सडक बनाउने ठेक्का पाएपछि पनि वर्षका १० महिना केही नगर्ने अनि जब आर्थिक वर्ष सकिन लाग्यो भन्ने लागेपछि हतार हतार लतरपतर काम गर्न खोज्ने ठेकेदारहरूको नियत विराटनगर महानगरपालिकाका केही सडक निर्माणका दृश्यले देखाएका छन् । ठेकेदारले सम्झौताअनुसार तोकिएको समयमा सडक निर्माण कार्यलाई निरन्तरता नदिँदा सडकमा झार पलायो । आर्थिक वर्ष सकिन लागेपछि त्यही झारमाथि रड बिछ्याएर सडक निर्माण गर्न खोज्नु भनेको ठेकेदारको चरम लापरबाही हो । विराटनगर महानगरपालिकालाई देशको दोस्रो राजधानी पनि मानिन्छ । प्रदेशको राजधानी त हुँदै हो । राजधानीको इज्जतलाई दाउमा राखेर कमाइखान पल्केका सडक निर्माण गर्ने ठेकेदारहरूले झन् बेइज्जत गर्न खोज्नु बराबर हो, झारा टार्ने काम । महानगरको  पारिजात मार्ग, शान्तिनगर टोल दक्षिण नाला र गणेशमार्ग सडक ढलान विस्तार गर्न लाखौं रुपैयाँको ठेक्का लागेको थियो । सम्झौताअनुसार कामलाई तीव्रता नदिएर वर्षभरि चुपचाप बस्ने अनि समय सकिन लाग्दा हतार हतार उपभोक्ताको आँखामा छारो हाल्दै झारै झारले भरिएको सडकमा रड बिछ्याएर ढलान गरी बजेट हजम गर्न खोज्ने ठेकेदारलाई माफी होइन, उपमहानगरपालिकाबाट अबदेखि कुनै पनि ठेक्का नपाउने गरी कालोसूचीमा राख्नु पर्छ ।

सडकमा पलाएको झार खुर्केर फाल्नसमेत जाँगर नदेखाउने ठेकेदारले अरू सडकहरू पनि गुणस्तरीय पक्कै बनाएन । बढीभन्दा बढी नाफा कमाउनका लागि गुणस्तरहीन सामग्री प्रयोग गर्ने, कमसल रड हाल्ने र ढलान पनि कमजोर बनाउन खोज्नुले ठेकेदारको नियत सफा देखिन्न । स्थानीय उपभोक्ताले बेलैमा देखेर ठेकेदारको निर्देशनमा कामदारले झार उम्रिएको सडकमाथि रड बिछ्याएर ढलान गर्ने तयारी गरेको कार्य रोकियो । सामाजिक सञ्जालमा झार पलाएको सडकमाथि रड बिछ्याएर ढलान गर्ने तयारीको फोटो र भिडियो भाइरल भएपछि सडक निर्माणको जिम्मा पाएका ठेकेदार नुर मोहम्मदलाई जनप्रतिनिधिहरूले गुणस्तरीय ढलान नगरे भुक्तानी रोक्का गरिदिने चेतावनी पनि दिएका छन् । हुन त महानगरपालिकाका योजना महाशाखाका प्राविधिक, इन्जिनियर, सव–इन्जिनियरहरूले नियमित अनुगमन गर्नुपर्ने हो । ठेक्का लागिसकेपछि सहरका कुन कुन निर्माणाधीन सडकमा कस्ता–कस्ता सामग्रीहरू ठेकेदारले प्रयोग गरिरहेको छ, तोकिएको समयमा निर्माण कार्य सक्छ कि सक्दैन, निर्माण कार्यमा ढिलाइ गरे किन ढिलाइ भएको हो, तोकिएको मापदण्डअनुसार काम गरिरहेको छ कि छैन आदि र यस्ता सामान्य प्रश्नका उत्तर खोज्न सक्नुपर्ने हो तर, प्राविधिक पक्ष पनि यसमा चुकेको देखिन्छ ।

ठेकेदारले गरेको गल्तीको आधा भागीदार महानगरका प्राविधिक इन्जिनियर, सव–इन्जिनियर पनि हुन् । ठेकेदारलाई भन्दा बढी सडक हेर्ने प्राविधिकहरूलाई थाहा हुन्छ, झार पलाएको सडकमा रड बिछ्याएर ढलान गर्दा त्यो सडकको आयु कति हुन्छ भनेर । तर कमिसन, मिलोमतो आदिका कारण ठेकेदारलाई दबाव दिन हच्किन्छन् प्राविधिकहरू । गुणस्तरहीन सडक निर्माण गर्ने ठेकेदारहरूलाई कारबाही गर्ने र उत्कृष्ट सडक निर्माण गर्नेलाई सम्मान र पुरस्कृत गर्ने परिपाटीको सुरुवात पनि महानगरले गर्नसके गुणस्तरहीन सडक बनाउन खोज्नेहरू निरुत्साहित हुन सक्छन् ।