धरान । एउटा चित्र बनाइसकेपछि मोरङ विराटनगरकी अनुराधा थापालाई जुन आनन्द आउँछ; त्यो आनन्द अरू केहीमा आउँदैन । ४२ वर्षअघि कुची समाउँदा सायद त्यो आनन्द थिएन । त्यसबेला केवल रहर थियो । रहरहरू रङ्गसँग मिसिँदा मिसिँदा अहिले हरेक चित्र उनका लागि सन्तान हुन् ।
‘एक्रेलिक’ रङ्गसँग अभ्यस्त थापा सोमबार धरानको घण्टाघरमा ‘क्यानभास’ रङ्गाउन मस्त थिइन् । कुची हातमा नचाउँदै एकोहोरो घण्टाघरकै प्रतिछाया निर्माणमा मग्न थिइन् । एकछिन खाजा खाने फुर्सद निकालेर उनले भनिन्, ‘४–५ कक्षामा पढ्थेँ; बुकहरूमा ड्रइङ हुन्थ्यो; त्यसैको बनाइन्थ्यो । विस्तारै यसै गर्दा गर्दौ इन्ट्रेस आयो ।’ थापाजस्तै धनकुटा, झापा, मोरङ र सुनसरीका १४ कलाकार घण्टाघर परिसरमा कुची नचाउँदै थिए । क्यानभासमा रङ्गाउने वातावरण ‘परिवर्तनका लागि सामाजिक अभियान’ ले सिर्जना गरिदिएको थियो ।
‘धरानको पर्यटन प्रवद्र्धन : चित्रकला कार्यशाला’ कार्यक्रममा सहभागी कलाकारले ‘वाटर कलर र एक्रेलिक कलर’ खेलाउँदै धरानसँग जोडिएका पर्यटकीय गन्तव्य निर्माणमा मग्न थिए । चित्रकारितामा सम्भावना छैन भन्नेहरूका लागि थापा एक उदाहरण हुन् । उनको पढाइ पनि कलाकारिता क्षेत्रसँगै सम्बन्धित छ । उनी भन्छिन्, ‘यो क्षेत्रमा रस भिजेपछि यही विषय पढ्नुपर्छ भन्ने लाग्यो । यसमा पनि धेरै विधाहरू पढ्न पाइँदो रहेछ । आज ४२ वर्ष भइसक्यो ।’
थापाले तीन वर्षअघि प्रदेश १ प्रतिभा पुरस्कार पाइन् । त्यसअघि क्षेत्रीय प्रतिभा पुरस्कार पाएकी थिइन् । उनीभन्दा १० हात दक्षिणमा अग्रज कलाकार प्रनोदकुमार दत्त ‘वाटर कलर’ सँग खेल्दै थिए । कुचीलाई रङ्गसँग चोब्दै क्यानभासमा दल्थे । अनि एकछिन गम खान्थे । फेरि सिँगार्न थाल्थे । क्यानभासमा स्प्रे गर्थे । पानीसँगै रङ चुहिन्थ्यो । त्यो देखेर पेन्टिङ नियालिरहेका सन्दीप शाक्यले मुख खोले, ‘हामीलाई चाहिँ बिग्रियो कि भन्ने लाग्छ । तर, कलाकारलाई मतलवै छैन ।’
५६ मा हिँड्दै गरेका कलाकार दत्तले हालै ललित कला प्रज्ञा प्रतिष्ठानबाट ‘मोडर्न आर्ट’ मा पुरस्कार पाए । यस पुरस्कारलाई उनी सम्मानका रूपमा लिन्छन् । पुरस्कारको श्रेय माइला दाजुलाई दिन्छन् । ‘माइला दाजु नभइदिएको भए सायद म यस क्षेत्रमा हुँदिनथेँ’ उनी भन्छन्, ‘वनारस पढ्ने माइला दाजु घर आउँदा जे भन्यो त्यही बनाइदिने । दाजुले सक्छ भने म किन सक्दिन भन्ने इगो भयो ।’ त्यही इगो विस्तारै स्कुल हुँदै व्यावसायिक जीवनमा पनि जोडिएको छ ।
उनले एउटा चित्र १५ हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् । ‘५–७ हजारमा त बिक्री भइरहन्छ । सबैभन्दा महँगो मूल्यमा चाहिँ १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको छु’–उनी भन्छन् । अहिलेका कलाकारले ‘एक्रेलिक र वाटर कलर’ लाई बढी प्रयोग गर्छन् । एक्रेलिकमा चित्र मन परेन भने ‘ओभरल्याप’ पनि गर्न सकिन्छ । त्यसकारण एक्रेलिकमा कलाकारहरू रमाउने कलाकार दत्तको भनाइ छ । ‘अरूमा त्यो गर्न सकिन्न’–उनले भने ।
कार्यशाला कलाकारबीच भेटघाट र चित्रकारितामा भित्रिएको ‘प्राविधिक र आइडिया’ सेयर गर्ने माध्यम ठान्छन् । ‘सिनियरहरूले केही बनाए भने जुनियरहरूले सिक्न पाउँछन्; कुराहरू सेयररिङ हुन्छ; पर्यवेक्षकहरूले पनि कलाकारको मनिटर गर्छन् । फलानाले कस्तो गर्छ । एउटा आर्टिस्टलाई मापन गर्न पनि सजिलो हुन्छ’–कार्यशालाको सकारात्मक पक्षबारे कलाकार थापा सुनाउँछिन् ।
कार्यशालामा अग्रज कलाकार काँकडभिट्टाका छितेन शेर्पा, तुलसी श्रेष्ठ, धनकुटाका डिल्लीकृष्ण आले, मोरङ बेलबारीका शिव छाङ्छा राई, इटहरीकी यशोदाकुमारी लम्साल, सुनसरी बर्जुका उद्धव गुरुङलगायत सहभागी रहेको अध्यक्ष विष्णु बरालले जानकारी दिए ।