कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढेसँंगै शनिबार साँझ सुनसरीको रामधुनी बस्ने ५७ वर्षीया एक महिलाको मृत्यु भएको छ । कोरोनाविरुद्धको दुवै खोपको डोजसमेत लगाइसकेकी महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । कोरोनाको भाइरस उत्परिवर्तन भएर डेल्टा हुँदासम्म धेरैको ज्यान गएको थियो । त्यसपछि कोरोनाकै ओमिक्रोन उत्परिवर्तन तीव्र सङ्क्रमण गराए पनि ज्यान भने फाटफुटमात्र गएको समाचार आइरहेका थिए । यो बिए.४ र बिए.५ पछि सवभेरियन्ट बिए. २.७५ भारत र नेपालमा फैलिएको पुष्टि भइसकेको छ । कोरोनाका अन्य भेरियन्टका तुलनामा ओमिक्रोन भेरियन्टको यो बिए.२.७५ सवभेरियन्टले बिजुली गतिमा सङ्क्रमण फैलाउन सक्ने क्षमताको रहेको जनस्वास्थ्यविद्हरूले बताउँदै आएका छन् । कोरोना महामारीले विश्वलाई त्रसित बनाएको छ ।

रोकथाम र नियन्त्रणका लागि विश्व स्वास्थ्य सङगठन (डब्ल्युुएचओ) को आह्वानमा कोरोना विरुद्धको खोपखहरू बनाइए । ती खोपहरू अधिकांशले लगाए, अझै लगाउने क्रम जारी छ । बुस्टर डोज पनि लगाइरहेका छन् । महामारी सुरु भएयता कोरोनाले लाखौं मानिसको ज्यान लिएको छ । केही महिनासम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचार सुन्नमा आएको थिएन । सङ्क्रमित पनि फाटफुटमात्र भएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले दिने गरेको थियो । तर, पछिल्लो समयमा एकसातामा १२ गुणाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । आइतबारसम्ममा कोरोना सङ्क्रमणबाट नेपालमा ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १ सय ३५ जनामा सङ्क्रमण देखिएको हो । जसमध्ये १ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जनामा र १ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या नेपालमा १ हजार ४ सय ३९ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५९ जनामात्र सङ्क्रमणमुक्त भएका छन् । कोरोना महामारीलाई हल्कारूपमा लिने, सामाजिक मापदण्ड कायम नगर्ने, सङ्क्रमितले होम क्वारेन्टिनमा नबसेर खुल्लम खुल्ला बाहिर हिँड्ने, मास्क र सेनिटाइजर प्रयोग नगर्नेहरूका कारण सङ्क्रमण बढेको हो । कतिपयले कोरोना महामारीलाई पत्याएका छैनन् । कोरोना विरुद्धको खोपप्रति पनि विश्वास गर्न सकेका छैनन् ।

जनस्वास्थ्यविद्, चिकित्कहरूले सतर्क रहन, सुरक्षित रहन र सचेत रहन बारम्बार सुझाव र सल्लाह दिँदादिँदै पनि गम्भीर रूपमा लिन नमान्ने मानिसहरूका कारण कोरोना महामारी निमिट्यान्न हुनुुको सट्टा एकपछि अर्को गर्दै उत्परिवर्तन भएर नयाँ–नयाँ भेरियन्टमा देखिन थालेको छ । कोरोना सङ्क्रमण बढ्दै गए पनि रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरूले खासै पहल गरेको देखिन्न । झन् धरान उपमहानरपालकाले त अहिलेसम्म कुनै थप योजनासमेत बनाएको छैन । ‘जुन दिन पानी पर्छ, त्यो दिन घुम बुनिन्छ’ भन्ने उखान जस्तै भएको छ धरान उपमहानरपालिकाको कोरोना नियन्त्रण गर्ने नीति र शैली । यसअघिका कोरोना महामारीका लहरले गरेको मानवीय क्षतिहरूबाट पाठ सिकेर यतिबेला पूर्व तयारीमा जुटिसक्नु पर्नेमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र वडासदस्यहरू अरू नै काममा केन्द्रित देखिएका छन् । कम्तिमा कोरोना सङ्क्रमण हुनबाट बच्न र अरूलाई बचाउनका लागि स्थानीय तहले सचेत, सजग गराउँदै पूर्व तयारीमा जुट्न ढिला गर्नु हँुदैन ।