् । उनीहरूले बनाएका जेटबोटहरू सप्तकोसीमै चल्न थालेका छन् ।
त्यो मोटरबोटिङ प्याकेज ट्याङ्ग्रामा दिन सकिन्छ । २०७५ साउन १२ मा प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईले तालतलैयामा मोटरबोट उद्घाटन गरेका थिए । त्यही मोटरबोट तालतलैयाबाट ट्याङ्ग्राको बोटबाटै इटहरी बजार क्षेत्र ल्याउन अबको पहल र पूर्वाधार हुनुपर्छ । प्रदेश १ को चर्चित घुमफिर क्षेत्र तालतलैया मुहानबाट इटहरी बजार क्षेत्रसम्म आउने भएकोले ट्याङ्ग्राको मोटरबोटिङको व्यावसायिक भविष्य पनि छ । मात्रै यसको अध्ययन, पूर्वाधार र विकास आवश्यक छ । जसरी कुनै एक–दुई मेगावाट बिजुली उत्पादनका लागि जग्गा व्यवस्थापन, अध्ययनदेखि पूर्वाधार विकासका काम हुन्छन्; त्यही शैलीमा इटहरीको ट्याङ्ग्रा जलविहारको काम गर्न सकिन्छ । नेपालमा लुम्बिनीमा यस्तै खालको परियोजना सफल भइसकेको छ ।
यदि इटहरीले पनि यो सफल पार्ने हो भने इटहरी सहरी जलयात्रा हुने प्रदेश १ को प्रथम सहर हुनेछ । यसले इटहरीको पहिचान पर्यटनदेखि आम्दानीमा समेत सकरात्मक असर गर्नेछ । इटहरीले विश्वको उत्कृष्ट सपिङको अनुभव दिने गोरखा डिपार्टमेन्टदेखि भाटभटेनी पाएको छ । इटहरीले अब जलविहारका क्षेत्रमा यस्तो विश्वस्तरीय परियोजना दिनलाई ट्याङ्ग्रा जलविहार एक गेम चेन्जर परियोजना बन्न सक्छ । त्यो बन्न सक्ने सम्भावनाको झिल्को वडा नम्बर ४ ले बालिसकेको छ ।