कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्राभन्दा धेरै कम अथवा ७ प्रतिशतभन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा बिरामीहरूलाई रगत दिनुपर्ने हुनसक्छ ।
जस्तैः दुर्घटनाबाट अत्यधिक रक्तस्राव भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा, क्यान्सर रोगीलाई, सिकलसेल एनिमिया, थेलेस्मिया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्यधिक रक्तस्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविष्कार भए पनि कृत्रिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्यक्तिलाई रगत दिनुप¥यो भने मानवीय रगत नै चाहिने हुन्छ । त्यसैकारणले गर्दा रक्तदानको महŒवपूर्ण भूमिका रहेको छ । हरेक वर्ष विश्वभरका करोडौं मानिसहरूलाई रक्तदाताबाट प्राप्त रगत दिएर बचाउने गरिएको छ । एक पौण्ड रगतले करिब ३ जना मानिसको जीवन बचाउन सकिन्छ । प्राचीन समयमा पनि एक व्यक्तिको रगत अर्को व्यक्तिलाई दिने प्रचलन भने चलिआएको थियो । तर, रक्तसमूह नमिल्दा धेरै मानिसहरूको ज्यान जाने गर्दथ्यो ।
सन् १९०१ मा कार्ल ल्याण्डस्टाइनरले अनेक खोजपछि ब्लड ग्रुप पत्ता लगाए । त्यस समयबाट रगत दिने प्रक्रिया सहज भएर गयो । विश्वविख्यात नोवेल पुरस्कार विजेता उनै ल्याण्ड स्टाइनरको जन्म दिवस सन् १८६८ जुन १४ मा पर्छ । तिनै महामानवको जन्म दिवसमा विश्व स्वास्थ्य सङ्गठनले सन् २००४ बाट विश्व रक्तदाता दिवस मनाउने गरेको छ । त्यस दिन विश्वका लाखौं मानिसहरू गर्वकासाथ रक्तदान गर्न आतुर हुन्छन् र अरूलाई पनि रक्तदान गर्न हौसला बढाइरहेका हुन्छन् ।
कस्ता मानिसहरूले रक्तदान गर्न सक्छन् ?
– शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका व्यक्तिले,
– १८ वर्षदेखि ६५ वर्षसम्मका स्त्री तथा पुरुषले,
– ४५ किलोग्रामभन्दा बढी तौल भएका व्यक्तिले,
– कुनै पनि सरुवा रोगहरू जस्तैः एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिस, मलेरिया रोग रगतबाट सरुवा हुने अन्य रोगहरू नभएका स्वस्थ मानिसहरूले ।
कस्तो अवस्थामा रक्तदान गर्न मिल्दैन ?
– दीर्घकालीन रूपमा औषधि सेवन गरिरहने व्यक्तिहरूले,
– क्यान्सर रोग लागेर उपचार गरिरहेका व्यक्तिहरूले,
– महिनावारी भएको समयमा,
– ज्वरो, डाइरिया वा अन्य सरुवा रोगहरूले सताएको अवस्थामा,
– बच्चालाई दूध चुसाउने महिलाले,
– गर्भवती महिलाले,
– रगतको कमी भएका व्यक्तिहरूले,
– मुटुरोग भएका व्यक्तिहरू आदि ।
रक्तदान गर्न जानुभन्दा अघि र दान गरिसकेपछि के के कुरामा ध्यान दिने ?
– रक्तदान गर्नुभन्दा अघि केही हल्का झोलिलो खाना खाने,
– रक्तदान गर्नुभन्दा २४ घण्टाअघि र पछि रक्सी वा नशालु पदार्थ सेवन नगर्ने,
– रक्तदान गरिसकेपछि झोलिलो शक्ति दिने र सन्तुलित भोजन प्रयोग गर्ने ।
– रक्तदान गरेको ४–५ घण्टासम्म वजनदार भारी नबोक्ने, धेरै दौडधुप नगर्ने,
रक्तदानसम्बन्धी परम्परागत सोच तथा गलत धारणाहरू
– रक्तदान गर्दा कमजोरी हुन्छ,
– दाँत हल्लिन्छ र छिटो झर्छ,
– शरीरको प्रतिरोधात्मक शक्ति घटेर धेरै रोगहरूले सताउँछ,
– शरीरको रक्तचाप अस्थिर हुन्छ,
– धेरै दिनसम्म आराम चाहिन्छ,
– रोगहरू सर्छ,
– दुखाइ धेरै हुन्छ,
– रक्तदान गरेको हात पछि गएर सुक्छ,
– केस झर्छ,
– आँखा कमजोर हुन्छ इत्यादि ।
रक्तदान गर्दाका फाइदाहरू
– नामबाटै प्रष्ट हुन्छ कि दान गर्नु हाम्रो संस्कार अनुसार एकदमै महŒवपूर्ण र भलो कामको रूपमा चित्रण गरिन्छ । संसारमा भएका प्रायः सबै धर्मशास्त्रहरूमा पनि दानलाई पहिलो स्थान दिएको पाइन्छ । पुरानो समयमा हाम्रा अग्रजहरू दान गर्नुभन्दा अगाडि निराहार ब्रत बसी स्नान गरेर मात्र दान गर्ने प्रचलन थियो । यसले दान गर्ने दातालाई बडो आनन्द आउँथ्यो भने घरका साना नानीहरूमासमेत सेवा गर्ने भाव जागृत हुन्थ्यो । रक्तदानले त झन् मानिसको ज्यान नै बचाउने भएको हँुदा यसका फाइदाहरू यहाँ अक्षरले वर्णन गेरर नै सकिँदैन । घरमा भएका साना नानीबाबुहरूमा समेत सेवाभाव जागेर आउने साथै कसैले नयाँ जीवन पाउने भएको हुँदा रक्तदानलाई महादान पनि भन्ने गरिन्छ । यसमा रक्तदाताको कुनै खर्चसमेत नलाग्ने हँुदा धनी गरिब सबैको पहुँचमा छ रक्तदान ।
रक्तदान गर्दाका फाइदाहरूः
– शरीरमा स्फूर्ति ल्याउँछ,
– शरीर र मनमा भएको सकारात्मक असर र आत्मसन्तुष्टिले मन प्रफुल्लित रहनुका साथै रोगसँग लड्ने क्षमताको विकास हुन्छ,
– मुटु स्वस्थ रहनुका साथै शरीरमा आइरन तथा रातो रक्तकोषिकाको मात्रा सन्तुलित गर्दछ,
– शरीरको तौल सन्तुलित गर्छ,
– लिभर क्यान्सरको जोखिम कम गर्छ,
– रक्तचापलाई सन्तुलित राख्न सहयोग गर्छ,
– हड्डीको घनत्व बढाएर हड्डी तथा जोर्नीहरूलाई दह्रो बनाउँछ,
– रगतमा भएको ज्यादा कोलेस्टेरोल र अनावश्यक बोसोको मात्रालाई कम गर्छ,
– रक्तसञ्चारको वृद्धि भई शरीरका सबै अङ्गहरूमा सकारात्मक असर पर्छ,
– रक्तदानबाट शरीरको रङ, जात, धर्म, लिङ्ग, वर्ग, क्षेत्र आदिको विभेद अन्त्य गर्न सहयोग गर्दछ । किनकि दान गरिएको रगत जसलाई जरुरी हुन्छ, उसैलाई दिइन्छ ।
अन्त्यमा, मानव जीवनमा निश्चित समयमा रगत बन्ने र बिग्रने प्रक्रिया चली नै रहन्छ । यसलाई साँचेर राखे तापनि त्यो आफै बिग्रेर जाने हुन्छ । रक्तदान गरी जीवन बचाउनु संसारकै पुण्य काम भएको हुँदा रक्तदातालाई विभिन्न सङ्घ–संस्थाहरूले सम्मान गर्ने संस्कार बसाउनु जरुरी छ । आज पनि विश्वमा रगतको चरम अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमले केही हदसम्म रगतको पूर्ति गरी अकालमा ज्यान गुमाउनबाट बचाउन सकिन्छ ।
(ओली इन्खा एकीकृत अस्पताल इटहरी–४ सनसरीका अध्यक्ष हुन् ।)