नेपालमा मनसुन भित्रिइसकेको छ । मनसुनका बेला नेपालमा हरेक वर्ष बाढीपहिरोको समस्या सुरु हुन्छ । बाढीका कारण सयौँको सङ्ख्यामा मानवीय क्षति पुग्छ भने भौतिक क्षति करोडौंमा हुने गरेको छ । यता पहिरोको समस्या उस्तै छ । पहिरोका कारण हरेक वर्ष मानिसहरू विस्थापित हुने गरेका छन् । बाढीपहिरोले सयौँको सङ्ख्यामा मानिसहरू विस्थापित हुने अवस्था आउँदा पनि सरकार र सरकारी निकायले सतर्कता अपनाउने, सचेत गराउने खालका कार्यक्रमहरू ल्याएको पाइँदैन । नेपालमा जुन १३ देखि सामान्यतः मनसुन भित्रिने र सेप्टेम्बरसम्म रहने गर्छ । यस अवधिमा कतिपय नागरिकले आफ्ना नजिकका मान्छे गुमाउँछन्≤ भौतिक सम्पत्ति गुमाउँछन् । सरकारले यसबेलामा सामान्य जानकारी मात्रै दिने गरेको छ । मनसुनका बेला सतर्कता अपनाउनका लागि सूचना पहिलो सर्त हो ।

गतवर्ष मनसुनका समयमा मेलम्चीको बितण्डा अहिले पनि नागरिकले भुल्न सकेका छैनन् । हरेक वर्ष तराई डुबानमा पर्ने गरेको छ । बाढीको कटानले सयौँ बिघा जग्गा बगरमा परिणत हुने गरेको छ । २०६५ भदौ २ गते कोसीको बितण्डाको प्रभाव अझै कम हुन सकेको छैन । सयौँ नागरिकको जमिन अहिले पनि बगरमै सीमित छ । मनसुनका बेला यस्ता आम समस्या भोग्दै आएका नेपालीले राज्यबाट जुन तहको राहत पाउनुपर्ने हो, त्यो पाउन सकेका छैनन् । राहतका कुरा छाडौँ≤ कम्तीमा पनि सरकारले यस्ता बेलामा नदी तथा खोला किनारमा रहेका नागरिकहरूलाई सचेत गराउने संयन्त्रको विकास गर्न आवश्यक छ । सभ्यतासँग जोडिने नदी किनारमा बस्नेहरूका लागि भरपर्दो सूचना संयन्त्रको खाँचो छ । नागरिकले यसै पनि सरकारबाट धेरै अपेक्षा गरेका हुँदैनन् । नागरिकका लागि सरकारले गर्नुपर्ने दायित्व भुल्नु हुँदैन । एउटा सानो सूचनाले सयौँ नागरिकको जनधनको क्षति हुनबाट जोगिन्छ भने पक्कै पनि सूचना संयन्त्रको विकास आजको अपरिहार्य आवश्यकता हो । हामी प्रविधिको युगमा छौँ । प्रविधिले फड्को मारेको अवस्थामा नागरिकलाई प्रविधिमार्फत् नै सूचना दिने व्यवस्था सरकारले गर्न सक्दैन भन्ने हुँदैन । सरकारले आधुनिक प्रविधिलाई प्रयोग गरेर मनसुनका बेलामा सूचनालाई प्रभावकारी बनाउनेतर्फ कदम चाल्नुपर्छ । मनसुनका बेला मात्रै हैन≤ अन्य समय पनि नागरिकलाई सचेत गराउने, सूचना दिने संयन्त्रको विकास गर्न पछि पर्नु हुँदैन । नागरिकको सुरक्षामा ध्यान दिने दायित्व राज्यको हो । राज्य अभिभावक हुनुका नाताले मनसुनका बेलामा आउन सक्ने बाढीपहिरो तथा अन्य खालका विपद्हरूबाट बच्नका लागि भरपर्दो र दुरुस्त सूचना उपलब्ध गराउने जिम्मेवारी सरकारको हो ।

कतिपय विपद्हरूलाई रोकथाम गर्न सकिन्छ । सामान्यतः विपद् दुई किसिमले आउँछन् । एउटा प्राकृतिक र अर्को मानवीय । प्राकृतिक विपद्लाई हामी चाहेर–नचाहेर पनि रोक्न सक्दैनौं तर, त्यसबाट हुन सक्ने क्षतिलाई भने पक्कै पनि न्यूनीकरण गर्न सक्छौँ । त्यसका लागि पूर्व तयारी र भौतिक निर्माणमा वैज्ञानिक पद्दति अवलम्बन गर्न सक्छौँ । अर्को कृत्रिम वा मानवीय विपद् । यसलाई मानव निर्मित हुने भएकाले यसलाई नियन्त्रण पनि हामीले नै गर्न सक्छौँ । जस्तोः ढुङ्गागिट्टी दोहन, जथाभावी सडक निर्माणलाई नियन्त्रण, वनजङ्गल फँडानीलाई नियन्त्रण । यस्ता विषयमा गम्भीर भएर लाग्ने हो भने हामीले बाढीपहिरोलाई नियन्त्रण गर्न सकिन्छ । यसमा सरकारको नीति स्पष्ट हुनुपर्दछ । सरकारले बाध्यात्मक अवस्था लागू गर्नेतर्फ कदम चाल्नुपर्छ । नागरिकको दायित्वलाई पनि सम्झाउनुपर्छ । सूचना संयन्त्रको उल्लेखनीय विकासमा सरकारले कदम चाल्नुपर्छ ।