धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०७९÷८० बाट कानून विषयको अध्ययन अध्यापन सुरु गर्ने भएको छ ।

स्कुलले कक्षा ११ र १२ मा कानून विषय पठन–पाठनका लागि तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पछिल्लो समय कानूनको पढाइ सबै क्षेत्रका लागि अपरिहार्य भएकाले माध्यमिक तहदेखि नै पठन–पाठन सुरु गर्न लागिएको स्कुलका भाइस प्रिन्सिपल विजयसिंह थेवेले बताए ।

उनले कानूनको कक्षा सञ्चालनका लागि प्रतिसेक्सन ३० जनाका दरले जम्मा ९० जनालाई पढाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको बताए । उनले भने, ‘उपमहानगरपालिकाको शिक्षा महाशाखाबाट अनुगमन पनि भइसकेको छ । हाम्रो सबै मापदण्ड पूरा भएकाले चाँडै अनुमति–पत्र प्राप्त हुनेमा विश्वस्त छौं ।’

स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राईले कानूनी शिक्षा रोजगारमुखी भएकाले विद्यार्थी र अभिभावकको आकर्षण रहेको बताए । उनले कक्षा ११ र १२मा कानून विषय पढेका विद्यार्थीले न्याय सेवामा सुब्बाका लागि प्रतिस्पर्धा गर्न सक्ने, लेखापढी व्यवसाय सञ्चालन गर्न सक्ने तथा बि.ए., एल.एल.बी. अध्ययन गर्न सक्ने बताए । उनले भने, ‘अन्य विषयभन्दा कानून पढेका विद्यार्थीका लागि धेरैतिर अवसर भएकाले पनि अहिले सबैको आकर्षण छ ।’

स्कुलमा कानून पढाइ हुने भएपछि अन्य स्कुलका विद्यार्थीहरू बुझ्न आइरहेको उनले बताए । हिबिस्कसले गतवर्ष उपमहानगरपालिकाबाट कक्षा ११ र १२का लागि विज्ञान विषयका लागि अनुमति पाएको थियो । विद्यालयमा हाल जम्मा ३ सय ५० विद्यार्थी रहेका छन् ।