धरान १६ स्थित नबोदय प्लस टु तथा युएन कलेजले प्रदेश १ स्तरीय युएन सेफ कम्पिटिसनको आयोजना गर्ने  भएको छ । विगत १० वर्ष  देखि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको  सन्दर्भमा कलेजले यस वर्ष देखी प्लस टु लेबलका होटेल म्यानेजमेन्टका विद्यार्थीहरूलाई लक्षित गरी  युएन सेफ प्रतियोगिताको आयोजना गर्ने भएको कलेजका प्रमुख डम्बर तुम्बहाम्पोले एक पत्रकार सम्मेलन गरी बताएका छन् । 

देशमा व्याप्त शैक्षिक बेरोजगारीको अवस्थालाई मध्यनजर गर्दै रोजगार मुखी व्यवहारिक र आत्म निर्भर बनाउन सक्ने  शिक्षाको रूपमा रहेको होटेल म्यानेजमेन्टलाई प्रदेश १ भरी स्थापित गर्न सफल भएको भन्दै हस्पीटालीटी इन्डस्ट्री र पर्यटनको प्रवर्द्धनका लागी पनि युएन सेफ कम्पिटिसनको आयोजना गर्न लागेको बताएका छन् । 

प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत हेटलम्यनेजमेन्टका विद्यार्थीहरूले भाग लिन सक्ने जानकारी गराएका तुम्बहाम्पोले  प्रतियोगितामा  प्रत्येक कलेजबाट एक समूहमा २ जना रहने गरी अधिकतम २ वटा समूहले भाग लिन पाउने बताएका छन् । 

प्रतियोगिताको विजेताले नगद एक लाखका साथै बीएचएम अध्यायनकालागी छात्रवृत्ति, पुरस्कार तथा ट्रफी प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद पचास हजार बराबरको पुरस्कार र छात्रवृत्ति र तेस्रो हुनेले नगद तीस हजार बराबरको पुरस्कार र छात्रवृत्ति प्राप्त गर्ने तुम्बहाम्पोले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा कलेजका होटेल म्यानेजमेन्ट कोडिनेटर गगन मान श्रेष्ठले होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीहरूले आफूले पढेका र सिकेका सिप र ज्ञानको प्रदर्शन गर्ने थलोको रूपमा  युएन सेफ कम्पिटिसन साबित हुने बताएका छन् ।  उनले मानवीय संसाधनलाई यस क्षेत्रमा पनि परिचित गराउन तथा  पर्यटन क्षेत्रको विकार र प्रवर्धनका साथै यस षेत्रमा अध्ययनरत विद्यार्थीहरूको सिपको विकास र विस्तारका लागी पनि यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । 

नबोदय प्लस टु तथा युएन कलेजले विगत एक दशक अघि देखि होटेल म्यानेजमेन्टमा प्लस टु तथा वीएचएम लगायत विभिन्न कक्षाहरू सञ्चालन गर्दै आएको छ ।