विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै आएका विद्यार्थीहरूले पाठ्यक्रमअनुसार विभिन्न परिकारहरू बनाएका छन् । पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले बिहीबार कलेजपरिसरमा रहेको रेष्टुरेन्टमा विभिन्न परिकार बनाएका हुन् ।

होटल म्यानेजमेन्टको पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत ६० जना विद्यार्थीहरूले बनाएका विभिन्न परिकार आगन्तुक अतिथिहरूलाई खुवाएका थिए । उनीहरूले बनाएका विभिन्न ‘कन्टिनेन्टल’ खानाहरू ‘फुड टेष्टिङ’ कार्यक्रम अन्तर्गत प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले सिकेको सीपलाई अहिले व्यवहारमा उतारेका हुन्’ कलेजका निर्देशक भेषराज पोखरेलले भने, ‘उनीहरूले कलेजमा सिकेको सीपलाई खानामा परिवर्तन गरेका हुन् ।  विद्यार्थीले बनाएको परिकार भोलिका दिन प्राक्टिल फिल्डमा जाँदा पयर्टकलाई प्रभावित बनाउन सक्नेछन् ।’

होटल म्यानेजमेन्ट भनेको खाना पकाउन सिकाउने मात्र नभएर यो प्राविधिक विषय भएको कलेज प्रमुख भरत सापकोटाले बताए । ‘पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो ।

पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातावरणमा बिदाइ गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो’ उनले भने, ‘नपढेकाले पनि होटल चलाउन सक्छन् । तर, जसले पढेर होटल क्षेत्रमा काम गर्छ, उसले दिने सेवा धेरै फरक हुन्छ । गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ ।’

ब्याचलर अफ होटल म्यानेजमेन्ट स्नातक तहको चार वर्षे कोर्ष हो । जसमा ८ वटा सेमेस्टर हुन्छन् । हिमालय दर्शन कलेजमा अन्य विभिन्न कोर्षहरू पनि पढाइ हुने गरेको छ ।