जङ्गली जनावर हो बाँदर । तर, अचेल गाउँ–सहरमा पसेर आतङ्क मच्चाइरहेछन् ती जङ्गली जनावरले । धरानमा बाँदरहरूले आतङ्क मच्चाएको दुई दशक बढी भएको छ । पछिल्लो समयमा जङ्गली बाँदर सहर छिरेसँंगै झन् आक्रामक हुन थालेका छन् । मुख्यगरी धरानको १, २, ३, ४, ५, ६ र १५ लगायतका वडाका स्थानीय बासिन्दालाई दुःख दिने गरेका छन् । बाँदर घरमा पसेर पकाएर राखेको भात खाइदिने, बिजुली बत्ती फुटाइदिने, पोलको बिजुली बत्ती बिगार्ने, पर्दाहरू च्यातिदिने, बाटोमा एक्लै हिँडिरहेका महिला र बालबालिकालाई आक्रमण गर्ने, झ्यालका सिसा फुटाउने जस्ता गतिविधिले स्थानीय बासिन्दा पीडित बन्दै आएका छन् । बाँदरबाट पीडित बनेका धरानवासीले ०७० सालमा बाँदर पीडित सङ्घर्ष समिति नै गठन गरेर बाँदरको व्यवस्थापन गर्न माग गरेका थिए । समितिले धरान उपमहानगर, प्रदेश सरकार र सङ्घीय सरकारलाई ज्ञापन–पत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो । प्रदेश सभा सदस्य सावित्रा जोशीले धरानमा बाँदरले आतङ्क मच्चाएकोले व्यवस्थापन गर्न पटक–पटक कुरा उठाइन् । तर, प्रदेश सरकारले पनि बाँदर आतङ्क नियन्त्रणमा कुनै कार्य गरेको देखिँदैन । धरान उपमहानगरपालिकासँग बाँदर आतङ्क रोक्ने कुनै उपाय थिएन । केही नलागेपछि ०७४ सालमा उपमहानगर र स्थानीयको आर्थिक साझेदारीमा भारतको लखनउबाट ल्याइएका बाँदर नियन्त्रकले ३ सय बाँदर समातेर बर्दिया राष्ट्रिय निकुञ्जमा छाडेका थिए । तर, त्यो पनि दिगो समाधान भएन ।

वर्षदिन नबित्दै धरानमा फेरि उही आतङ्क दोहोरियो । अहिले पनि जारी छ बाँदर आतङ्क । यो बाँदर आतङ्कका बीच धरानका प्रमुख हर्कराज साम्पाङले बाँदरलाई सहर पस्नबाट रोकेर जङ्गलमै सीमित गर्न धरान आसपासका जङ्गल क्षेत्रमा फलफूलका बिरुवा रोप्ने अभियान सुरु गरेका छन् । प्रमुख साम्पाङको विचारमा जङ्गलमै बाँदर अघाउने गरी फलफूल फलाउन सके सहर पस्दैनन् । यो धारणालाई गलत भनिहाल्न त सकिन्न तर, जङ्गलका सयौं बाँदरको जत्थालाई पुग्ने फलफूल फलाउन सकिन्छ कि सकिन्न ? सहरका मान्छेलाई फलफूल नपुगेको बेला बाँदरका लागि भनेर हाल रोपिएका फलफूलका बिरुवामा ५–१० वर्षपछि फल पनि लाग्ला । त्यसबेला मान्छे र बाँदरबीच फेरि जङ्गलमा लुछाचुँडी नहोला भन्न सकिन्न । आधा दशकअघि मानिसको जनसङ्ख्या कम थियो । वन जङ्गल पनि घना थिए । जङ्गलमै फल्ने आँप, केरा, बर, काफल, अमला, तित्री, अम्बा, भकमिलो, फडिर, गोगुन, जामुन, कदमले शाकाहारी जङ्गली जनावर अघाउँथे । अब ती समय इतिहास भए । घना जङ्गल मासिएर सीमित भएको छ । यस्तो अवस्थामा जङ्गली बाँदरको आतङ्कबाट मुक्ति पाउन धरानका प्रमुख साम्पाङले गरेको प्रयासलाई उत्कृष्ट मान्न सकिएला तर, कति सम्भव छ भन्ने प्रश्नको उत्तर भने दिन सकिन्न । धरानको बाँदर आतङ्क नियन्त्रणसम्बन्धी अध्ययन गरेका बाँदरविज्ञ डा.मुकेश चालिसे र युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सबाट ‘नेपालमा रातो बाँदर–मानव द्वन्द्व’ मा विद्यावारिधि गरेकी सविना कोइरालाका भनाइ मान्ने हो भने गाउँ–सहर आसपास बचेखुचेका जङ्गलमा फलफूलको वृक्षरोपण गर्दैमा पूर्ण नियन्त्रण हुँदैन । केही कम भने हुन सक्छ । धरानमा जबसम्म जङ्गली बाँदर नियन्त्रण गर्न वैज्ञानिक र प्रभावकारी पहल हुन्न, तबसम्म बाँदर आतङ्क रहने निश्चित छ ।

जङ्गलका बाँदर पक्रेर अर्को जङ्गलमा पु¥याउने अभ्यास गरियो र त्यो अभ्यास असफल भइसकेको छ । यसर्थ रणनीतिक र तहगत रूपमा काम गर्नुपर्ने हुन्छ, बाँदर नियन्त्रण गर्ने नै हो भने । स्थानीय सरकार, वन र सरोकारवाला निकायबीच एकीकृत रूपमा नलागेसम्म बाँदर आतङ्क जस्ताको त्यस्तै रहन्छ । बाँदरको बानी व्यहोरा बिगारेर सहर पस्ने वातावरण मान्छेले नै बनाएकाले अब बाँदरलाई बुझ्ने मान्छेको अवधारणामा परिवर्तन आउनु पर्छ । विज्ञहरूले माया र धर्मका नाममा बाँदरलाई जुनसुकै स्थानमा खाना दिँदा बानी बिग्रने र अरूबेला त्यही आशाले बटुवामाथि आक्रमण गर्ने बताउँदै आएका छन् । बदमास बाँदरलाई अस्पतालमा अनुसन्धानका लागि प्रयोग गरेर र भाले जातिलाई परिवार नियोजन गरेर पनि नियन्त्रण गर्न जरुरी छ । सामुदायिक वनहरूमा बाँदर बाहिर निस्कन नसक्ने गरी तारजाली गरेर पनि नियन्त्रण गर्न सकिन्छ । योसँंगै परिवारसँग बस्न रुचाउने सामाजिक प्राणी पनि भएकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरको पारिवारिक संरचना तथा आनीबानीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । समस्याको शीघ्र समाधानका लागि भौगोलिक स्थान, वन्यजन्तुको बासस्थान, सङ््ख्या, समूह र सामाजिक व्यवहारलगायतको वैज्ञानिक अध्ययन गर्नुपर्ने हुन्छ । बाँदर आतङ्क नियन्त्रणका लागि सन्तुलित वनको अवधारणा विकास गर्नु अर्को जरुरी पक्ष हो ।