धरानमा होटल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको युएन नवोदय कलेजले यही असार ६ गतेबाट ‘युएन सेफ कम्पिटीसन’ गर्ने भएको छ । पाक कलासँग सम्बन्धित यो प्रतिस्पर्धा नेपालमा बेलायतमा भएको मास्टर सेफ प्रतियोगितामा नेपालका सन्तोष साहको सहभागिता र विजयी भएसँगै पछिल्लो समय परिचित हुँदै आएको भए पनि प्रदेश १ कालागि भने यो नौलो प्रतियोगिता हो भन्दा फरक नपर्ला । अन्य विभिन्न प्रतिभाका प्रतिस्पर्धाहरू हुने भए पनि व्यावसायिक शिक्षा अन्तरगतको होटल म्यानेजमेन्ट भित्रको पाक शिक्षा (कलिनरी आर्ट) अन्तरगतको यो प्रतिस्पर्धाका विषयमा नवोदय प्लस टु तथा युएन कलेजका होटल म्यानेजमेन्ट विषयका कोर्डिनेटर सेफ गगनमान श्रेष्ठसँग हामीले गरेको कुराकानी
युएन सेफ कम्पिटीसन भनेको कस्तो प्रतियोगिता हो ?
यो कुकीङ्ग स्किल कम्पिटीसन हो । हामी कहाँ प्राय प्रतिभाको कम्पिटीसन हुने गरेका छन् । त्यो भन्दा अलि भनिन् यो स्किल बेस कम्पिटीसन हो । यो विदेश तिर भरै भइरहने गरेको भए पनि नेपालमा भने भर्खर भर्खर सुरुवात भएको छ । कुकीङ्गमा पनि यो कर्मसियल कुकीङ्ग कम्पिटीसन हो । यसमा खाना मिठो छ छैन भन्ने मात्र हैन यसको कलर, टेक्स्चर, फ्लेवर हाइजिन र पकाउँदा कस्ट कन्टोल, समयको बचत लगायतका कुराहरू जुन व्यावसायिक सेफमा आवश्यक पर्ने हरेक गुणहरू हेरिन्छ र छनोट गरिन्छ ।
युएन सेफ कम्पिटीसनको उद्देश्य के हो ?
प्रदेश १ भरी जति पनि होटल म्यानेजमेन्ट पढाउने कलेजहरू छन् ती कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टु गरेका विद्यार्थीहरूलाई सहभागी गराइने छ । उनीहरूले प्लस टु पढ्दै गर्दा सिकेका सिपहरूको प्रस्फुटन गर्ने यो प्लेटफर्म हो । स्किल म्यानपावरले स्किल देखाउन चाहन्छन् त्यसको लागी यो माध्यम हो । फरक फरक कलेजहरूबाट आएका सहभागीहरूले आफूले अहिलेसम्म के सिके भन्ने जान्ने छन् भने । व्यावसायिकताको यात्रा तय गर्न एक खाले अध्ययन पनि हुने छ । प्लस टु भन्दा माथि पढ्नेहरूका लागि वैदेशिक शिक्षाकालागी र होटलहरुमा सेफको व्यावसायिकताको अनुभव पनि गर्न सक्छन् । साथसाथै यसले पर्यटन र होटल म्यानेजमेन्टको बढवा दिने दिन्छ । पर्यटन भनेको घुम्ने मात्र हैन । विभिन्न ठाउँबाट विदेशबाट पनि यहाँ खाना खान आउँछन्, यहाँको खानाको अध्ययन गर्न आउँछन् । त्यसलाई पनि यसले बढवा दिने छ भने मुख्यतया होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई आफूले सिकेका कुराहरू कतिको व्यावसायिक छ भन्ने जान्न मद्दत गर्दछ ।
अर्को कुरा विभिन्न देशहरूमा यसको व्यावसायिक प्रमोटका लागी यस्तो कम्पिटीसनहरु हुने गरेका छन् । यो कार्यक्रमले ती अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा प्रतिस्पर्धा गर्न र स्थानीय खाना र पर्यटनको प्रमोट गर्न पनि मद्दत गर्दछ भन्ने हो ।
कम्पिटीसनमा सहभागिताकोलागी कस्तो मापदण्ड रहेको छ ?
अहिले हामीले होटल म्यानेजमेन्टमा प्लस टु गरेका विद्यार्थीहरूका लागी मात्रै सहभागी गराउने भनेका छौँ । प्रदेश १ भरीका १२ का परीक्षा दिएर जुन बचेको समय रहन्छ विद्यार्थीको त्यो समयको सदुपयोग होस् भनेर यो प्रतियोगिता आयोजना गरेका हौँ । त्यस कारण प्रदेश १ भरिका होटल म्यानेजमेन्ट पढाउने विद्यालय तथा कलेजहरूबाट २ जनाको एक समूह हुने गरी प्रत्येक कलेजबाट दुई समूहलाई सहभागी गराउने भनेका छौँ । जहाँ उनहिरुले पढेका र सिकेका कुराहरूको मूल्याङ्कन गर्न सक्नेछन् । भविष्यमा चाहिँ प्रोफेसनल सेफ तथा हाउस कुकीङ्गका पनि कम्पिटीसन गर्न सकिन्छ । पहिला पहिला खाना भनेको भोक लागेको बेला खानको लागी तयार गर्ने भन्ने मात्र थियो अहिले त्यस्तो छैन विभिन्न माध्यमबाट सिक्ने र घर भित्रै परिवारकै लागि खाना तयार गर्दा पनि फरकपन नयाँपन देखाउन चाहने गरेको देखिन्छ ।
नेपालको खाना अन्तर्राष्ट्रिय स्तरमा चिनिए देखिँदैन किन होला ?
हो नेपालमा भौगोलिक, साम्प्रदायिक तथा जाति विशेषका विभिन्न खानाका परिकारहरू छन् । हामी मनाउने विभिन्न चाडपर्वहरूमा फरक फरक खानाका प्रकारहरू छन् । जस्तो नेवारी खाना थकाली खाना, किराँती लिम्बू समुदायको, तराइ तिर थारु संस्कृतिका खानाहरू पूर्वका फरक प्रकारकार खानाको छुट्टै पहिचान छ । पश्चिममा विभिन्न मौलिक खानाहरू छन् । फरक फरक चार्ड पर्वहरूमा फरक फर परिकारहरू बनाइन्छ । यति हुँदाहुँदै हामीले ती खानाहरूलाई व्यावसायिक रूपमा विकास गर्न सकेका छैनौँ । यसको कारण के हो भने समयसापेक्ष परिमार्जित नहुनु हो । यसलाई व्यवस्थित नगरिनु हो । विभिन्न देशबाट नेपालको मौलिक खाना खान भनेर पर्यटकहरू पर्यटकहरू आउँछन् , यसलाई ग्यास्ट्रोनोमी टुरिजम भनिन्छ । तर, हामीले ती खानाहरूलाई पुरानै शैलीमा पकाउने, पस्किने गर्नाले उनीहरूले त्यो नबुझ्न सक्छन् त्यसकालागि व्यावसायिक बनाउन नयाँ शैलीको विकास गर्नु पर्छ । पछिल्लो समय थकाली जस्तै गरी हामीले किराँती खाना सेट तयार गरेका छौँ । जुन होटलहरुमा लागी व्यावसायिकता प्रदान गर्न सकेको पनि छ । हाम्रो यो कार्यक्रमले धरान र प्रदेश १ लाई ग्यास्ट्रोनोमी टुरिजमको हब बनाउन सकिन्छ भन्ने उद्देश्य पनि बोकेको छ ।
अन्य भइरहेका प्रतिस्पर्धाहरूमा विभिन्न चरणहरू हुन्छन् यसमा चाही के हुन्छ ?
हो यसमा पनि विभिन्न चरणहरू हुन्छन् । पहिलो चरणमा छनोट भएकाहरूमा स्किल, व्येस्ट म्यानेजमेन्ट, गार्निस, फ्लेवर सर्भिङ र टाइम म्यानेटमेन्टका कुराहरूलाई हेरिने भएकाले त्यस अनुरूप नै चरणहरू तय हुँदै छन् । पहिलो चरणमा उनीहरूले तयारी गरेका देखाउँछन् भने दोस्रो तथा अन्तिम चरणमा हामीले उपलब्ध गराएका सामनहरुबाट उनीहरूले तयार गर्नुपर्ने हुन्छ ।
कति सहभागी हुन्छन् रु
अहिले यति नै हुन्छन् भनेर भन्न सक्ने अवस्था छैन किनकि अडिसनको अन्तिम समयसम्म आउने क्रम जारी नै हुन्छ । खास गरी हामीले धरान, इटहरी, विराटनगर दमक, बिर्तामोड लगायतबाट सहभागी होस् भन्ने छ । र प्रदेश १ भरी होटल म्यानेजमेन्ट पढाउने कलेज प्लस टुलाई पत्राचार पनि गरेका छौँ र प्रतिक्रियाहरू पनि आइरहेको छ । हामीले सोचे भन्दा राम्रो सहभागिता रहने अवस्था देखिइरहेको छ ।
सहभागीले पाउने उपलब्धिहरू के के हुन् ?
सबै भन्दा पहिलो त हामी नगद प्रदान गर्छौ जसमा विजेताले १ लाख नगद, विएचएम अध्ययनका लागि छात्रवृत्ति र ट्रफी प्रदान गर्छौ । त्यस्तै उपविजेताले ५० हजार नगद, छात्रवृत्ति र ट्रफी र तेस्रो हुनेले ३० हजार नगद र र छात्रवृत्ति र ट्रफी पाउने छन् । यो भनेको हामीले प्रदान गर्ने कुरा हो । यस बाहेक उनीहरूले आफूले सिकेको कुराको पहिचान गर्न पाउने छन् । भोलि व्यावसायिक सेफ बन्न के कस्तो कुराको आवश्यकता पर्दो रहेछ भन्ने प्रत्यक्ष ज्ञान प्राप्त गर्दछन् । प्रोफेसनल सेफको रूपमा आफूलाई अगाडी बढाउन चाहनेहरूका लागी यो पहिलो र महत्त्वपूर्ण खुड्किलो पनि हो ।
धरानमा खानाको पर्यटनको सम्भावना कस्तो देख्नु हुन्छ ?
यहाँ अथाह सम्भावना छ । यहाँ विभिन्न खानाका किराँती संस्कृतिका खानाको परिकार पस्कन सकिन्छ । लिम्बू, नेवारी, संस्कृतिका खानाको परिकार पस्कन सकिन्छ । धरानमा मै विकास भएको खाना थुक्पा, आलु निम्की छ । वार्वी क्यु, छ । प्रदेश एकमा धरानमा उत्कृष्ट मःमः पाइन्छ । यहाँको कालो बङ्गुर र सुकुटी राष्ट्रिय स्तरमै परिचित छ । मात्र यसको व्यवस्थित प्रचारप्रसार र यी खानाहरूको व्यावसायिकीकरण गर्न जरुरी छ । हामीले पहिल्लाे समय थकाली जस्तै किराँती खाना सेट तयार गरेका छाैँ । अहिले त्यसकाे व्यावसायिकरणकाे प्रकृयामा छ । यहाँ काे आलुनिम्की बेलातसम्म प्रख्यात छ ।त्यहाँका हाेटलवालाहरूले हामीसंग रेसीपी साेधिराखेकाे अवस्था छ । धरान पाइए जस्ताे थुक्पा अन्त कही पाइदैन ।
प्रदेश १ मा तथा नेपालमा होटल म्यानेजमेन्टका अवस्था कस्तो छ ?
विडम्बना भन्नुपर्छ धरैको उद्देश्य विदेश नै छ । तर नेपालमा पनि सम्भावना छ । धरानमा पनि धरै राम्रा राम्रा होटलहरु खुलेका छन् । धरैले नेपालमै रोजगार छन् । स्वरोजगारको अवस्था उत्तिकै राम्रो छ र विदेशमा पनि राम्रो होटलहरुमा राम्रै सेवा सुविधा लिएर काम गरिरहेका छन् । होटल म्यानेजमेन्ट भनेको स्किल बेस व्यावसायिक शिक्षा भएकोले खाली हात कोही बस्नु परेको छैन । र राम्रै कमाई गरिहरेको पाइरहेका छौ । यो चाही व्यावसायिक शिक्षाको राम्रो पक्ष हो ।
हाम्रा विद्यार्थीहरू विदेशका विभिन्न स्टार होटलहरुमा इन्टर्नसिप गर्दै तलब पनि बुझिरहेका छन् । जहाँ इन्टर्नसिप गरेका हुन् त्यही जागिर पनि पाएका छन् ।
नेपालमा होटल म्यानेजमेन्ट गरेर विदेशमा काम गर्न कत्तिको सजिलो हुन्छ ?
त्यो कलेज र पढाउने शिक्षकहरूमा भर पर्छ कि उनीहरू कत्तिको अपटुडेट छन् वा छैनन् भनेर यो क्षेत्रमा निरन्तर ट्रेन्ड चेन्ज भइरहेको हुन्छ । कुनै एक समयमा खानाहरू परिमार्जित भइरहेका हुन्छन् । विभिन्न शैलीको विकास भइरहेको हुन्छ । यसलाई बुझेर पढाउन सक्नु पर्छ, त्यस्तो गर्न सकियो भने अमेरिका हाम्रो विद्यार्थीहरूले पनि त्यही सिकिरहेका हुन्छन् त्यस कारण जुनसुकै ठाउँमा पनि उनीहरूलाई त्यहाँ भइरहेको गतिविधि नौलो हुँदैन । मेरो कुरा गर्दा म वल्ड मास्टर सेफको सदस्य भएकोले हाम्रो विभिन्न समयमा छलफलहरु हुने गर्दछ । जसमा विश्वभर भइरहेका विभिन्न ट्रेन्डहरूको बारेका छलफल गर्छौ र एक अर्काको अनुभव र विचारहरू आदान प्रदान गर्ने भएकोले हामी अपटुडेट भएका हुन्छौ । युएन नवोदयमा जतिपनी प्राक्टिकलहरु हुन्छन् ती विश्व बजारलाई सुहाउने गरी परिवर्तन गराई रहेका छौ । होटल म्यानेजमेन्टको सुन्दरता भने यहाँका विद्यार्थीले जे सिकिरहेका छन् त्यही नै, अमेरिका, युरोप, जापान लगायतका देशका विद्यार्थीहरूले सिकिरहेका हुन्छन् । जसले गर्दा काम गर्न उनीहरूलाई अलमल हुँदैन । म त के भन्छु भने अव पढ्दा व्यवसाय वा सिप मुखी शिक्षा पढ्नु पर्छ । जसले सिप सिकेका छन् ती विद्यार्थीहरू बेरोजगार छैनन् । प्राय सिपहरू विश्व बजारमा जहिसुकै प्रयोग गर्न सकिने नै हुन्छन् । जस्तो आइटीको क्षेत्र होस्, मेडिकलको क्षेत्रहोस् या होटल म्यानेजमेन्ट । यी सिपहरू विश्व बजारले खोजिरहेको सिपहरू हुन् ।