नेपालको भूराजनीति यसरी जोडिएको छ कि दुई ठूला महान् देशका बीचमा हामी छौँ । शाह राजा पृथ्वीनारायण शाहले त्यसै भनेका थिएनन्–दुई ढुङ्गाबीचको तरुल । नेपाली हामी यसरी जकडिएका छौँ कि दुई ठूला शक्ति राष्ट्रहरूलाई पाखा लगाएर कुनै पनि काम गर्न सक्ने अवस्था छैन । किनकि तीनतिर भारत र एकतिर चीनको सिमाना जोडिएका कारणले पनि नेपालको भूराजनीतिमा यी दुई शक्ति राष्ट्रहरू कुनै न कुनै ‘एङ्गल’ बाट जोडिएकै हुन्छन् । नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो । यी शक्ति राष्ट्रको बहुआयामिकतालाई मध्यनजर गरेर नेपाल पनि अगाडि बढ्नुपर्ने बाध्यता छ । यी दुई शक्ति राष्ट्रलाई सदैव साथ लिएर अगाडि जानुपर्ने अवस्था छ । भूपरिवेष्ठित देश भएकाले पनि समुन्नत देश बनाउनका लागि दुई राष्ट्रको साथ र सहयोग अति नै आवश्यक पर्छ । किनकि हिजोदेखिको दौत्य सम्बन्धलाई अक्षूण राख्नु नेपालका लागि आवश्यकता हो ।

यस्तो परिस्थितिबाट गुज्रिँदै आएको हाम्रो देशमा भर्खरै चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को उच्च नेता लिउ चियान छाओको भ्रमणको सन्देश के हुन सक्छ ? चिनियाँका उच्च शीर्षस्थ नेताहरूको तारन्तारको भ्रमणले के सन्देश दिन खोजिरहेको छ ? यहीबीच नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसद्बाट पारित गरेको अवस्था छ । नेपालमा अमेरिकी चलखेल बढ्नुलाई पक्कै पनि चीनले निको मानिरहेको छैन । त्यसकारण पनि अमेरिकी हस्तक्षेप र शक्ति सन्तुलन गर्नका लागि पनि चीनका शीर्षस्थ नेताको छोटो समयमा नेपाल भ्रमणलाई लिन सकिन्छ । अझ चीनका राष्ट्रपति सी जीन फिङको भ्रमण यता मात्रै चारजना उच्च पदस्थ नेताहरू आउनुलाई गम्भीर रूपमा हेरिएको छ । चीनसम्बन्धी जानकारहरूले चीनको नयाँ रणनीति अर्थात् ‘पोलिटिकल पार्टिज प्लस’ हो । यसको अर्थ चीनले नेपालमा भएका कम्युनिष्ट दलहरूबाहेक पनि अन्य दलहरूसँग पनि सहकार्य र सम्बन्ध सौहाद्र्रपूर्ण बनाउने लक्ष्य हो । यही लक्ष्यका साथ अगाडि बढेको चीनको भित्री लक्ष्य अन्य पनि हुन सक्ने अनुमान चीनसम्बन्धी जानकारहरूको छ । चीनको भित्री ‘इन्ट्रेस’ भने बेल्ट एन्ड सिल्क रोड (बीआरआई) पनि हो ।

नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चाहना राखेको प्रष्ट देखिन्छ । विशेषगरी अमेरिकी हस्तक्षेपबाट चीन सतर्क रहन चाहन्छ । किनकि अहिले चीन र अमेरिकाबीचको शीतयुद्ध चलिरहेको छ । यस्तो अवस्थामा चीनले नेपाल जस्तो देशमा उसको हस्तक्षेप नबढोस् भन्ने चाहना राख्नु स्वभाविकै हो । नेपालसँगै जोडिएको तिब्बत उसको सबैभन्दा बढी चासो छ । किनकि चीनको स्वशासित क्षेत्र तिब्बतमा अमेरिकी गतिविधि हुन नपाओस् भन्ने चाहनाबाट चीन प्रेरित छ । शाह राजा पृथ्वीनारायण शाहले भने जस्तै दुई ढुङ्गाबीचको तरुल नेपालले परराष्ट्र नीतिलाई कसरी अगाडि बढाउँछ भन्ने नै हो । यही बेला नेपालमा गहिरो आर्थिक सङ्कटमा फस्ने खतरा बढिरहेको छ । यस्ता बेलामा विदेशी गतिविधि त्यसमा पनि शक्ति राष्ट्रहरूले विभिन्न गतिविधि गर्न सक्ने सम्भावना प्रबल छ । यस्ता बेलामा नेपाल पनि सतर्क रहन आवश्यक छ । किनकि नेपाल सार्वभौम शक्ति सम्पन्न मुलुक हो । यसका आफ्नो मूल्य र मान्यताहरू छन् । आफ्नै परराष्ट्र नीति छ । पञ्चशीलको आधारमा नेपालले विदेशीहरूसँग परराष्ट्र नीतिलाई अँगाल्दै आएको अवस्था छ । त्यसकारण यसलाई अक्षूण राख्नु नेपालको दायित्व हो । यो दायित्वबाट नेपाल र नेपाल सरकारका अधिकारीहरू नचुकून् ।