भोजपुर । सतिप्रथा अन्त्य गर्न निरन्तर संघर्ष गर्ने क्रान्ति योद्धा योगमायाको नाममा विश्व विद्यालय निर्माण गर्नका लागि सरकारले सात करोड बजेट छुुट्याएको छ । योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणका लागि केन्द्र सरकारले सात करोड बजेट छुटयाएको हो ।

भोजपुरमा जन्मिएकी योगमायाको नाममा बन्न लागेको विश्वविद्यालयका लागि भोजपुुर र सखुवासभामा जग्गा खरिद प्रक्रिया अघि बढेको छ । विश्वविद्यालय निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिकामा २३३ रोपनी र सखुवासभाको खादवारी नगरपालिकामा ३७२ रोपनी जग्गा लिने मन्त्री परिषदको निर्णय अनुसार जग्गा खरिद प्रक्रिया अघि बढेको हो ।

भोजपुर र संखुवासभामा ६०५ रोपनी जग्गा खरिद गर्ने र अपुग भएमा सरकारी जग्गा समेत प्रयोगमा ल्याउने तयारी रहेको छ । भोजपुरमा प्रति रोपनी पचास हजार र सखुवासभामा एक लाखका दरले जग्गा खरिद गरिने षडानन्द नगरपालिका भोजपुुरका मेयर सुुरेन्द्र उदासले बताए ।

संखुवासभाको खाँदवारी नगरपालिका, ९ ढुङ्गा विसौनी र षडानन्द नगरपालिका, ६ बट्टार क्षेत्रमा जग्गा खोजी कार्य भइरहेको मेयर उदासले जानकारी दिए । मेयर उदासका अनुसार सखुवासभामा २२ रोपनी जग्गा यसअघि नै पास भैसकेको छ ।

पहिला भएको सम्झौता अनुसार संखुवासभामा प्रति रोपनी एक लाखका दरले जग्गा खरिद गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । भोजपुरका जग्गा धनिले भने प्रति रोपनी ५० हजार पाउने गरी पहिला नै सम्झौता गरेका हुन् ।

दुवै जिल्लामा जग्गा खरिद प्रक्रिया सपन्न भएपछि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने छ । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने प्रजिअ खतिवडाको भनाइ छ ।

यता भोजपुरवासीको भने योगमायाको जन्म भएको जिल्लामा बढी संरचना निर्माण हुुनुु पर्ने माग रहेको छ । उनिहरु भोजपुरमा भन्दा संखुवासभामा बढी जग्गा खरिद गर्ने मन्त्रीपरिषदको निर्णयमा समेत असन्तुष्ट रहेको मेयर उदासले बताए । उनले भने “जग्गा खरिदको प्रक्रिया भोजपुुरेका लागि न्यायोचित छैन , किनभने योगमायाको जन्म नै भोजपुरमा भएको हो , तर जग्गा भने संखुवासभामा बढी खरिद गरिने भएको छ , हाम्रो माग दुवै जिल्लामा बराबरी जग्गा खरिद हुनु पर्छ भन्ने हो ।”

को हुुन योगमाया ?

योगमाया कहाली लाग्दो सतिप्रथाको अन्त्यका लागि लड्ने एक महान क्रान्ति योद्धा हुुन् । उनको जन्म विक्रम सम्वत १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाँडामा भएको हो । देशमा सतिप्रथा अन्त्यको लागि पटक/पटक तत्कालिन राणा सरकारसँंग माग गर्दा पनि माग सम्बोधन नभएपछि योगमाया सहित ६८ जनाले एकै पटक समाधी लिएका थिए ।

सतिप्रथा, छुवाछुत अन्त्य लगाएत महिला मुक्तिका लागि आफ्नो अभियानको नारा लगाउदै विक्रम सम्बत १९९८ साल असार २२ गते अरुण नदीमा हामफालेर योगमाया सहित ६८ जना महिलाले सामुहिक मृत्युवरण गरेका थिए । उनीहरुले समाधी दिएको ठाउँ भोजपुरको षडानन्द नगरपालिका  ६ स्थित मजुवाबेँसीमा रहेको छ ।