दिनमा लाग्ने हाट बजारले त उपभोक्ता आकर्षण गर्न सकिरहेको छैन, धरानमा रात्रिकालीन बजारको बहस सुरु भएको छ । कतिपय राजनीतिक दलका नेता कार्यकर्ताहरूले चुनावअघि नै धरानको पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन बजार लगाउने भनेर चुनावी मुद्दा नै बनाए । जबकि धरानमा रात्रिकालीन बजार सञ्चालनका लागि आवश्यक न्यूनतम् मापदण्ड नै पूरा हुने अवस्था छैन । रात्रिकालीन बजारका लागि धरान–१५ को बगरकोट छनौट गर्न सकिन्छ । तर, त्यहाँ पनि न्यूनतम् मापदण्ड र पूर्वाधार अझै पुगेको छैन । यसैबीच धरान–१० मा पर्ने पुतली लाइनलाई रात्रिकालीन बजारको रूपमा विकास गर्ने तयारी भइरहेको चर्चा चल्न थालेको छ । रात्रिकालीन बजार सञ्चालन गर्दा पर्यटक आउने बुझाइ छ । दिनभर कामले फुर्सद नपाएका, दिउँसो लत्ताकपडा, खाद्यान्न किन्न नपाएका, दिनभरिको कामले लखतरान भएकाहरूका लागि रात्रि बजार हो । धरानका बासिन्दा दिनमा बजार नै जान नपाउने गरी त्यति धेरै व्यस्त छन् त ? रात्रिकालीन बजार भएपछि त्यहाँ दिनभरिको थकान मेट्ने वातावरण, मन र आँखालाई आकर्षित गर्ने रात्रिकालीन दृश्यावली, दिनभरिको भोक मेट्ने स्थानीय खानाका परिकार, दिवा बजारभन्दा सस्तोमा खरिद गर्न पाइने लत्ताकपडा, खाद्यान्न वा पेय पदार्थ, सडकमा खसेको सियो पनि देखिने उज्यालो वा रङ्गीन तर, आँखालाई दुःख नदिने प्रकाशको व्यवस्था, निर्धक्कले हेर्न, घुम्न, खान र सपिङ गर्ने सुरक्षित वातावरण तयार हुनुपर्छ । उता दिनमै सुरक्षा दिन नसकिरहेको बेला प्रहरी प्रशासनले धरानमा लाग्ने रात्रिकालीन बजारका लागि सुरक्षा दिन सक्छ कि सक्दैन ? रात्रिकालीन बजारका लागि विभिन्न व्यवसायी, व्यापारी, पेशाकर्मीदेखि त्यहाँ आउने पर्यटक वा उपभोक्ताको सुरक्षा र व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीले लिनुपर्ने हुन्छ । सामान्यतया रात्रीकालिन बजार संचालनकालागि केही मापदण्डहरु छन् । कामदारलाई पदअनुसारको पोसाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको व्यवस्था अनिवार्य गर्नु पर्दछ ।
ग्राहकहरूले पनि घरसम्म पु¥याउन अनुरोध गरेमा पुर्याउने व्यवस्था मिलाउनु पर्ने व्यवस्था रहेको छ । कुनै पनि आपराधिक कार्य गरेर भाग्न नपाउने किसिमको कम्पाउण्ड लगाउनु पर्ने व्यवस्था, सिसी क्यामेराको व्यवस्था, लाइट र नेपाल सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने व्यवस्था गर्नु पर्दछ । डान्स बार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लीलता प्रदर्शन नहुने गरी नृत्य गर्न सकिने पनि व्यवस्था रहेको छ । नगद भुक्तानीभन्दा विद्युतीय प्रणाली वा कार्डद्वारा गरिने भुक्तानीलाई प्राथमिकता दिनु पर्नेछ । साथै १८ वर्ष उमेर नपुगेका ग्राहकहरूलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था रहेको छ । त्यस्तै डान्स रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउण्ज बार, पब, क्लब र डिस्कोथेक जस्ता व्यवसायमा १८ वर्ष मुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश दिन पनि नपाइने व्यवस्था रहेको छ । व्यवसायीहरूले निर्धारित मूल्य सूचीभन्दा बढी मूल्य लिन नपाउने व्यवस्था रहेको छ । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि व्यवसायीले अनिवार्य रूपमा साउन्ड कन्ट्रोल सिस्टम व्यवस्था गर्नु पर्दछ । व्यवसायको परिसरभित्र अनि आगमन र प्रस्थान हुँदाको नजिकको क्षेत्रसम्म बत्तीको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको छ ।
सुरक्षाका लागि सीसीटीभीबाट निगरानी गर्ने र कम्तीमा ३० दिनको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने हुन्छ । अव यी मापदण्ड पुतलीलाइन वा बगरकोटमा लागु गर्न सकिन्छ ? प्रश्नमात्र छ, उत्तर पाउनै मुस्किल छ । अझ पुतलीलाइनमा आधा दर्जन होलान् होटल रेष्टुराँ, बाँकी हार्डवेयर, साइकल पसल, लत्ता कपडाका पसल छन् । त्यो पनि अति साँघुरो सडकका दुईतिर । कतिपयले रात्रिबजार भन्नासाथ डान्सबार, पव, लोकदोहोरी हुने होटल रेष्टुराँमात्र सम्झिन्छन् । रात्रिकालीन बजार भनेको सेकुवा, रक्सी वियर खाँदै रातभरि लोकदोहोरी वा आधुनिक संगितमा झुम्नेकाम मात्र होइन । माथि नै भनिसकिएको छ, दिनभरी कामको व्यस्तताले बजार जान नपाएका स्थानीय उपभोक्ता वा सस्तो बजार खोज्ने स्थानीय बासिन्दा, केही नयाँ दृश्य, फरक स्वाद, फरक अनुभवका लागि आउन चाहने आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्दै शान्ति सुरक्षा प्रदान गर्न सक्ने पूर्वाधार तयार गर्न सकेमा धरानमा रात्रिकालीन बजारको भविष्य सुनिश्चित छ ।