नगरपिता हर्कराज राई (साम्पाङ) ज्यूले धरानको लागि धेरै कामहरू गरिसक्नुभएको छ । गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा धराने जनताहरूले हर्कराज राईलाई रोजे र उहाँले निकटतम् प्रतिद्वन्द्वीलाई करिब ५ हजार मतान्तरले पछि पार्दै जित्न सफल भएका छन् । धरानमा मेयरले उपमेयरको भन्दा कुल मत थोरै कम हुनेगरी धराने जनताले मेयरको लागि इख देखाएका हुनकि भन्ने चर्चा चलेको पाइन्छ । यस्तो अवस्थाबाट निर्वाचित भएका हर्कराजले काम गरेर जनतालाई परिणाम दिनुपर्ने हुन्छ ।

वर्तमान अवस्थामा मेयरले नगरपालिकाको स्कारपियो गाडी बेचेर बाटो मर्मतको लागि रोलर खरिद गर्ने निर्णय गरेका छन्, जुन प्रशंसनीय  छ । यस सम्बन्धमा राम्रा र नराम्रा दुवै पक्षहरूको बारेमा चर्चा गर्ने प्रयत्न गर्नुपर्ने हुन्छ ।

राम्रा पक्षहरूः
- हर्कराजको पछिल्लो निर्णयले चाँडै नै धरानमा बाँकी रहेका बाटाहरू पिच हुने र बिग्रेका बाटाहरूको मर्मत पनि हुने सम्भावना बढेर गएको देखिन्छ ।
- धरान उपमहानगरपालिका आर्थिक मितव्ययिताको फाइदा प्राप्त गर्नुपर्ने तर्फ अग्रसर भएको  देखिन्छ ।
- मेट्रो सिटी बनाउने लक्ष्यलाई मद्दत पु¥याउने देखिन्छ ।
- हर्कराजले अब आउँदो हिउँदमा धरानमा हुने पानीको सङ्कटलाई कसरी समाधान गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
नराम्रो पक्षहरूः
- हर्कराजको बिदाइपश्चात् आउने मेयरले तुरुन्त नयाँ गाडी किन्नुपर्ने हुन्छ ।
- स्कारपियो गाडी ३० लाखमै बेच्न खोज्नु अहिलेको मूल्यमा मेल खाँदैन, जसले नगरपालिकालाई आर्थिक घाटा हुनेछ ।
- खरिद गर्ने भनिएको रोलरले बाटो सम्याउँदा लेवलिङ हुँदैन, त्यसको लागि गिट्टी सम्याउने डोजर पनि सँगसँगै ल्याउनुपर्ने हुन्छ ।

हर्कराजलाई धरानको विकास गर्ने सवालमा धेरै नै चुनौती भए पनि धराने जनताले धेरै नै आशा राखेको पाइएको छ । हर्कराजले धरानको मुख्य समस्याको रूपमा रहेको बाँदर आतङ्कलाई समाधान गर्नको लागि आँप, लिच्चीलगायतका बिरुवाहरू विजयपुर, पञ्चकन्या क्षेत्रमा लगाउने कार्य गरिरहेका छन्, जसले आगामी दिनहरूमा बाँदरको आतङ्क क्रमशः कम हुने उनको भनाइ छ । यतिले मात्र पुग्दैन, अम्बा प्रजातिका बिरुवाहरू लगाएमा चाहिँ बाह्रैमास फल फल्ने भएकोले बाँदरहरूको  आतङ्क कम हुनेहँुदा त्यतापट्टि पनि मेयरसा’वको ध्यान जानुपर्ने देखिन्छ ।

विगतमा घोपा बचाउ आन्दोलनको नेतृत्व गर्नुभएका हर्कराजलाई अहिले आएर मान्छेको ज्यानभन्दा वृक्षरोपण गौण हो भनी घोपा बचाउ आन्दोलनमा केही व्यक्तिले वर्तमान मेयर हर्कराज राईलाई उनले विगतमा केही गरेका छैनन् भनी चर्को आलोचना सुरु भएको अवस्था पनि छ । त्यस प्रकारका विरोधी अप्ठ्यारा मतदाताबाट समेत उनले भोट प्राप्त गरेका थिए । त्यो पक्षलाई समेट्न केही कठिनाइ हुन्छ नै । यसका बावजुद पनि उनले अहिलेको घोपाको आन्दोलन समयसापेक्ष नभएको, यसले अन्ततः घोपा नै अन्यत्र सर्ने खतरा बढेकोले आन्दोलन तुरुन्त रोक्नुपर्ने नत्र राज्यले हस्तक्षेप गर्ने सङ्केत गरेका छन् ।

अर्को बेथितिका आवाजहरू पनि आएकै हुन् । भानुचोकमा केही व्यक्तिहरू हर्कराजले हाम्रा कुरा सुनेनन् भनी धर्ना दिएर मेयरलाई पसिना पसिना तुल्याइदिएको अवस्था पनि छ ।

जेहोस्, धरानको मेयर भएर प्रशंसा पाउन सजिलो हुन्छ तर, धराने जनताको विविधता जान्नु राईको लागि धेरै नै जटिल छ । अब धराने जनताले हर्कराजबाट यातायात कार्यालय धरानमा फर्काउने, मालपोतलाई थप व्यवस्थित गर्ने, दोहोरो करप्रणाली हटाउने, निर्वाचनताका भनिएको कर घटाउने, दुव्र्यसनीलाई सुधार्ने, रातारात इटहरी सारिएको नेपाल टेलिकमको कार्यालय धरान फर्काउने, घोपामा सर्वसाधारण  जनताले उपचार गर्नसक्ने बनाउने, खानेपानीलाई जनताको पहुँचसम्म पुर्याउने र पानी नियमित उपलब्ध गराउने आशा र विश्वास लिएका छन् ।

धरानलाई मेट्रो सिटीको अवधारणा अन्तर्गत धरान उपमहानगरको समग्र भागलाई छुने गरी रिङरोडको निर्माण गर्ने, छाडा छोडिएका साँढेहरू जस्तै धरानका निजी विद्यालयहरूले असुलिरहेको चर्को शुल्क घटाउने आदि कुराहरूको समाधानको आशा गरेर बसेका छन् । यी कुरा हर्कराजले पूरा गर्नसके भने उनको आगामी यात्रा अझ सहज बनेर अगाडि बढ्ने देखिन्छ, हैन भने उही पुरानै रोग दोहोरिने कुरामा दुईमत छैन । 

धरान–१६, विद्युत् प्राधिकरण मार्ग