पर्यटन समृद्धिको आधार हो । यसमा अब हामी कसैको शङ्का छैन । कोभिडपछिको हाम्रो आर्थिक अवस्था र वर्तमान मुलुकको खराब आर्थिक सङ्कटले पनि हामीले पर्यटनलाई मुख्य आधार बनाउनै पर्ने रहेछ भन्ने देखाएको छ । मुलुक क्रमशः आयातमुखी मात्र भइरहेको छ । विप्रेषण र वैदेशिक सहायता अनि ऋणको रकमको सबै हिस्सा हामी आयात गर्नमै खर्चिरहेका छौं । यो परिस्थितिमा मुलुकमा आर्थिक गतिविधि चलायमान गराउन र वैदेशिक मुद्रा आर्जन गर्नका लागि पर्यटन नै दिगो आधार बन्न सक्ने आँकलन गरिन्छ । पर्यटनको तल्लो तहका जनतादेखि ठूला लगानीकर्ता र मुलुकले एकैचोटी प्रत्यक्ष उपलब्धि लिन सक्ने भएकोले अनि स्वरोजगार बढ्न सक्ने र विदेशिने क्रम घट्दै जाने हुनाले पनि हामी सबैले पर्यटनलाई अब आम चासो, मुख्य लक्ष्य र आम्दानीको स्रोत बनाउनुपर्ने बारे क्रमशः कार्य गर्दै जानुपर्ने देखिन्छ ।
विषय प्रवेशः
इटहरी एउटा कृषि क्षेत्र हँुदै आज बसोबासको उत्तम थलो बन्न पुगेको छ । दुइटा राजमार्गले सहरको बीचबाट चिरेर गएका कारण र वरिपरि ठूलो जनघनत्व बढ्दै गएपछि यो सहरले आफूलाई ट्रेड सिटी र आर्थिक सहरका रूपमा परिचित गराएको छ । नजिकका ठूला सहरको व्यापारलाई यसले आफूतर्फ तान्न सफल हँुदै गएको देखिन्छ । यहाँका युवाहरूमा व्यावसायिक अवधारणा अन्यत्रको तुलनामा बढी देखिएको छ । बसाइसराइ बढेका कारण स्थानीय युवाहरू घरजग्गाको कारोबारमा लागेर आर्थिक विकास गरेका छन् तर, त्यो दिगो नहुन सक्छ । त्यसैले उनीहरूमा भएको व्यावसायिक सीप र लगानीयोग्य क्षमतालाई पर्यटनतर्फ आकर्षित गर्न सकेको खण्डमा उनीहरूको व्यावसायिक पेशा दिगो बन्ने र इटहरीले पर्यटनको क्षेत्रमा पनि आफूलाई दरिलो गरी उभ्याउन सक्छ भन्ने अवधारणाका साथ यो कार्यपत्र प्रस्तुत गरिएको छ ।
विगतः
उत्तरमा घना जङ्गल र वरपर विशाल फाँटहरू भएको इटहरी राणा शासनकालदेखिकै खेतीका लागि उर्वर भूमि थियो । यहाँका आदिवासी थारुहरूले यो भूमिलाई समुन्नत बनाएर राखेका थिए । उनीहरू इँटा बनाउन र पकाउनमा पोख्त थिए । वरिपरि काठ हुने र इँटा बनाउने सीप भएका कारण नै यसको नाम इँटा र काठ जोडिएर इटहरी बनेको बूढापाका बताउँछन् । कालान्तरमा विस्तारै पहाडे समुदायको बसोबास बढ्दै गयो । हिजोको खेत र सानो गाउँ मात्र रहेको यो स्थान अहिले नेपालकै ११ वटा उपमहानगरमध्ये एक उत्कृष्ट उपमहानगरपालिका बनेको छ । यसको पछिल्लो विकासको क्रम अत्यन्त द्रुत गतिमा छ । अब आवश्यकता भनेको यसको आधुनिकीकरण, सम्पन्नता र सबल बन्ने गति पनि यही शैलीमा हुनु पर्नेछ ।
पहिचानः
राणा शासनमा दण्ड सजाय दिने ठाउँका रूपमा पहिचान बनाउँदै उर्वर खेती हुने स्थानबाट माथि उठेर आज यो सहरले आर्थिक सहरको रूपमा पहिचान बनाएको छ । त्यति मात्र हैन, आधुनिक कलाको क्षेत्रमा गएको दुई अढाई दशकमा यसले पूर्वको नेतृत्व गर्ने सामथ्र्य निर्माण गरेको छ ।
आज पूर्वक्षेत्रमा जति मूर्तिकला, चित्रकलाको व्यापकता छ; त्यसको जग इटहरीको काव्यवाटिका हो भन्दा फरक पर्दैन । कुनै बेला यहाँका युवालाई कलामा अग्रसर गराउने विचार प्रबल भएको थियो । समयान्तरले युवाहरू आर्थिक विकासमा अग्रसर भए । अब समय अगाडि बढेको छ, पर्यटनमा व्यापक लगानी भएको छ । अब युवाहरूलाई पर्यटनको क्षेत्रमा अग्रसर गराउन नेतृत्वकर्ताहरूको ध्यान पुग्न जरुरी छ ।
आजको पहिचानमा अर्काे पहिचान थप्न जरुरी छ । इटहरीलाई पर्यटनको सहरका रूपमा परिचित गराउने मार्गमा लैजानुपर्ने अबको आवश्यकता बनेको छ ।
पर्यटनका आधारभूत तत्वहरूः
(१) आकर्षक गन्तव्य
(२) पहुँच
(३) पूर्वाधार
(४) नागरिकको सक्रियता (पर्यटनमैत्री नागरिक)
इटहरीको पर्यटनः
इटहरीलाई पर्यटनको गन्तव्य बनाउने भन्दा पनि पर्यटनको ‘हब’ बनाउन सकिने देखिन्छ । गन्तव्यका लागि आवश्यक प्राकृतिक र मानवनिर्मित आकर्षण हुन जरुरी छ र यो इटहरीमा भए तापनि त्यसले पर्यटकलाई लामो समय बिताउन सक्ने तत्काल देखिँदैन । तर, इटहरीलाई पर्यटनको केन्द्रबिन्दु बनाएर यहाँबाट वरिपरिका क्षेत्र बिक्री गर्न सकेको खण्डमा पैसा जति यहाँ जम्मा हुने र भ्रमण गर्ने स्थान चाहिँ वरिपरि बन्ने देखिन्छ । त्यसका लागि पर्यटनमुखी व्यवसायमा युवाहरूलाई अग्रसर गराउन जरुरी छ ।
इटहरीको पर्यटनको सबल पक्षः
(१) मुख्य ट्रान्जिट
(२) ट्रेड सिटी
(३) स्कुल एजुकेशन हब
(४) पर्यटनमैत्री समाज
(५) प्रतिस्पर्धी बजारभन्दा अगाडि
(६) पूर्वाधारमा बढ्दो लगानी
(७) चारैतर्फ बेच्न सकिने गन्तव्य (धरान, भेडेटार, वराहक्षेत्र, कोसीटप्पु, कन्याम)
(८) पुरानो नकारात्मक छविमा सुधार
(९) कलाको केन्द्र
(१०) खेलकुद पूर्वाधारमा बढोत्तरी
(११) पानीमा आधारित पर्यटन पूर्वाधार (तालतलैया, इपिलैण्ड, गोकुलम, ओशियन पार्क)
(१२) प्राकृतिक र मानवनिर्मित पूर्वाधार बढ्दो
(१३) वरिपरिको जनघनत्व
(१४) स्थानीय मठमन्दिर आदि ।
कमजोर पक्षः
यथेष्ट लगानी, बलियो पूर्वाधार, युवाहरूमा व्यावसायिक इच्छाशक्तिलगायत हुँदाहुँदै पनि इटहरीको पर्यटनमा केही कमजोर पक्षहरू पनि छन्, जसलाई सुधार गर्न सकिन्छ र सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।
(१) आर्थिक समृद्धिको आधार तय हुन नसक्नु
(२) पर्यटनलाई नगरको मुख्य पेशा बनाउने सङ्कल्पको अभाव
(३) बिक्रीयोग्य (मार्केबल) साइनको अभाव÷मुख्य आकर्षणको अभाव
(४) कमजोर भविष्य
(५) अवलोकनकर्ता र पर्यटकमा फरक छुट्याउन नसक्नु
(६) वर्तमान पर्यटन व्यवसायीले इटहरीको गन्तव्य प्रचार गरेर बिक्री गर्न नसक्नु
(७) सहरमा कोलाहल बढ्दो तर सौन्दर्यीकरण घट्दो हुँदै जानु
(८) वातावरणीय सुधारको चिन्तनमा कमी
(९) फोहोर मैला व्यवस्थापन मुख्य चुनौती
(१०) जङ्गललाई पर्यटनका रूपमा प्रयोग गर्न नसक्नु
(११) एयरपोर्ट अर्काे सहरमा हुनु
(१२) वर्षाद्मा बाढीको समस्या
(१३) स्थानीय सरकार पर्यटनप्रति उदासिन हुनु
इटहरीका युवा र पर्यटनः
(१) पर्यटन सचेतनाको अभाव
(२) पर्यटक र पर्यटनमा भेद बुझ्न नसक्नु
(३) यथेष्ट लगानी अनुरूप पर्यटनमा प्रादेशिक राष्ट्रिय पहिचान बनाउन नसक्नु
(४) दलीय प्रभावले एकताको अभाव
इटहरीको पर्यटनमा युवाहरूको सम्भावनाः
इटहरीमा युवाहरूले पर्यटनमा प्रशस्त लगानी गरेको देखिन्छ । तर, पर्यटन सचेतना भएका कारणभन्दा पनि देखेर गरौं न त भन्दै गरेको जस्तो मात्र देखिएको छ भन्दा आरोप लागेको सुनिन सक्छ । तर, पर्यटन सचेतनाको अभाव र आफ्नो व्यवसाय आफ्नो स्थानको प्रवर्धन बिना गरिएको लगानीले यो आरोप पुष्टि गर्न मद्दत गर्दछ ।
तर, इटहरी आफैंमा पर्यटनको प्रशस्त आधार भएको क्षेत्र भएका कारण युवाहरुले पर्यटनका बहुआयाममा लगानी, सीप विकास र क्षमता विकास गरेको खण्डमा यो क्षेत्रका युवाहरूले यो प्रदेशको पर्यटनको व्यावसायिक नेतृत्व गर्ने सम्भावना प्रबल देखिन्छ ।
पर्यटनका पूर्वाधारहरूः
(१) पाँचतारेसम्मका होटल
(२) चारैतर्फ पहुँच मार्ग
(३) जङ्गलमा आधारित पर्यटन
(४) जलमा आधारित पार्क र पर्यटन आदि ।
सम्भावनाः
देशकै उच्च हिमालहरूमध्ये सर्वाेच्च शिखरलगायत आठ हजार मिटर माथिका चार हिमाल प्रदेश नं. १ मा छन् । यी हिमालमा आधारित पर्यटन व्यवसायमा प्रदेश १ का व्यवसायीहरू सोलुखुम्बुबाहेक संलग्न छ्रैनन् । ती हिमालमा आधारित पर्यटनमा इटहरीले व्यवसाय गर्न सक्ने सम्भावना देखिन्छ । इटहरी यी हिमालतर्फ जाने कोरिडोरको मध्य भागमा अवस्थित छ ।
इटहरी नजिक धेरै आकर्षण र गन्तव्य छन् । तर, ती स्थानमा स्तरीय पूर्वाधारको अभाव छ । पहुँच मार्ग भने इटहरीबाट सहज र छोटो छ । ती गन्तव्य लक्षित पर्यटन इटहरीबाट सम्भव छ ।
इटहरीका युवाहरूमा यथेष्ट लगानीको सम्भावना छ । उनीहरूमा केही गर्ने इच्छातर्फ आकर्षित गर्दा यसले इटहरीको पर्यटन भविष्य उज्वल देखिन्छ ।
चुनौतीः
(१) राजमार्ग सँगसँगै बजार सर्दै जानु
(२) पर्यटनमा प्रतिफल ढिलो देखिने भएकोले युवाहरूलाई तत्काल आकर्षित गर्न कठिन हुनु
(३) आर्थिक मन्दी र विश्वव्यापी समस्याले सबैभन्दा पहिले र लामो समयसम्म प्रभाव पार्ने भएकोले घाटा सहन कठिन हुनु
(४) पर्यटनको क्षेत्रमा निरन्तर प्रतिस्पर्धा भइरहनु
(५) पर्यटकले हरेक पटक नयाँ खोजिरहनु
(६) चाँडो पैसा कमाउने मानिसहरूको यो क्षेत्रमा प्रवेशको सम्भावना र उनीहरूको गलत कार्यले पर्यटन क्षेत्र नै बदनाम हुन सक्ने
(७) विश्व ट्रेण्डलाई पच्छ्याउन नसक्नु
(८) समय अनुरूप अपडेट हुन नसक्नु
(९) मधेस प्रदेशमा बन्न सक्ने फास्ट ट्रयाक र (१०) अन्तर्राष्ट्रिय एयरपोर्टबाट कसरी फाइदा लिन सकिन्छ भन्ने सोचको अभाव
(११) इटहरीमा प्रशस्त सीप विकास भए पनि कामदारको अभाव भैरहनु
रणनीतिः
(१) पर्यटन चासोमा वृद्धि हुने कार्यक्रम आयोजना गरिरहने
(२) प्रदेशको पर्यटनमा नेतृत्व तहमा पुग्ने प्रयास गर्ने
(३) पर्यटन सम्बद्ध कार्यहरू गरिरहने
(४) युवालक्षित पर्यटन प्रशिक्षण र तालिम आयोजना गर्ने
(५) टुरिजम आइकन के हो त्यसको छनौट गर्ने अर्थात् मुख्य प्रोडक्ट
(६) छनौट गर्ने प्रोडक्ट अनुसारको प्याकेजिङ
(७) प्याकेजिङ अनुसारको टार्गेट ग्रुप
(८) टार्गेट ग्रुप अनुरूप मार्केटिङ गर्ने
(९) हाल भएका पर्यटन व्यवसायीले सहरभित्रका पोइण्टहरू निर्धारण गर्ने र पोइण्टको प्याकेज बिक्री गर्ने (भ्रमण गराउने)
(१०) सबै होटलहरूले एक दिने दुई दिने प्याकेज बनाउने,
(११) होटल व्यवसायी मिलेर यातायातमा ती पोइण्ट र गन्तव्य भ्रमण गराउने
(१२) भर्चुअल विज्ञापनमा ध्यान दिने
(१३) माइसः क्ष्ऋभ् मा आधारित पर्यटनका लागि तयारी गरि प्रवर्धन गर्ने
गर्न सकिने कार्यहरूः
–मुख्य आकर्षण अथवा मेन प्रोडक्ट छनौट गर्ने ।
–वरिपरि छेउछाउका गन्तव्यसंग समन्वय र साझेदारी गर्न सकिने ।
–टेङ्ग्रालगायत खोलाहरूको व्यवस्थापन गरेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने ।
–थारुहरू आतिथ्यतामा उत्कृष्ट हुन्छन्, उनीहरूमा आधारित होमस्टे सञ्चालन गर्न सकिने ।
–पर्यटन शिक्षा अध्यापन गर्ने उच्च तहको शिक्षालयको स्थापन गर्ने ।
–इटहरी, झुम्का र दुहबी मिलेर थारु बृहत् सङ्ग्रहालय स्थापना गर्ने ।
–बूढीगङ्गालाई पर्यटकीय आधारमा प्रयोग गर्ने ।
निष्कर्षः
इटहरीमा धेरै कुराहरूको सम्भावना छ । पर्यटनमा यसले प्रदेशकै नेतृत्व गर्न सक्छ । तर, त्यसका लागि वैचारिक रूपमा सोचलाई फराकिलो बनाउने, लगानीमा बढोत्तरी गर्ने, प्रचार र प्रवद्र्धन गर्ने कार्यहरू गर्न भने अत्यन्त जरुरी छ । इटहरीमै रहेका पर्यटकीय आकर्षणहरूलाई अवलोकनकर्ताका लागि मात्र नभएर पर्यटकका लागि पनि प्रवद्र्धन गर्ने र पर्यटन सचेतनाकासाथ लगानी गर्ने एवम् विश्व बजार अनुरूप इटहरीले आफूलाई अपडेट गदै गएको खण्डमा इटहरी प्रदेशकै मुख्य पर्यटनको ‘हब’ बन्ने सम्भावना प्रबल देखिन्छ ।