सामाजिक कार्य होस या विवाह, पूजाआजा, मेला, सभा सम्मेलनजस्ता कार्यमा नेवार समुदाय रामपुरको अग्रसरता छ । आफ्नो संस्कृति र परम्परा जोगाउँदै हरेक क्षेत्रमा यहाँको समुदाय सक्रियरुपमा सामाजिक कार्यमा जुटेको पाइन्छ ।
फरक–फरक समुदायको बसोबासको थलो बनेको छ, रामपुर । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी (सुस्तापुर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा नेवा समुदाय सामाजिक कार्यमा अग्र पङ्क्तिमा छ । संस्कृति र परम्परालाई जोगाउन कन्याको सामूहिक बेलविवाह, बटुक (कुमार) को व्रतबन्धजस्ता कार्यलाई एकैथलोमा राखेर गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । यसले सामाजिक सद्भाव कायम राख्दै संस्कृति र परम्पराको संरक्षणमा समुदायले गरेको कार्य उदाहरणीय बनेको छ ।
संस्कृति र परम्परा मात्रै धान्ने कार्य नभई यसले बाबुआमाप्रति उत्तरदायित्व हुने भएकाले सामूहिकरुपमा कन्याहरुको बेलविवाह र बटुकको व्रतबन्ध कार्यलाई निरन्तरता दिदै आएको बताउछन्, नेवा समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठ । “पुरानो विधि र परम्परालाई अवलम्बन गर्दै एकैथलोमा कार्यक्रम गर्दा खर्चको भार कम पर्नेछ भने अर्कोतर्फ समुदायको संस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तण गर्दै लैजाने उद्देश्यले सामूहिकरुपमा बेलविवाह, व्रतबन्ध गर्ने कार्य गरेका छौँ”, अध्यक्ष श्रेष्ठले भने ।
नेवारी परम्पराअनुसार रजस्वला हुनुअघि कन्याहरुको बेलविवाह र किशोरको व्रतबन्ध गर्नुपर्ने भएकाले संस्कार संस्कृतिलाई निरन्तरता दिँदै समुदायको सहजताको लागि समाजले समय समयमा यज्ञ सञ्चालन गर्दै आएको छ । दुई वर्षदेखि नौ वर्षमुनिका कन्यालाई बेलविवाहमा सहभागी गराउने गरिएको छ । नेवा समाज रामपुरका प्रमुख सल्लाहकार राजुप्रसाद श्रेष्ठले समाजले नेवारी संस्कृति रामपुरमा जोगाउन लाखेनाच, गाईजात्रा, रोपाइँ जात्राजस्ता संस्कृति संरक्षण गर्दै पर्वअनुसार बेला बेलामा प्रदर्शन गर्दै आएको बताउछन्।
समाजले २०६२ देखि हालसम पाँच वर्षको अन्तरालमा सामूहिकरुपमा कन्याको बेलविवाह कार्यक्रम गर्दैै आइरहेको छ । समाजमा १३७ घरपरिवार आबद्ध रहेका छन् भने रामपुर नगरभित्र ५०० घरधुरी नेवार समुदायको बसोबास छ । यहाँ भक्तपुर, काठमाडौँ, बनेपा, ललितपुरबाट आएका नेवार समुदायका बासिन्दा छन् । विभिन्न ठाउँबाट आएका समुदाय कर्मथलो बनाएर बसेको हाल नौ पुस्ता रहेको छ ।
रामपुर शहरउन्मुख क्षेत्र भएकाले पनि भाषा भने यहाँ लोप हुँदै गएको छ । पुराना पुस्ताले आफ्नै मातृभाषा प्रयोग गरे पनि नयाँ पुस्ता भने भाषाबारे अन्यौलमा छन् । ठाउँअनुसारको भाषामा लय फरक खालको रहेको र नयाँ पुस्ताले भाषा सिक्न नखोजेको स्थानीय सुकमाया श्रेष्ठ बताउछन् । उनि भन्छन्, “नयाँ पुस्ताले भाषा सिक्नै खोजेनन्, पाका पुस्ताले मात्रै कतिञ्जेलसम्म धान्ने हो र रु हरेक स्थानीय तहमा आधारभूत तहसम्म भए पनि आ–आफ्नो मातृभाषामा पठनपाठन भएमा भाषा संरक्षण हुने थियो ।”
भाषा कमैले मात्रै प्रयोग गर्ने गरेतापनि समुदायको पहिचान दिने पुरानो संस्कार संस्कृतिलाई भने निरन्तरता नै दिइएको युवा अशोक श्रेष्ठ बताउछन् । भिन्नभिन्न समुदायको रहनसहन, बसोबासले गर्दा पनि आफ्नो मातृभाषा सिक्ने कार्यमा युवाले चासो नदिएको उनले बताए । सामाजिक कार्य, शुभकार्य, मेला, महोत्सव, सभा समारोहलगायत विभिन्न कार्यमा भने यहाँका समुदायको उपस्थिति नेवारी पोसाकमा अनिवार्यजस्तै बनेको छ ।