लागूऔषध प्रयोगकर्ता र कारोबारका हिसाबले देशकै दोस्रो जिल्ला सुनसरीमा लागूऔषध सबैभन्दा ठूलो चुनौती हो । प्रहरीको तथ्याङ्कका अनुसार लागूऔषधका कारण ९० प्रतिशत घटनाहरू जोडिने गरेका छन् । यससँग जोडिएर चोरी, डकैती, बलात्कार, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, यौनहिंसा र एचआईभीसम्म फैलिएको विगतको इतिहास छ । लागूऔषध प्रयोग गर्ने मानिसहरूलाई गैरसरकारी संस्थाहरूले रोगका रूपमा लिनुपर्छ भनी वकालत गरेको पनि पाइन्छ । तर, हालसम्म वैज्ञानिकहरूले यसलाई रोग हो कि अपराधको माध्यम भनी पत्ता लगाएको अवस्था छैन । नेपालको कानूनले यसलाई अपराधकै संज्ञा दिन्छ । त्यसकारण नै लागूऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाउँछ । अपराध हुनुमा यसको भूमिका अहम् रहेको प्रहरी अधिकारी नै स्वीकार गर्छन् ।
नेपालमा हिप्पी युगसँगै सुरुवात भएको मानिने यस्ता दुव्र्यसन घट्नेभन्दा हरेक वर्ष बढ्दो छ । प्रयोगकर्ताले प्रयोग गर्ने शैलीमा परिवर्तन गरिरहेका छन् अर्थात् खाने प्रवृत्तिमा परिवर्तन भएको छ । जसरी समाज परिवर्तनशील हुन्छ; त्यसरी नै अपराधका शैली र तरिकाहरू परिवर्तन हुँदै गएका छन् । लागूऔषध प्रयोगकर्ता र कारोबारीको तथ्याङ्क हेर्दा हरेक वर्ष घट्दो छ । प्रहरी अधिकारीका अनुसार तथ्याङ्क घट्नुमा प्रतिबन्धित औषधि सेवन गर्नेको सङ्ख्या बढ्दो छ । जसलाई औषधि व्यवस्था विभागले कारबाही गर्ने प्रावधान हुन्छ । यसकारण प्रयोगकर्ता र कारोबारीको सङ्ख्याको तथ्याङ्क घटेको मान्न सकिन्छ । तर, गम्भीर बन्नु पर्ने चाहिँ कहाँनेर हो भने प्रयोगकर्ताको प्रयोग गर्ने शैलीप्रति चिन्तित बन्नुपर्छ । प्रवृत्ति परिवर्तन जुन रूपमा भइरहेको छ ? त्यसलाई नियन्त्रण गर्न वा न्यूनीकरण गर्न चाहिँ प्रहरी अधिकारीहरू तथा कानूनका विज्ञहरूले कसरी अध्ययन गरिरहेका छन् त ? यो चाहिँ मुख्य विषय हो ।
कानूनले वर्जित गरेका कार्य भएमा त्यहाँ कानून आकर्षित हुन्छ । प्रहरी कानूनको कार्यपालक भएका नाताले उसले सबैभन्दा पहिला प्रयोगकर्ता होस् या कारोबारी । उसलाई नियन्त्रणमा लिएर कानूनअनुसार प्रक्रिया अगाडि बढाउँछ । तर पनि न्यूनीकरण हुन सकेको देखिँदैन; आखिर किन ? यसका थुप्रै कारणहरू हुन सक्छन् । पहिलो त, हाम्रो खुल्ला सिमाना । दोस्रो प्रहरीको निष्क्रियता । तेस्रो, कारोबारीसँग प्रहरीकै मिलेमतो । यी यस्ता कारणले गर्दा लागूऔषधसम्बन्धी अपराध नियन्त्रण हुन नसक्ने अवस्था आएको हुन सक्छ । यसमा कानूनको कार्यपालकको भूमिका नै अहम् मानिन्छ । कानुनवेत्ताले त अपराधको प्रवृत्ति तथा वातावरण कसरी परिवर्तन भइरहेको छ त्यसको अध्ययन गरेर अब कस्ता कानूनहरू ल्याउन सकिन्छ भन्ने विषयमा गम्भीर होला । त्यसकारण पहिलो दायित्व प्रहरीकै हो । प्रहरीपछि दोस्रो दायित्व नागरिकको हो । समाजमा हुने अपराधलाई नियन्त्रण गर्न नागरिकको अहम् दायित्व हुन्छ । हामीले कस्तो समाज बनाउने ? कस्तो वातावरणमा हुर्किने ? यसको लेखाजोखा नागरिकले गर्ने हो । सभ्य समाज निर्माण गर्ने दायित्व दायित्व जति नागरिकको छ; त्यति नै दायित्व प्रहरीको पनि छ । राज्यको पनि छ; राज्य सञ्चालन गर्ने सरकारको पनि छ । लागूऔषध जस्ता अपराध मात्रै हैन; सबै खालका अपराधलाई नियन्त्रण गर्नु नागरिक र प्रहरीको दायित्व हो ।