नेपालमा जङ्गली जनावर र मानवबीचको द्वन्द्व बढ्दो क्रममा छ । वनजङ्गल क्षेत्रमा मानवीय अतिक्रमण बढ्दा जनावरहरू बस्तीमा पस्ने र दुःख दिने गरेको पाइन्छ । पूर्वको झापामा लामो समयदेखि हात्ती र मानवबीच द्वन्द्व चलिरहेको छ । वन कार्यालयको तथ्याङ्क अनुसार हालसम्म झापामा हात्तीको आक्रमणबाट ५३ जनाको ज्यान गइसकेको छ भने मान्छेका कारण १३ वटा हात्ती मारिएका छन् । झापामा विशेषगरी हात्तीबाट सबैभन्दा पीडित मेचीनगरमा पर्ने बाहुनडाँगी हो । यो क्षेत्रमा स्थानीय जङ्गलबाट आउने हात्ती र भारतीय वनबाट आउने हात्तीहरुले दुख दिने गरेका छन् । मेची नदी तरेर भारतबाट आउने हात्तीहरूले स्थानीयका बालीनाली नष्ट गर्ने गरेका छन् । बाली नष्ट गरेपछि स्थानीयवासीहरू पनि हात्ती लखेट्न विभिन्न उपाय अपनाउने हुँदा हात्ती र मान्छेबीच द्वन्द्व उत्पन्न हुने गर्छ । अर्कातिर हात्तीबाट बाली जोगाउन किसानहरुले खेतबारीमा विद्युतीय करेन्ट प्रभाव गर्दा हात्तीहरू मर्ने गरेका छन् भने कहिलेकाहीँ हात्तीलाई थापेको यस्तो विद्युतीय पासोमा मान्छेसमेत परेर ज्यान जाने गरेको छ । झापाका लागि हात्ती एउटा ठूलो समस्याको विषयका रूपमा देखिएको छ । तर, हात्ती नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन ।
मानव–हात्ती द्वन्द्व समाधानका उपायको खोजी गर्न झापामा पटक पटक छलफल, अध्ययनहरू नभएका होइनन् । हात्ती आउने ठाउँमा विद्युतीय तारबार गर्ने र हात्ती धपाउने मान्छे खटाउनेजस्ता काम पनि भएका हुन् । तर, त्यतिले मात्र हात्ती नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन । बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टासम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको थियो तर, त्यो तारबार भारतीय जङ्गलबाट आउने हात्तीका बथानले भत्काइदिएका छन् । यस्ता उपायले मात्र हात्ती नियन्त्रण गर्न नसकिने प्रष्ट भइसकेको छ । हात्तीको समस्या दैनिक बढिरहेको अवस्थामा झापाका सांसद्हरू, प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिहरूसहितको टोलीले बाहुनडाँगीको सीमा क्षेत्र निरीक्षण गरेर समाधानको खोजी गर्ने प्रयास गरेको छ । यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । भारतबाट हात्ती आउने मुख्यनाकाको निरीक्षणपछि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगर–६ को बर्मेलीटोल देखि इलाम–सलकपुर तिरिङसम्मको करिब २५ किलोमिटर नेपालतर्फ तटबन्ध निर्माण गर्न सकेमात्र हात्ती समस्या नियन्त्रणमा आउने बताएका छन् । यो र यस्तै अन्य समाधानको खोजीका लागि विज्ञहरूसँग सहकार्य गरिनु आवश्यक छ । हात्ती र पर्यावरणका विज्ञहरूसँग सल्लाह गरेर हात्तीलाई रोक्न सकिन्छ । केही समयअघि देखि स्थानीयहरूले हात्तीलाई समस्याका रूपमा लिनुभन्दा पर्यटनको विकासमा लगाउन सकिने अवधारणा ल्याएका थिए । हात्तीलाई गाउँ पसेर विनाश गर्न नदिई मेची किनारसम्म आउने वातावरण बनाएर पर्यटनको विकास गर्ने सोच स्थानीयहरूको थियो । ग्रामीण पर्यटनका अभियन्तासमेत रहेका अर्जुन कार्की अहिले मेचीनगरको वडा नं. ४ का अध्यक्ष बनेका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी हात्तीलाई पर्यटन विकासमा लगाउने उपायहरूको खोजी गर्न वडाध्यक्ष कार्कीजस्ता अभियन्ताहरूको आवश्यकता छ ।
विज्ञहरूको भनाइमा जङ्गली जनावरहरू मानव बस्तीमा पसेका होइनन्, मान्छेहरू जनावरका क्षेत्रमा पसेका कारण द्वन्द्व उत्पन्न हुन्छ । जनावरहरूले होइन, उनीहरूको चरन क्षेत्र मान्छेले अतिक्रमण गरेको विज्ञहरूको मत छ । मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा हामीले यो कुरालाई पनि ध्यान पु¥याउनु आवश्यक छ । आफूले खाने, खेल्ने ठाउँमा मानव बस्ती बसेपछि जङ्गली जनावरहरूले आहार नभेट्ने र त्यही आहाराको खोजीमा उनीहरू बस्तीमा पस्ने गरेका छन् । पहिला जसरी जङ्गलमा पाइने खानेकुरा नभेट्दा मान्छेले लगाएका बालीमा उनीहरू पुग्छन् र खाइदिन्छन् । उनीहरूको बासस्थान र आहार विहार गर्ने स्थानमा मानवले गरेका अतिक्रमणलाई पनि कसरी कम गर्न सकिन्छ भनेर उत्तिकै सोच्नु पर्ने अवस्था छ । त्यसैले हात्ती नियन्त्रणका लागि विज्ञहरूसँग गम्भीर सल्लाह गरेर मात्र ठोस नीति बनाउनु आवश्यक छ ।