धरानको प्रतिष्ठित व्यापरिक संस्था वराह ग्रुप पछिल्लो समय अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । धरानको पहिचानमा जोडिएको वराहविरुद्ध अहिले सयौं मान्छेहरू घेराउ, धर्नाका लागि पुग्ने गरेका छन् । कुनै बेला शान शौकतका साथ चलिरहेको वराहमा यो स्थिति कसरी आइपुग्यो ? त्यसको समीक्षा हुन सकेको देखिँदैन र वराहका सञ्चालकहरूले पनि नागरिकलाई जानकारी दिन सकेका छैनन् । वराहलाई विश्वास गरेर करोडौं रकम राख्नका लागि पछि नहटेका नागरिकहरू आज उसैविरुद्ध किन उभिएका छन् ? यसबारे सञ्चालकहरू गम्भीर नबनेको हो कि भन्ने प्रतीत भइरहेको छ । वराहको हिजो जुन अवस्था थियो, आज त्यो अवस्थाबाट बिग्रनुमा दोषी पक्कै पनि ऊ नै हो अर्थात् उसका सञ्चालकहरू नै हुन् । कर्मचारी रातारात मोटाउँदै जाने र कम्पनी दुब्लाउँदै जाने स्थिति कहाँबाट सिर्जना भयो ? यसको जवाफ पनि खोजिरहेका छन् धरानेले । वराहलाई विश्वास गरेर जसले लगानी गरेका छन्, उनीहरू पनि वराहका सञ्चालकहरूको व्यवहारप्रति सन्तुष्ट बन्न सकेको देखिँदैन । अहिले दैनिक सयौँको सङ्ख्यामा बचतकर्ता तथा लगानीकर्ताहरू आन्दोलित हुने अवस्थाप्रति नै आम धरानेको प्रश्न छ ।

वराह धरानको प्रतिष्ठित व्यापारिक संस्था बनिरहँदा अब थप प्रतिष्ठित बन्नका लागि के गर्न सकिन्छ भनेर मन्थन नगरिएको बुझ्न अप्ठ्यारो पर्दैन । वराहका सञ्चालकहरूको कार्यशैली, उनीहरूको ‘हाइफाइ’, लवाइ, खवाइ, शैलीप्रति पक्कै जति धराने नागरिक सचेत थिए, ग्रुपका अध्यक्ष भएको पाइएन । जसको परिणाम आज देखिएको छ । आज वराहका जति पनि सम्पत्ति छन् । ती सबै बैङ्कमा छन् । बैङ्कमा भएका सम्पत्तिहरू वराहले आफ्नो भनेर दाबी त गर्ला तर, त्यसलाई उकास्नका लागि ऊसँग पुँजी हुन आवश्यक छ । वराह आजको अवस्थामा आउनमा क–कसको भूमिका रह्यो । त्यसको गम्भीर समीक्षा कहिल्यै भए जस्तो धरानेलाई लाग्दैन । यस्तो अवस्था आउनु अघि आफ्ना लगानीकर्ता तथा साहुहरूसँग छलफल भएको देखिँदैन । सहकारीको नियमभन्दा बाहिर गएर पुँजी सङ्कलन गर्नु नै उसको गम्भीर त्रुटि थियो । अर्थशास्त्रको सामान्य नियमलाई आधार मान्ने हो भने जतिमा पुँजी सङ्कलन गरिन्छ, त्योभन्दा बढीमा लगानी गर्नुपर्ने हुन्छ । लगानी र निक्षेपको तालमेल नमिल्दाको समस्या नै आजको अवस्थामा आउने एउटा कडी हो । आज वराहका सञ्चालकले त्यसलाई स्वीकार गरुन् या नगरुन्, एउटा सत्य चाहिँ यही नै हो । त्यसबाहेक पनि अन्य कारणहरू थुप्रै छन् ।

वराह डुब्नुमा गोर्खाले निर्माण गरेको भवनका कारणले हो भन्नेहरू धेरै छन् । तर, कारण त्यो मात्रै होइन, त्यो त देखाइएको कारण मात्रै हो । नदेखिएका कारणहरू थुप्रै छन् । त्यसबारे धरानवासी लगभग जानकार नै छन् । वराहले आफ्ना लगानीकर्तालाई सुरुमै बुझाउन सक्नु पथ्र्यो । त्यो सञ्चालकहरूबाट भएको पाइएन । जतिखेर बिग्रिसकेको थियो, त्यो बेला बुझाउन खोज्दा पनि बुझ्न लगानीकर्ता तयार भएनन् । आफ्नै पैसा नपाउने अवस्थामा पुगेपछि बाध्य भएर आजको स्थिति सिर्जना भएको हो । ढिलोचाँडो लगानीकर्ताको पैसा तिर्नुपर्छ भन्ने ज्ञान सञ्चालकहरूमा होला । किनकि कम्पनीमा रहेको वराहले लगानीकर्ताको ऋण नतिरी सुखै छैन । प्रक्रियाबाट पनि तिर्नुपर्ने नै हुन्छ । सहकारीलाई सहकारी ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अगाडि बढ्छ भने कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत् कारबाही अगाडि बढ्छ । त्यसकारण सञ्चालकहरू भागेर पनि समस्या समाधान हुने देखिँदैन । व्यापारिक संस्थानबाट हुने सानो गल्तीका कारण विगतमा थुप्रै संस्थानहरू सकिएका उदाहरणहरू छन् । त्यस्ता उदाहरणहरूलाई वराहका सञ्चालकले भुल्नु हुँदैन । समस्यालाई समाधान गर्नेतर्फ लाग्नु नै अहिलेका लागि श्रेयष्कर हुन्छ ।