भोजपुर । भोजपुरमा कवि तथा कथाकार दिलिप बान्तावाको ‘ताल्चा’ कथा संग्रहको परिचर्चा भएको छ । २०९ औ भानु जयन्तीका अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा बुधबार सिर्जना बाचन तथा कथाकार बान्तवाको कथा संग्रहको परिचर्चा भएको हो ।

कथा संग्रहका बिषयमा अमृका ताम्राकार, बिष्णु कुमार राई, गणेश कुमार श्रेष्ठ र सुरेन्द्र कार्कीले परिचर्चा गरेका प्रतिष्ठानका अध्यक्ष सुवास बिवस श्रेष्ठले बताए । कार्यक्रममा परचर्चाकार अमृका ताम्राकारले बान्तवाको कथामा गाउँकै परिवेश समेटिएकाले मौलिकता झल्किएको टिप्पणी गरे । यस्तै बिष्णु कुमार राईले कथाकार बान्तावाको कथा सग्रहमा सामाजिक बिकृति र बिसंगतीका बिषय समेटिएको उल्लेख गरे ।

परिवेश, चरित्र र चित्रण सहित सही बिषय बस्तु भएको कथा संग्रहले भोजपुरमा अर्को श्रष्टाको उदय भएको राईको भनाई छ । परिचर्चा कार्यक्रममा गणेश कुमार श्रेष्ठले पनि आफनो माटो, भाषा र संस्कृति, यथार्थपरक बिषय कथामा समेटिएको बताए ।

कार्यक्रमका जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ, उपप्रमुख अनिशा खडका, भोजपुरका अग्रज कवि तथा साहित्यकार शेरबहादुर मोत्तान (मोक्तान भाई) लगायतको सहभागिता रहेको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले जानकारी दिए ।

भोजपुरको हतुवागढी गाउँपालिकामा जन्मिएका कथाकार बान्तवाको कथा संग्रहमा सशस्त्र द्वन्द्वकालिन अवस्था देखि हतुवागढी क्षेत्र र कोरियाको परिवेशमा आधारित भएर लेखिएका १० वटा कथाहरु समेटिएका छन् । कथाकार बान्तावा अहिले बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहनु भएको उहाको पारिवारिक श्रोतले जनाएको छ ।