भन्न त सबैले आफूलाई आधुनिक भन्छन् । २१ औं शताब्दीको समाजमा हुर्केको भन्छन् । आधुनिक अर्थात् स्मार्ट सिटीको कल्पना पनि गर्छन् । सभ्य समाजको गफ पनि दिन्छन् । तर, आफ्नो घरमा हुने विहेबटुलो, धार्मिक, सांस्कृतिक संस्कारजन्य कार्यक्रम आयोजना गर्नुपरे सडक नै ढाकेर हुन्छ कि तगारो लगाएर हुन्छ, बाटै बन्द गर्न नहिच्किचाउने समाजको पनि विकास भएको छ । सार्वजनिक सडक व्यक्तिको हुनै सक्दैन । त्यहाँ सार्वजनिक सवारी साधन हुँइकिन्छन् । साइकल यात्री, पैदल यात्री पनि हिँड्छन् । अझ बिरामी लिएर अस्पतालतिर गएका वा लिन गएका एम्बुलेन्सदेखि आगो निभाउने दमकलका लागि रातदिन खुला राख्नु पर्ने हुन्छ सार्वजनिक सडक । सडकका उपभोक्ता स्थानीय बासिन्दा नै हुन् । तर, पछिल्लो केही वर्षयता धरानमा सडक नै अवरुद्ध गरेर औपचारिक कार्यक्रम गर्ने, विहे भोजभतेर लगाउने, आमसभा गर्ने, कोणसभा गर्ने, आन्दोलन गर्ने कुचलन देख्दा आधुनिक सहरी संस्कार, संस्कृति, परम्परा र सभ्यताको गफ गर्न नथाक्नेहरूले आफैलाई व्यङ्ग्य गरिरहेको जस्तो लाग्छ । ताजा उदाहरणको रूपमा सोमबार धरानमा सम्पन्न उद्योग वाणिज्य सङ्घ सुनसरीको निर्वाचनलाई लिन सकिन्छ । सुनसरीका व्यापारी व्यवसायीहरूको साझा छातासङ्गठन उद्योग वाणिज्य सङ्घको निर्वाचन गर्न भनेर पुरानो बजारको सडक नै बन्द गरियो । जबकि धरानमा सवारी चापसँंगै पैदलयात्रीको घनत्व पनि बढेपछि सडक दुर्घटना न्यूनीकरण गर्न यो सडकलाई धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयको समन्वयमा ‘वन वे’ बनाइएको छ । सङ्घको निर्वाचनमा धरान–१ स्थित लक्ष्मी चोकदेखि धरान–३ सिंहदेवी चोकसम्म सडक बन्द गरिएको थियो ।
पहाडी जिल्लाबाट धरान आउने वा धरान हँुदै तराईतिर जाने ठूला सवारी साधनका लागि तोकिएको हो पुरानो बजारको सडक । तराईबाट पहाडतिर जाने सवारी साधनले भानुचोक–छाताचोक हुँदै सिधै जिरोपोइन्ट भएर जाने प्रबन्ध गरिएको थियो । तर, उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ट्राफिक कार्यालय र धरान उपमहानगरपालिका आफैले बनाएको नियम वा प्रबन्ध तोडियो । धरानमा सडक कब्जा गरेर आफ्नो कार्यक्रम गर्ने उद्योग वाणिज्य सङ्घमात्र एक्लो होइन, अरू सङ्घ–संस्था पनि छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार हुनुपर्छ भने र गैरसरकारी संस्था ‘हामी नेपाल’ को आयोजनामा तीन महिनायता डेण्टल गेटअगाडिको सडक अवरुद्ध गरेर आन्दोलन, नाराबाजी गर्दै आएको छ । त्यो सडक बिरामी बोकेर कुद्ने एम्बुलेन्स वा सार्वजनिक सवारी साधनका लागि हो । आन्दोलन र नाराबाजी गर्दै ओगट्ने खुल्ला पार्क होइन । आन्दोलन गर्नेहरूले नाराबाजी गर्ने, भाषण गर्ने स्थानको विकल्प नखोज्नु दुःखद् मान्नु पर्छ । त्यसो त धरानमा व्यक्तिगत कार्यक्रममा पनि सडकमा तगारो लगाएर बन्द गर्ने चलनले दिनदिनै प्रश्रय पाउँदै आएको छ । सडकमै टेन्ट लगाउने, भोजभतेर गर्ने कति छन् कति । सडक अवरुद्ध गर्नु हुँदैन भनेर त करिब ४८ वर्षअघि बनेको सडक ऐन २०३१ ले नै भनिसकेको छ । ०४८ वर्ष पुरानोसँगै स्थानीय सरकार सञ्चालन ऐनले कुनै पनि कार्यक्रम गर्ने बहानामा सडक अवरुद्ध गर्न दिँदैन ।
सार्वजनिक सडक ऐन २०३१ को दफा १९ मा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुनेसम्बन्धी व्यवस्था रहेको छ । दफा १९ को उपदफा १ मा सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्टा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै पनि कार्य गर्न नहुने भनेर स्पष्ट भनेको छ । सडक नै बन्द गर्नुपर्ने अवस्था आएमा वा कुनै पनि कार्य गर्नु परेमा सडक विभाग वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर, धरानमा सडक अवरुद्ध गरेर आफ्नो कार्यक्रम गर्नेहरूले प्रहरी प्रशासनसँग समेत समन्वय नगरी सडक अवरुद्ध गर्दै आएका छन् । सडक नै अवरुद्ध गरेर कार्यक्रम गर्ने, आन्दोलन र नाराजुलुस गर्ने, विहे भोजभतेर लगाउने असभ्य, अभद्र व्यवहार अपनाउने कुचलनलाई निरुत्साहित गर्न ट्राफिक कार्यालय, प्रहरी प्रशासन, धरान उपमहानगरपालिको ध्यानाकर्षण हुन जरुरी छ । यस सन्दर्भमा सबैभन्दा बढी त स्थानीय सडक उपभोक्ता नै सचेत हुन जरुरी छ ।