धरान । धरान उपमहानगरपालिकाले सोमबार गरेको ‘सार्वजनिक सुनुवाइ’ मा भगवती निम्न माध्यमिक विद्यालयमा हालै प्रधानाध्यापकको जिम्मेवारी पाएका अच्युत पराजुली बोले, ‘स्कुल लागिरहेको समयमा फुटबल खेल्ने, क्रिकेट खेल्ने, हो–हल्ला गर्ने र कक्षा नै डिस्टर्व गर्ने काम भइरहेको छ । स्कुल खेलमैदान भयो । दुव्र्यसनीको अखडा भयो, सुनिदिनुपर्यो ।’
६९ वर्षअघि २०१० सालमा भगवती मिडिल स्कुलको नाममा स्थापना भएको धरान–१६ को सामुदायिक स्कुल हो; भगवती नि.मा.वि. । जहाँ करिब एक सय ५० जना विद्यार्थी पढ्छन् । गरिब तथा विपन्न नागरिकका छोराछोरी पढ्ने स्कुल भएकैले निकै हेपिएको झैँ छ । अर्कातिर स्कुल वरपर खुल्ला चउर नहुँदा स्थानीयले स्कुलकै चउरलाई फुटबल, क्रिकेट, भलिबल मैदान बनाएका छन् । स्कुलको चउर करिब १८ कठ्ठामा फैलिएको छ ।
‘स्कुल क्षेत्र जम्माजम्मी ४ कठ्ठामा छ होला’ प्रअ पराजुलीले भने, ‘अरू सबै गौचरन र मैदान बनेको छ ।’ स्कुलले पर्खाल लगाउन नसक्दा स्थानीय युवाहरूका लागि खेलमैदान मात्रै बनेको छैन; दुव्र्यसनीको अखडा पनि बनेको प्रअ पराजुलीको गुनासो छ । जसको प्रत्यक्ष पीडामा स्कुल प्रशासन, शिक्षक तथा विद्यार्थी बन्ने गरेका छन् ।
प्रअ पराजुलीले भने, ‘स्कुल लागिरहेकै समयमा खेल्छन्, कहिलेकाहीँ त बच्चालाई नै फुटबलले लाग्छ । अवस्था यस्तो छ ।’ उनका अनुसार धरान–१, १३, १६ र २० नम्बर वडाका सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट पढ्नका लागि बच्चाहरू आउने गरेका छन् । विद्यालय सुधार्नका लागि पर्खाल पहिलो आवश्यकता भएको छ ।
२ बिघा २ कठ्ठा साढे ५ धुरमा फैलिएको विद्यालयको जग्गा स्थानीयको पेवाजस्तै भएको विद्यालय प्रशासनको गुनासो छ । सार्वजनिक सुनुवाइमा उनको गुनासो सुनेपछि धरान उपमहानगरका प्रमुख तथा उपप्रमुखले नै मङ्गलबार स्कुल परिसरमा पुग्ने प्रतिबद्धता गरे । सोही प्रतिबद्धताअनुसार पुगेका प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघालाई उनले थप गुनासो पोखे, ‘मैदानको समस्या मात्रै हैन; स्कुलको छाना चुहिने उस्तै समस्या छ ।’
२०४५ सालमा निर्माण गरिएको भवनको छाना वर्षाको समयमा चुहिने गरेको छ । जसका कारण पढ्ने बेलामा स्कुलको कक्षा कोठा भैँसी बस्ने आहालजस्तै हुने गरेको प्रशासनको गुनासो छ ।
प्रअ पराजुलीले स्कुल रुग्ण रहेकाले सुधारका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताए । किनकि अहिले कक्षा १२ सम्म अध्ययन हुने स्कुलहरूको संरक्षणदेखि सञ्चालनको अधिकार स्थानीय तहलाई आएको छ । संविधानले दिएको २१ वटा अधिकारमध्ये एउटा अधिकार स्कुल संरक्षण र सञ्चालन पनि हो । यही आधारअनुरूप पनि स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका कार्यक्रम ल्याउने पहिलो दायित्व हो । प्रअ पराजुलीले वर्षाका समयमा पानी चुहिएर कक्षा कोठा आहाल हुने र विद्यार्थीलाई पठन–पाठनमा समस्या हुने गुनासो पोखे । उनले भने, ‘कक्षा कोठाको बेहाल त छँदै छ । अर्कातिर खुल्ला चउर स्थानीयको गौचरन र फोहोर फाल्ने डम्पिङ साइट बनेको छ ।’
उक्त स्कुल वरिपरि पर्खाल नहुँदा अन्य सामाजिक समस्या पनि उस्तै गरी छरपष्ट छन् । स्कुलकै जग्गा वरिपरि खोल्सी भएका कारण लागूऔषध सेवन गर्ने थलो बनेको छ । खोल्सीले झण्डै अढाइ कठ्ठा खाइदिएको छ । त्यो खोल्सी युवाहरूको सेवन गर्ने थलो मात्रै नभएर झगडा गर्ने स्थान बनेको छ । त्यसकारण पनि स्कुललाई सुरक्षित वातावरणमा पठन–पाठन गर्नका लागि ‘कम्पाउन्ड वाल’ को आवश्यकता महसुस गरिएको प्रअ पराजुलीको तर्क छ । प्रअ पराजुलीले स्थानीय सरकारले सहयोग गरेको खण्डमा नमुना स्कुल बनाउने प्रतिबद्धता गरे ।
२०४४ सालदेखि पराजुली शिक्षकका रूपमा उक्त स्कुलमा छन् । गत वैशाख ४ गतेबाट उनी प्रअ बनेका हुन् । ३५ वर्ष सोही स्कुलमा सेवा गरिसकेका प्रअ पारजुली स्कुललाई नमुना बनाउन कस्सिएका छन् । हाल नौ जना दरबन्दी, दुईजना राहत, एकजना बालविकास र एक जना कर्मचारी गरी कुल १३ जना छन् । यो स्कुलका पहिलो प्रअ सूर्यप्रसाद उपाध्याय हुन् । हाल उनी दिवङ्गत भइसकेका छन् ।
समितिले प्रमुख राई र उपप्रमुख बेघालाई स्कुल नमुना बनाउने कार्यपत्र पनि पेश गरेको छ । ‘विद्यालय विकासका निम्ति गर्नुपर्ने कामहरूको फेहरिस्त दिएका छौँ’–उनले भने । विद्यालयका प्रधानाध्यापक पराजुली, व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुनिल नेपाललगायतले विद्यालयको अवस्था, समस्या र भावी योजनाबारे स्थलगत निरीक्षण गराउँदै प्रमुख राई र उपप्रमुख बेघालाई ध्यानाकर्षण गराए ।
प्रमुख साम्पाङले ज्ञान हासिल गर्ने थलो विद्यालयको अवस्था दयनीय भएकामा चिन्ता व्यक्त गरे । उनले सरकारी विद्यालय, सरकारी अस्पतालको अवस्थाबारे चिन्ता प्रकट गर्दै सबैले सरकारी संरचनाहरूलाई माया गर्न पनि आग्रह गरे । प्रमुख राईले स्कुलको पर्खालका लागि पहल गर्ने साथै स्कुलको चउरलाई स्पोर्टस् एकेडेमीका रूपमा विकास गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने आश्वासन दिएका छन् । प्रमुख र उपप्रमुखले स्कुलको खेलमैदान, कक्षाकोठा, खोल्सीलगायतको अनुगमन गरेका थिए ।