१. पृष्ठभूमि
लिम्बू जातिको दर्शन ‘मुन्धुम’ हो । कविवर वैरागी काइँलाका अनुसार ‘लिम्बू जातिको मौखिक परम्परागत श्रुतिशास्त्र (मुन्धुम) भित्र लिम्बू जातिका पुरोहित फेदाङ्मा, साम्बा तथा येबाहरुले अनादिकालदेखि नै ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको सृष्टि, मान्छे तथा चराचर जगत्का सृष्टिका आख्यानहरु गाउँदै आएका छन् । यसरी तिनले ती आख्यानहरुलाई हराउन नदिई जोगाएका पनि छन् । यिनै आख्यानहरुको सँगालो÷समष्टिलाई मुन्धुम भनिन्छ ।’ मुन्धुमअनुसार जुन दिन सर्वशक्तिमान ईश्वर तागेरा निङ्वाभुमाङले सुली र खरानीले सृष्टिको पहिलो मानिस बनायो र ‘हाऊ’ भनेर बोलाउँदा ‘हाऊ’ भनेर बोल्यो, त्यसरी मानवले सर्वप्रथम वाणी पायो । त्यसपछि केही गुन्गुनाउन थाल्यो र आफूलाई कतै न कतै व्यक्त गर्न थाल्यो । यसरी सृष्टिको पहिलो मानिस ‘मुजिङ्ना खेयङ्ना’ को पालादेखि नै लिम्बू लोकसाहित्यको प्रादुर्भाव भएको पाइन्छ । सृष्टिको पहिलो मानव ‘मुजिङ्ना खेयङ्ना’ र बताससँगको संसर्गबाट जन्मिएको उनको सन्तान ‘सावा युक्पुङ्गेम्बा’ र त्यसका सन्तानहरु ‘तेल्लालामा लाहादङ्ना’ र ‘सुत्छुरु सुहाङ्फेबा’ को पुस्ता पनि हुर्किदै आयो । कालान्तरमा आदिम लिम्बू पुर्खाहरु ‘सावायेहाङ पाङ्भे’ (आदिम लिम्बू गाउँ) मा बसोबास गर्न थाले । यस समयमा प्रशस्त लोकसाहित्यको विकास भयो ।
आजको विकसित लिम्बू समाजसम्म आइपुग्दा लिम्बू लोकसाहित्यको बगैंचा बहुरङ्गी र सुवासमय बनेको छ । याक्थुङ (लिम्बू) हरु आफूलाई खाम्बोङ्बा÷लुम्बोङ्बा सा (ढुङ्गा–माटोको सन्तान) भनेर गर्व गर्ने गर्छन् । उनीहरुको लोकसाहित्यको अजस्र स्रोत पनि मुन्धुम नै हो । लिम्बू लोकसाहित्यको मुहान खोज्दै जाने हो भने मुन्धुमसम्म पुग्नै पर्छ । प्राचीनकालदेखि नै लिम्बू पुर्खाहरुले आफ्नो अस्तित्वको रक्षा गर्दे प्रकृतिसँग जुझ्दै आउँदा अनेक हण्डर र ठक्करहरु खाए । कति हिंस्रक जङ्गली जनावहरुसँग जोगिँदै अनेक युगहरुको फन्को मार्दै आए । अन्ततः यही भूमिमा सभ्यताको पहिलो बस्तीहरु बसाए । भस्मे खोरियाहरु फाँडेर आवादी गर्न थाले । जीवन उत्तरजीवितताको क्रममा सभ्यताको अनेकौं घुम्तीहरु मोड्दै आउँदा अनेक ज्ञान, अनुभव र अनुभूतिहरु सँगाल्यो र कलात्मक पाराले मुखमुखै आफ्ना पुस्ता दरपुस्ताहरुलाई हस्तान्तरण गर्दे ल्यायो । समयान्तरमा आएर यही अनुभव र अनुभूतिहरुले नै लोकसाहित्यको अस्तित्व ग्रहण गर्न पुग्यो । याक्थुङ (लिम्बू) हरुले आफ्नो भाषामा लोकसाहित्यलाई ‘थुङ्साप÷पेसाप’ भन्ने गर्छन् ।
यसमा लिम्बू जातिको सामूहिक अनुभव, लोकजीवनको सुख–दुःख, हर्ष–विस्मात, हाँसो, रोदन, जीवन–मरण, आत्मा, लोकको धुकधुकी र जीवनयापनका कर्महरु मुखरित भएको पाइन्छ । उनीहरुको आस्था, विश्वास, सामाजिक मूल्य मान्यता, जीवनशैली र कथा गाथाहरुको सरसपूर्ण अभिव्यक्ति भेटिन्छ । लिम्बू लोकसाहित्य भन्नाले लिम्बू लोकआख्यान, लोकनाटक, उखानतुक्का, लोकगीत, लोककथा, लोकसङ्गीत र लोकगाथा जस्ता सम्पूर्ण विद्याहरुको समष्टिगत अर्थ संवहन गर्छ । आफ्नो जीवन, जगत्, पशुपंक्षी, जनावर, वनस्पति, पहाड, देवीदेउराली, चौतारा, कीटपतङ्ग आदि इत्यादिसँगको लिम्बू जातिको सम्बन्धहरु दर्शाइएको पाइन्छ । मानवेत्तर पशुप्राणीहरुसँगको ‘टोटम’ को किंवदन्तीहरु पनि अभिव्यञ्जित भएका हुन्छन् । कुनै पनि लिखित साहित्यको पूर्वाधार लोकसाहित्य भएकोले लिखित लिम्बू साहित्यको ब्याड पनि लिम्बू लोकसाहित्य नै हो । लोकसाहित्य लोकजीवनको दर्पणको रुपमा लिइन्छ । लोकसाहित्य नै जातीय सभ्यताको परिचायक र मानव सभ्यताको अथाह सामग्री पनि हो । एउटा जातिको सम्पूर्णताको बारे जान्न सर्वप्रथम त्यस जातिको लोकसाहित्यकको गहनत्तम जानकार हुन आवश्यक पर्छ । तसर्थ लिम्बू समाज, ज्ञान, विज्ञान, इतिहास, मनोविज्ञान, सभ्यता र पूरै जातीय इतिवृत्ति बुझ्नलाई सर्वप्रथम लिम्बू जातिको लोकसाहित्य बुझ्न अपरिहार्य हुन्छ ।
२. लिम्बू लोकछन्दहरू
लिम्बू लोकसाहित्यमा छन्दहरुको पर्याप्त अन्वेषण कार्य भएको छैन । विकट लिम्बू गाउँघरमा घाँस–दाउरा, पानी पँधेरीहरुमा पानी भर्दा, मेलापात गर्दा र विभिन्न चाडपर्व र उत्सवहरु मनाउँदा लिम्बू–लिम्बूनीहरुले छन्दोबद्ध मौखिक रुपमा वाचन गर्ने साहित्य नै लोकछन्द हो । लोकछन्द सरल र सहज भाषाशैलीमा प्रतिध्वनित भएको हुन्छ । लिम्बूहरुले शदियौंदेखि श्रुतिस्मृतिमा आजतक जीवन्त राख्दै आइरहेका छन् । यस विषयमा यसअघि महाकवि थाम्सुहाङ पुष्प सुब्बा र अन्यहरुले याक्थुङ पेन्युक्काहा ? (लिम्बू छन्दहरु) (२०५८), सागर केरूङको सक्सा नु पेन्युक्काहा ? (२०७५), धनहाङ सुब्बाको लिम्बू लोकवार्ता (२०७४), थाम्सुहाङ पुष्प सुब्बाको याक्थुङ साप्सक्रेन पेन्नाम मुक्सिहा ? (२०७०), अमर तुम्याहाङको सोधुङ्गेन इमानसिंह चो?लुङ थो (२०७०), आदि पुस्तकहरु र यस पङ्क्तिकारको खोज अनुन्धानमा प्राप्य सामग्रीहरुको आधारमा निम्नानुसार लिम्बू लोकछन्दहरुको सामान्य चर्चा गर्ने सततः प्रयत्न गरिएको छ ।
२.१. पालाम
पालाम एक प्रकारको नृत्यगीत हो । पालाम या?लाङ (धाननाच) नाच्दा गाइने गरिन्छ । या?लाङ नातासम्बन्ध नलाग्ने युवा यवतीहरुबीच मात्र नाचिने पवित्र नाच हो । अर्थात् कुटुम्बेरीहरुबीच मात्र एक आपसमा हात समाएर गोलाकार, अगाडि पछाडि कदम मिलाउँदै वा लहरै उभिएर नाचिन्छ । या?लाङ नाच्दै पालाम गाउँदा प्रेमप्रणय र सृष्टिका कथाहरुमा पालैपालो नियमले सवाल–जवाफ गरिन्छ । यसको संरचना ३+२+४=९ अक्षरको हुन्छ । पालामको एक चरणमा दुई–दुई पङ्क्ति हुन्छ, र अन्त्यमा हा हा हा भनेर गाउने गरिन्छ ।
२.२. हाक्पारे
हाक्पारेलाई हाक्पा¥या गीत (साम्लो) पनि भनिन्छ । हाक्पारे साम्लो लिम्बू जातिको विशिष्ट मौलिक गीत हो । यसलाई लामो स्वर तानेर गाइने विरह र सृष्टिसम्बद्ध गीत पनि भन्ने गरिन्छ । यसको संरचना ५+३+३ = ११ अक्षरले निर्मित हुन्छ ।
२.३. ख्याली
ख्याली भनेको लिम्बू जातिको मौलिक पद्यात्मक बातचित्त अर्थात् जुहारी हो । ख्याली विभिन्न विषय र सन्दर्भहरुमा गरिने ओठे सवाल–जवाफ हो । कुनै पनि अवसरमा परिचय गर्ने क्रममा ख्यालीबाट परिचय गर्ने गरिन्छ । अपरिचित नयाँ ठाउँका पाहुनापातहरुसँग चिनजान गर्ने क्रममा आफ्नो परिचय ख्यालीद्वारा व्यक्त गरिन्छ । यसको संरचना ३+२+३+२ = १० अक्षरको हुन्छ ।
२.४. हाम्लाक्वा
हाम्लाक्वा भन्नाले कारूणिक रूवाइको आवाज भन्ने बुझिन्छ । यसको स्थायी भाव शोक हुन्छ । लिम्बुनीहरु आफ्नो प्रियजनको मरणमा विलाप गर्दै रून्छन् । जब हृदयबाटै रून्छन्, रूवाइको क्रममा लयबद्ध विलाप ओकल्छन् । प्रकृतिप्रदत्त हो या त संयोग मात्र, लिम्बुनीहरु रूँदा आफ्से आफ छन्दमा रून्छन् । महिलाहरु रूँदा सीमित शब्द, लय र भाकामा रून्छन् । यसको संरचना १२ अक्षरको हुन्छ ।
२.५. नुवाःप्मा
नानीलाई सुताउन आमाले गाउने गीत वा लयलाई नुवाःप्मा भनिन्छ । जब आमाले नानी कोक्रोमा हालेर हल्लाउन थाल्छ, त्यतिखेर आमाको हृदयबाट ‘आ... ओ.... नानी’ भन्ने स्वतः स्फूर्त मधुर ध्वनि गुञ्जिन्छ । गीत गुञ्जिँदा आफसे आफ लय, भाका, अनुप्रास र छन्दमा गुञ्जिने गर्छ । यसलाई नै नुवाःप्मा गीत भनिन्छ । यसको संरचना २+२+२ =६ अक्षरको हुन्छ ।
२.६. माङ्घ
देवीदेवतालाई सेवा अर्चना गर्दा प्रयोग हुने लय वा भाकालाई माङ्घ भनिन्छ । याक्थुङहरुले घरभित्र र घरबाहिर पूजा अर्चना गर्नुपर्ने धेरै किसिसका देवी देवताहरु हुन्छन् । विधिपूर्वक रुपमा फेदाङ्मा, साम्बा र येबा–येमानीहरुले माङ्घ गर्दा आपसे आफ छन्दोबद्ध रुपमा गाउँछन् । यसलाई नै माङ्घ छन्द भनिएको हो । यसको संरचना २+२ = ६ अक्षरले बनेको हुन्छ ।
२.७. खाहुन्
‘खाहुन’ को नेपाली शाब्दिक अर्थ ‘उपदेश’ हो । कसैलाई राम्रो बाटोमा लगाउन धर्म, नीति र ज्ञानसम्बन्धी असल कुरा सिकाउनका लागि शिक्षा वा अर्ति दिने गरिन्छ । लिम्बू लोकछन्दमा यसको संरचना २+२+३ = ७ अक्षरको हुन्छ ।
२.८. ताम्के
‘ताम्के’ लिम्बू जातिको एक किसिमको मौलिक श्रमगीत हो । ताम्केलाई ठाउँ विशेषमा ‘दाम्के’ वा ‘ताप्के’ पनि भन्ने सुनिन्छ । हाम्रो पुर्खाहरुले धान रोप्दा, कोदो रोप्दा, मकै गोड्दा कुसरक्पा नृत्यसँगै यो गीत गाउने गर्दथे । यसलाई ‘ताम्के’ गीत भनिन्छ । यसको संरचना २+२+३+२+२+ = १४ अक्षरको हुन्छ ।
२.९. तुवा
‘तुवा’ को नेपाली शाब्दिक अर्थ ‘प्रार्थना’ अर्थात् ‘भजन’ हो । कसैसित केही माग्ने क्रिया, वन्दना वा ईश्वरको पुकारलाई प्रार्थना भनिन्छ । किरात लिम्बू समुदायले निराकार, परम–परमात्मा सर्वशक्तिमान ईश्वर तागेरा निङ्वाभूमाङसँग प्रार्थना गर्दा तुवाको छन्दको प्रयोग गर्छन् । यसको संरचना ५+५ = १० अक्षरले बनेको हुन्छ ।
२.१०. पाङ्साम्लो
पाङ्साम्लो एक किसिमको लिम्बू लोकगीत हो । अहिले पाङ्साम्लो लिम्बू समुदायमा पूर्णरुपमा लोप भइसकेको छ । खोज अनुसन्धानका क्रममा पनि स्रोत सामग्रीहरु प्राप्त गर्न बडो कठिन छ । लिम्बू समुदायमा गाउँदै रमाउने, मनोरञ्जन गर्ने गीतलाई पाङ्साम्लो भनिन्छ । घाँस–दाउरा जाँदा, मेलापात गर्दा, हाटमेला भर्न जाँदा पाङ्साम्लो गुन्गुनाउने गरिन्थ्यो । यसको संरचना ३+२+३+२+३+३ = १६ अक्षरको हुन्छ ।
२.११. केसाम
सामान्यतया के–लाःङ (च्याब्रुङ नाच) नाच्दा गाइने गीतलाई के–साम भनिन्छ । के–साम विवाहकर्म, नयाँ घरमा सर्दा र विभिन्न उत्सव र पर्वहरुका अवसरमा के–लाःङ सँगै गाइने नृत्यगीतलाई केसाम भनिन्छ । यसको संरचना ३+२+३= ८ अक्षरले बनेको हुन्छ ।
२.१२. खा?उमा
लिम्बू जातिको कर्मकाण्ड अन्य जातिको भन्दा पृथक किसिमको हुन्छ । गर्भावस्था, जन्म, विवाह, मृत्यु आदिलाई प्रमुख कर्मकाण्डका रुपमा लिने गरिन्छ । याक्थुङ जातिमा पुरूषको मृत्युु भए चार दिन र महिलाको मृत्यु भए तीन दिनमा युम्सा (नून–तेल) गरिन्छ । युम्सा गर्दा फलाकिने मुन्धुमलाई खा?उमा भनिन्छ । खाउ?मा छन्द ८ अक्षरले बनेको हुन्छ ।
२.१३. लारिङ्गेत/नाम्लिङ्गेत
लारिङगेत्–नाम्लिङगेत् बलिहाङ तङ्नामको पर्वमा गाइने छन्दोबद्ध गीत हो । लारिङ्गेत्–नाम्लिङ्गेत खेल्दा दुईजना भन्दा बढी जति पनि हुन सक्छन् । महिला–पुरूष, पुरूष–पुरूष, महिला–महिला जस्तोसुकै समूहमा पनि लारिङ्गेत्–नाम्लिङ्गेत् खेलिन्छ । यो छन्द ८ अक्षरले बनेको हुन्छ ।
२.१४. मुन्धुम
श्रुतिपरम्परामा प्रचलित किरात–लिम्बू धर्मशास्त्रलाई मुन्धुम भनिन्छ । यसका खास गायक भनेको फेदाङ्मा, साम्बा र येबा÷येमानीहरु हुन् । उनीहरुले मुन्धुम गाउँदा ५ अक्षरमा गाउने गर्छन् । यसलाई नै मुन्धुम छन्द भनिन्छ ।
२.१५. याङ्दाङ फोङ्मा
याङ्दाङ फोङ्मालाई नेपाली भाषामा न्वारान गर्नु भनिन्छ । बच्चा जन्मिएपछि तीन दिनमा केटी र चार दिनमा केटाको याङ्दाङ फोङ्मा गर्ने गरिन्छ । यसरी याङ्दाङ फोङ्मा गर्दा गाइने छन्दलाई याङ्दाङ फोङ्मा छन्द भनिन्छ, यो छन्द २+२+२ = ६ अक्षरले बनेको हुन्छ ।
२.१६. केङ्जोरी साम्लो
केङ्जोरी साम्लो एक किसिमको नृत्यगीत हो । यसमा युवायुवतीहरु चाक ठोक्काउँदै नाच्छन् । यो गीत ९ अक्षरले बनेको हुन्छ ।
२.१७. चिराक् लाःक् साम्लो
हिउँदमा पराल माड्दै गाइने गीतलाई चिराक् लाःक साम्लो भनिन्छ । यो एक किसिमको श्रमगीत हो । यस गीतको संरचना पनि ९ अक्षरले बनेको हुन्छ ।
२.१८. चेल्लेक्वा पाङ्साम्लो
नक्कले र रौसे गीतलाई चेल्लेक्वा पाङ्साम्लो भनिन्छ । यो गीत युवायुवतीहरु नक्कल झक्कल गर्दे गाउने गर्छन् । यसको संरचना ७ अक्षरले बनेको हुन्छ ।
२.१९. चासोक
जब मङ्सिर, पुस महिनामा अन्नहरु पाकेको हुन्छ । उतिबेला सर्वप्रथम सर्वशक्तिमान ईश्वर तागेरा निङ्वाभूमाङलाई पवित्र अर्पण गरेर मात्र खाने चलन छ । लिम्बू जातिले न्वागी पूजा गर्दा गाउने गीतलाई चासोकगीत भनिन्छ । यसको संरचना २+२+४+२+३ = अक्षरले बनेको हुन्छ ।
२.२०. साक्नात्
साक्नात् भन्नाले अनिकाल खेदाउने गीत हो । लिम्बू जातिहरुले यो पर्व साउन महिनाको एक गतेका दिन मनाउने गर्छन् । अनिकाल खेदाउँदै सहकाल बोलाउने गीतलाई नै साक्नात् छन्द भनिएको हो । यो गीत २+२+२+२+२ = ८ अक्षरले बनेको हुन्छ ।
२.२१. तुम्येन्
लिम्बूहरु अन्नबाली पाकेपछि खाने बेलामा इष्टमित्र र साथीभाइहरु बोलाएर मेजमानसहित साझा भोजन गर्छन् । रमाइलो गर्दै खानपान सकिएपछि आशीर्वाद दिने चलन छ । यसलाई नै तुम्येन् छन्द भनिएको हो । यो छन्द २+२+३+२+३ = अक्षरले बनेको हुन्छ ।
२.२२. याक्वा
लिम्बू जातिहरुले अन्नबाली लगाउनुअगावै बालीनाली सप्रियोस् । खडेरी, असिना–पानी केहीले नलगोस् भनेर ज्येष्ठ महिनामा यक्वा पूजा गर्ने गर्छन् । यक्वा पूजा सकेर त्यो दिन काम गर्दैनन्, गीत गाउँदै नाच्दै बस्छन् । त्यसबेला गाउने गीतलाई याक्वा गीत भनिन्छ । यो गीत २+२+२+२+२+३ अक्षरले बनेको हुन्छ । प्रस्तुत लोकछन्दहरुबाहेक अन्य थुप्रै छन्दहरु पनि हुन सक्छन् । तर, समयमा नै खोज अनुसन्धान कार्य नहुँदा कति लोप भएर गइसकेका छन् । अनेक रस, रीति बक्रोक्ति र अलङ्कारले युक्त लोभलाग्दो विधाहरु विलोप भएर जानु दुःखद् र चिन्ताजनक विषय हो ।
३. निष्कर्ष
लिम्बू लोकसाहित्यको अजस्र स्रोत मुन्धुम हो । मुन्धुम र लोकसाहित्य नबुझिकन लिम्बू समाज र इतिहास बुझ्न सकिँदैन । तर, अहिले दिनानु दिन ती लोप हुँदै गइरहेका छन् । लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाएर प्रयोग र यसको विस्तारमा ध्यान पु¥याउनु जरूरी छ । विशेष रुपमा स्वजातिहरुले आफ्नो भाषा बोल्न र स्वसंस्कृति अवलम्बन गर्न आवश्यक छ । योजनाबद्ध रुपमा मुन्धुम र लोकसाहित्यको सङ्कलन, सम्पादन र प्रकाशन गर्नुपर्छ । अन्यथा नेपाली विशाल ज्ञानको भण्डारबाट जीवन्त वाङ्मयको दुःखद् मृत्यु अवश्यम्भावी छ ।