बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
नगरपालिकाको सभाहलमा बिहीबार कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभुत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मी नारायण प्राविका शिक्षक जनक बहादुर थापालाई सम्मान गरिएको हो ।
सम्मानित हुनै तिनै जनालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य यामुना आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान पत्रसहित जनहि ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
उत्कृष्ट शिक्षककारुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना, आधारभुत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षक मध्येबाट उत्कृष्ट ३ जना छनोट गरिएको हो । यसको छनोट मुल्याङ्कन समितिमा उमानाथ ओली, युवराज पाण्डे र इन्द्र मुखिया रहेका थिए ।
यस्तै २०७६ साल भदौ २३ गते यता सेवा निवृत भएका २२ जना शिक्षकलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने सेवा निवृत शिक्षक तथा कर्मचारीहरुमा पञ्चतत्न माध्यमिक विद्यालयका उमानाथ प्याकुरेल, ज्ञानुनाथ मैनाली, डम्बर देउजा, रङ्गलाल बराई, महेन्द्रज्योती माध्यमिक विद्यालयका ऐतबहादुर तुम्रोक लिम्बु, देवकोटा आधारभुत विद्यालयका मुकुन्द रेग्मी र शान्ता उप्रेती रहेका छन् ।
यसैगरी शुक्रराज आधारभुत विद्यालयका सोना घिमिरे, लेखराज काफ्ले, महेन्द्ररत्न माध्यमिक विद्यालयका चन्द्रशेखर पौडेल, पद्यमादेवी उप्रेती, भक्तिदेवी खपाङ्गी, दुर्गा माध्यमिक विद्यालयका रामप्रसाद अधिकारी,दुर्गाप्रसाद सुवेदी, खिलप्रसाद शिवाकोटी, वीर अमरसिंहका पदमबहादुर विष्ट, देवी माध्यमिक विद्यालयका गीता अधिकारी, मोहनमाया माध्यमिक विद्यालयका गजेन्द्रप्रसाद न्यौपाने, भवानी प्रसाद राजवंशी, लक्ष्मी आधारभुत विद्यालयका खगेन्द्रप्रसाद पकुवाल, गोपाल खनाल र शहीद लक्ष्मी आधारभुत विद्यालयका तुलसीराम गौतम रहेका छन् ।
कार्यक्रममा कक्षा १ र २ को आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको पनि विमोचन गरिएको छ । पुस्तकको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विमोचन गरेका छन् । बिर्तामोड नगरपालिकाले यस अघि कक्षा ३ देखि ८ सम्म अनिवार्यरुपमा आचरण सचेतना शिक्षा लागु गरेको छ । कार्यक्रममा शिक्षक संगठन तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।