ढिलै भए पनि धरान उपमहानगरपालिकाले घोपा बचाऊ आन्दोलनमाथि आफ्नो समर्थन नरहेको सूचना दिएको छ । यो सूचना किन र के उद्देश्यबाट प्रेरित थियो भन्ने बुझ्नका लागि केही दिनअगाडिको आन्दोलनकर्मीको भिडियो हेरे पुग्छ । जुन भिडियोमा आन्दोलनकर्मीमध्येकै एकले धरान उपमहानगरका प्रमुखमाथि अनेकन प्रश्न उठाएका छन् । त्यो प्रश्नपश्चात् नै नगर प्रमुखले आवेशमा आएर ‘आफ्नो समर्थन’ नरहेको सूचना दिएको देखिन्छ । आखिर तीन महिनाको अवधिमा यसअघि उनलाई किन यस्तो अनुभव भएन ? यो आन्दोलन जायज थियो कि थिएन भन्ने हिम्मत किन राखेनन् ? जब कसैले आलोचना गरेकै भरमा ‘आन्दोलनमा समर्थन’ नरहेको भनी आएको फेसबुक स्ट्याटसबाट ‘आलोचना खेप्न सक्ने सामथ्र्य नरहेको’ प्रतीत हुन्छ । कसैले प्रश्न उठाउँदा उसप्रति वैरभाव देखाउनु धरान उपमहानगरपालिकाका प्रमुख जत्तिको मान्छेलाई सुहाउँदो विषय हो कि होइन ? यो सोच्ने जिम्मेवारी उनैलाई । अब आन्दोलनतिर जाऊँ≤ यो आन्दोलन जुन पृष्ठभूमिबाट उठेर वार्तासम्म पुग्यो । त्यो ठीक थियो कि थिएन भन्ने प्रश्न हो । प्रश्न त्यतिमात्रै होइन≤ वार्तापश्चात् पनि आन्दोलन भइरहनुको अर्थ के हो ? यो आन्दोनलले गर्न चाहेको के हो ? सबै सबै अनुत्तरित छन् । यस आन्दोलनमा धरानेहरूले पनि खुलेरै साथसहयोग गरेको अवस्था छ ।

बीपी प्रतिष्ठानभित्रको सुधारका लागि यसअघि बीपी प्रतिष्ठानभित्रैबाट भएको आन्दोलन नै काफी छ । जसले सरकारलाई घच्घच्याउनसम्म सफल भएको छ । प्रतिष्ठानका कुलपतिको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवस्तरका वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गर्नुले नै आन्दोलनको औचित्य पुष्टि गरिसकेको थियो । किनकि चिकित्सक, नर्स तथा कर्मचारी सम्मिलित संयुक्त सङ्घर्ष समितिले पनि बीपी प्रतिष्ठानमा सुधार नै चाहेको थियो । त्यसो हुँदा अर्को आन्दोलन त्यो पनि आयातित आन्दोलन हुनुको कुनै तुक थिएन । बीपी प्रतिष्ठानको विषयमा धरानवासीलाई चिन्तै छैन भन्ने आसयबाट प्रेरित आन्दोलनप्रति यहाँका सचेत नागरिकले प्रश्न उठाएकै हुन् । यहाँका सचेत नागरिकले बेलाबेला प्रतिष्ठानमा धर्ना दिने र दबाव दिने कार्य नगरेका होइनन् । सुधार धरानवासीले पनि चाहेका छन् । प्रदेशकै गौरव बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान राम्रो ढङ्गबाट होस् भन्ने कसले चाहेको थिएन र छैन । आन्दोलनको एउटा मर्म हुन्छ; आन्दोलनबाट केही कुरा प्राप्ति भएपछि वा सहमति गरेपछि फेरि त्यही खालका आन्दोलनहरू हुनुलाई परिचालित आन्दोलन त हैन भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । यो आन्दोलनमा धराने जनताले जुन हिसाबमा सक्रियता देखाएका छन्; उनीहरूलाई धन्यवाद दिनै पर्छ । बीपी सुधारको आन्दोलनको नेतृत्व कुनै एउटा संस्थाले होइन≤ नागरिकले लिनुपर्छ ।

नगर प्रमुखमाथि जब कटाक्ष भयो, तबमात्रै आँखा खुलेजस्तो हुनु चाहिँ संयोग नै मान्नुपर्ने हुन सक्छ । तर, आन्दोलनको औचित्य त्यही दिन समाप्त भएको थियो जुन दिन उनीहरूले उपकुलपतिलगायतसँग वार्ता गरी समिति गठन गर्दै प्रतिवेदन बुझाएका थिए । त्यो प्रतिवेदनअनुसार प्रतिष्ठान प्रशासनले कार्यान्वयन नगरेको अवस्थामा खबरदारी गर्ने दायित्व हामी नेपाल संस्थालाई जान्थ्यो । तर, पनि बारम्बार उस्तै प्रकृतिको आन्दोलन गरिरहनुले बीपी प्रतिष्ठानलाई अन्यत्र सार्ने योजनाअनुरूप आएको हो कि भन्ने भान पर्न थालेको छ । यस कुरालाई नगर प्रमुख स्वयम्ले पनि उल्लेख गरिसकेका छन् । त्यसकारण आन्दोलनकर्मीहरूले धरानवासीको मनोभावना बुझ्न आवश्यक छ । किनकि धरानवासीले साथ नदिएको खण्डमा यो आन्दोलनको औचित्य त्यही दिन समाप्त हुन्छ । ‘चिनी पनि धेरै खाए तीतो हुन्छ’ भन्ने वाक्यांशलाई आन्दोलनको नेतृत्व गर्नेहरूले भुल्नु हुँदैन ।