बिर्तामोड । साहित्य चौतारी झापाले २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका प्रशिक्षक बिराटनगर निवासी कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान गर्ने भएको छ । साहित्य चौतारीले वार्षिकोत्सवलाई संगीत बर्षको रुपमा मनाउने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।


साहित्य चौतारी झापाले आज विविध कार्यक्रम गरी २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती मनाउने भएको हो । साहित्य चौतारी झापाले यस वर्ष संगीत वर्षको रुपमा मनाउने संस्थापक–संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।


नौमती बाजासहित साहित्यकारहरुको र्यालीले बिर्तामोड नगर परिक्रमा गरिने उनले बताए । उनले साहित्य चौतारीले २०८१ सालमा रजत महोत्सव मनाउने, झापा गोल्डकप अन्तर्गत ५ लाखको अक्षयकोष राखेर त्यसको व्याजबाट खेलाडीलाई खेलकुद पुरस्कार दिइने, मासिक काव्यसभालाई निरन्तरता दिनेलगायतका योजना जानकारी गराएका थिए ।


साहित्य चौतारीको सभाहलमा लोक तथा लोकदोहोरी गायक इलामे श्रष्टा देवीप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गायन, नृत्य, कविता वाचनलगायतका साहित्यिक तथा साँगितिक प्रस्तुति रहने उनले बताए ।