इटहरी उपमहानगरपालिकामा तीन दिनका लागि विद्यालय बन्द गरिने भएको छ । निरन्तरको वर्षाका कारण इटहरीका धेरै भु–भागहरमा डुवान र कटान हुन थालेपछि इटहरी क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले बर्खे विदाबाट कटौती गर्ने गरी असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरको शैक्षिक प्रशासनका उपसचिव सुर्य प्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार वर्षा संगै आएको बाढीका कारण बालबालिकाहरूलाई सुरक्षित राख्न तथा बाढी र डुबानका कारण बिस्थापित भएकाहरूलाई अस्थाइ रूपमा विद्यालयमा आवासको व्यावस्थापन गर्न पूर्वतयारीस्वरुप विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
विराटनगर महानगरपालिकाले पनि महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गरेर बाढी पीडितको अस्थायी आवासको रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।